+
+

बन्चरेडाँडा जान सकेनन् फोहोर बोकेका गाडी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते ११:१३

२६ जेठ, काठमाडौं । काठमाडौंको फोहोर बिहीबार विहान बञ्चरेडाँडा ल्याण्डफिल साइट गएका छैनन् । सुरक्षाको प्रत्याभूति नभएपछि फोहोरका गाडी पठाउने/नपठाउनेबारे अन्योल भएको छ ।
प्रहरीहरु नै घाइते हुने गरी झडप भएपछि बुधबार गएका गाडी फोहोर नखसाली काठमाडौैं आएका थिए ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटा गाडी नै तोडफोड भएकाले सुरक्षाको थप व्यवस्था गरेर मात्रै पठाउन छलफल भइरहेको बताउँछन् ।’सुरक्षा व्यवस्था मजबुत बनाएर गाडी पठाउन छलफल भइरहेको छ,’ उनले भने ।

हिजोको झडपमा चारजना प्रहरी र केही स्थानीयवासी पनि घाइते भएका थिए ।

प्रहरीले पनि सुरक्षा दिन नसकेपछि फोहोर बोकेका सवारीलाई काठमाडौं नै फर्काइएको श्रेष्ठले थियो । फोहोर फाल्न नपाएपछि काठमाडौंमा फोहोर उठ्न बन्द भएको छ ।

शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो । तर स्थानीयले फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै अवरोध गरेका थिए ।

सहमतिमा धुनिबेसी नगरपालिकाको १, ३ र ४ तथा ककनीको १,२ र ३ नम्बर वडाका स्थायी बासिन्दाको स्वास्थ्य बीमा बोर्डबाट दोहोरो नपर्ने गरी स्वास्थ्य बीमा गर्न एक हप्ताभित्रै काम सुरु गर्ने, यस क्षेत्रमा विगतबाट उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने, १० दिनभित्र ल्यान्डफिल साइटको दुर्गन्ध हटाउने गरी रसायन छर्ने प्रतिवद्धता काठमाडौं महानगरपालिकाले गरेको थियो ।

असार मसान्तपछि स्रोतमै फोहोर छुट्याएर मात्रै ल्यान्डफिल साइटमा लैजाने प्रतिवद्धता महानगरपालिकाले गरेको थियो । त्यतिन्जेलसम्म महानगरमा हाल थुपि्रएका फोहोर लगेर फालेपछि माटोले उचित तरिकाले पुर्ने प्रतिवद्धता पनि महानगरपालिको जनाएको थियो । साउन १ देखि फोहोर श्रोतमै वर्गीकरण गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता पनि महानगरले गरेको छ । वातावरणीय प्रभाव मूल्यांकनका आधारमा ६ महिनाभित्र सिसडोलको डम्पिङसाइटमा पोस्ट क्लोजर प्रक्रिया सुरु गर्न पनि महानगरपालिका सहमत भएको थियो ।

तर यो सहमतिमा स्थानीय वासिन्दाले चित्त बुझाएनन् । स्थानीयवासीका अनुसार केही जनप्रतिनिधिहरुलाई लोभ र त्रास देखाएर हस्ताक्षर गराएको र संघर्ष समितिलाई बेवास्ता गरेकाले अवरोध गरिएको हो । यो सहमति हुँदा बञ्चरेडाँडा क्षेत्रका वासिन्दा र संघर्ष समितिलाई सहभागी गराइएको थिएन ।

स्थानीय संघर्ष समितिलाई अवहेलना गरिएकाले अवरोधमा उत्रिएको समितिका सदस्य श्रीहरि ढकाल बताउँछन् । बिहीबार पनि आफूहरुको अवरोध निरन्तर रहहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?