+
+

गौरीशंकर आसपास गाउँमा पुग्‍यो बिजुली, च्छोरोल्पा जाने पर्यटकलाई सहज

रासस रासस
२०७९ जेठ २५ गते १६:१४

२५ जेठ, दोलखा । दोलखाको विकट उत्तरी क्षेत्र गौरीशंकर हिमालको काखैमा रहेको गौरीशंकर गाउँपालिका–९ को विभिन्न गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएको छ ।

गौरीशंकर-९ को पर्यटकीय विभिन्न गाउँहरुमा सोलार बत्ती जडान गरिएका थिए । गौरीशंकर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा गौरीशंकरको च्छोरोल्पा हिमतालको बेस क्याम्प सुर्मुचे, क्याल्चे, डोङाङ्ग र बेदिङ्ग लगायतको क्षेत्रहरुमा विद्युतलाई विस्तार गरिएको हो ।

स्थानीयवासीले विद्युत् सेवाका लागि संरचना निर्माणमा समेत आवश्यक सहयोगसमेत गरेपछि गाउँमा बिजुली बत्ती आएको स्थानीय शिक्षक बोलेन्द्र आचार्यले जानकारी दिए ।

जिल्लाकै उत्तरी क्षेत्र र हिमाली उच्च क्षेत्र भएका कारण तथा यातायातको सुविधा नभएपश्चात् प्रसारण लाइन जडानका लागि निकै चुनौती रहेको र लामो समयदेखि निरन्तर कार्य जारी रहेपश्चात् गाउँमा बिजुली पुगेको जनाइएको छ । अहिले सो क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् ।

गौरीशंकर–९ स्थित सुर्मुचे, क्याल्चे, डोङाङ्ग र बेदिङ्ग लगायतका बस्तीहरुमा राष्ट्रिय केन्द्रीय प्रसारण लाइनको बिजुली बल्न सुरु भएपछि च्छोरोल्पा जाने पर्यटकहरुका लागि सबैभन्दा बढी सहज भएको छ ।

एक हप्तासम्मको यात्रामा च्छोरोल्पा जाने पर्यटकलाई मोबाइल, टर्च र क्यामेराको ब्याट्री लगायतका विद्युतीय उपकरणहरु चार्जका लागि बिजुली चाहिने भए तापनि विद्युत् नहुँदा समस्या हुँदै आएकोमा अब उक्त समस्याको समाधान भएको छ ।

वर्षमा हजारौं पर्याटकहरु पैदल मार्ग हुँदै हप्तादिनको यात्रामा च्छोरोल्पा जाने गर्दछन् । बाटोमा खाना बस्नको राम्रो व्यवस्थापन र पैदल मार्गका लागि च्छोतदेखि हिमतालसम्मै पुग्ने बाटो राम्रो तरिकाले निर्माण गरेपछि पर्यटकहरु थप वृद्धि भएको स्थानीयवासी छिरिङ शेर्पाले बताए ।

बाटोमा बस्दै रमाइलो गर्दै जाने पर्यटकहरुका लागि विद्युत् सेवा विस्तार भएपछि थप सहयोग पुग्ने स्थानीयवासीको अपेक्षा रहेको छ । च्छोरोल्पा हिमतालमा पैदल यात्रामार्फत जान नसक्ने कतिपय पर्यटकहरु हेलीमार्फत पनि उक्त क्षेत्रमा भ्रमणमा जाने गरेको पाइन्छ ।

गैरिशंकर संरक्षण क्षेत्रभित्र पर्ने यस हिमतालमा जाने पर्यटकहरुलाई सहज गराउनका लागि संरक्षण क्षेत्रले समेत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । गौरीशंकर गाउँपालिका–९ का ठाङ्दिङ, उतिसे र केताङ्गमा अझै विद्युतीकरणको कार्य बाँकी रहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?