+
+

काठमाडौं महानगरसँग होटल व्यवसायीले मागे कर छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १३:०१

२ असार, काठमाडौं । होटल व्यवसायीले काठमाडौं महानगरपालिकासँग कर छुटको माग गरेका छन् । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि होटेल संघ नेपाल (हान) ले मेयर बालेन साह समक्ष ज्ञापन पत्र बुझाउँदै व्यवसायीले यस्तो माग गरेका हुन् । उनीहरुले पत्रमा कोभिड–१९ का कारण अति प्रभावित भई थिलथिलो अवस्थामा रहेको पर्यटन तथा होटल उद्योग पुरानै लयमा फर्कन अझै केही समय लाग्ने उल्लेख गरेको छ ।

आर्थिक गतिविधि चलायमान बनाउने, बढी रोजगारी उपलब्ध गराउने तथा विदेशी मुद्रा आर्जन गरी मुलुकलाई टेवा पुर्‍याउने होटल उद्योगलाई बचाई राख्न राज्यको पनि दायित्व रहेको समेत व्यवसायीले स्मरण गराएका छन् ।

घर जग्गा कर ऐन २०१९ को दफा १२ बमोजिम होटलको ग्राहक बस्ने, खाने खास घर जग्गा, सवारी साधनको पार्किड स्थान र बागबगैंचामा घरजग्गा कर नलाग्ने व्यवस्था रहेकोमा एकीकृत सम्पत्ति कर २०७४ मा होटलहरुले ओगटेको सबै संरचनामा सम्पत्ति कर लगाएको व्यवसायीको भनाइ छ ।

हानबाट पटक-पटक काठमाडौं महानगरपालिकालाई अनुरोध गरी आर्थिक वर्ष २०७५/०७६ मा ६५ प्रतिशत, आ.व. २०७६/०७७ मा ७५ प्रतिशत, २०७७/०७८ मा ७५ प्रतिशत र २०७८/०८९ का लागि ८० प्रतिशत छुट उपलब्ध गराएको र उक्त छुटमध्ये समय सीमा भित्र कर बुझाएमा अर्को १० प्रतिशत अतिरिक्त छुट उपलब्ध गराएको स्मरण समेत व्यवसायीले गराएका छन् ।

सोही सिलसिलामा २०७५/०७६ मा उपलब्ध ६५ प्रतिशत छुट रकम काठमाडौं महानगरपालिका र होटल संघ नेपालको सहकार्यमा आयोजना हुने गरी पर्यटन प्रवर्द्धनका लागि संयुक्त कोष स्थापना भएको जानकारी गराउँदै उक्त संयुक्त कोषबाट काठमाडौं महानगरपालिकालाई पर्यटनको केन्द्र बनाउन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा मुलुकको साख उच्च राख्न विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम तय गरिएको समेत पत्रमा उल्लेख छ । यस कोषबाट संघले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि पनि कार्यक्रम अगाडि बढाइरहेको जानकारी गराउँदै यस कामा होटल संघ नेपाल काठमाडौंं महानगरपालिकासँग सहकार्य गरी अगाडि बढ्ने संकल्प समेत गरेको छ ।

फोहोरमैला व्यवस्थापनको मूख्य समस्या प्लास्टिकजन्य वस्तु भएको र यसलाई न्यूनीकरण गर्ने उद्देश्यले होटल संघ नेपालले होटलहरुको कोठामा प्लास्टिकजन्य वस्तुहरु प्रयोग नगर्न र यसको विकल्पसहितको कार्यक्रम गरेको स्मरण समेत हानले गराएको छ ।

हानले विगतका वर्षमहरुमा झैं यस वर्ष पनि होटलहरुमा लगाइँदै आएको एकीकृत सम्पत्ति करमा यस वर्ष ९० प्रतिशत छुट दिन माग गरेको हो । काठमाडौं महानगरपालिकाबाट लगाइने व्यवसाय करमा समेत शतप्रतिशत छुटको माग हानले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?