+
+

साउनदेखि थप ८ नाकाबाट तरकारी र फलफूलमा विषादी परीक्षण हुने

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ असार ३ गते १९:५६
फाइल तस्वीर

३ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि नेपालका सबै अन्तर्राष्ट्रिय नाकाबाट तरकारी तथा फलफूलमा विषादी अवशेष जाँच गर्ने भएको छ ।

हाल ७ वटा नाकामा सीमित रहेको यस्तो परीक्षण साउनदेखि थप ८ ठाउँका नाकामा कार्यान्वयन गर्ने गरी अन्तिम तयारी भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

विषादी अवशेष परीक्षण हुने थप नाकाका लागि आवश्यक पर्ने मेशिन र किट खरिद प्रक्रिया सकेर नेपाल भित्रिने क्रम सुरु भइसकेको विभागका प्रवक्ता मोहनकृष्ण मर्हजनले बताए ।

अहिले काँकडभिटा, विराटनगर, जलेश्वर, वीरगञ्ज, नेपालगञ्ज, भैरहवा र धनगढी नाकाबाट भित्रिने तरकारी तथा फलफूलमा विषादी अवशेष भन्सार नाकामै जाँच हुन्छ ।

साउनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय, तातोपानी भन्सार, रसुवागढी, कृष्णनगर र गड्गाचौकी, चोभार सुख्खा बन्दरगाह, सुख्खा बन्दरगाह सिर्सियमा पनि विषादी परीक्षण सुरु हुनेछ । यस्तै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलमा पनि उपकरणसहितको जनशक्ति उपलब्ध गराउने विभागले जनाएको छ ।

‘असार भित्रै खरिद प्रक्रियाअनुसार सबै सामान आइपुग्छ, केही आइसकेका छन् । आगामी आर्थिक वर्षको सुरुबाटै थप अन्तर्राष्ट्रिय नाकामा विषादी परीक्षण सुरु हुन्छ,’ प्रवक्ता मर्हजनले भने, ‘आरबीपीआर विधिमार्फत अर्गानो फोस्फेट र कार्बामेट समूहको विषादी परीक्षण गर्छौं ।’ विषादी परीक्षणका लागि खरिद गरिएको ताइवानको टेक्नोलोजी र किट असारसम्मै सम्बन्धित नाकामा पुग्ने प्रवक्ता मर्हजनको दावी छ ।

तरकारी र फलफूलको स्क्रीनिङ गर्ने मेशिनले विषादीको परिमाणात्मक विषादी मात्रा परीक्षण गर्ने विभागले जनाएको छ । जसमा आरबीपीआर परीक्षणमार्फत विषादीको मात्राअनुसार तत्काल खानयोग्य, केही समय होल्ड गरेर खान योग्य र खान अयोग्य भनेर छुट्याउने छ ।

विदेशबाट आयात हुने तरकारीमा अनिवार्य विषादी परीक्षण गर्ने भन्दै सरकारले २०७६ असारमा राजपत्रमा प्रकाशित भएको थियो । सीमामा विषादी परीक्षण गर्ने नीतिविरुद्ध भारतले आपत्ति जनाएपछि केही समय स्थगित भएको उक्त निर्णय सर्वोच्चको अन्तरिम आदेशपछि कार्यान्वयनमा गएको थियो । त्यसको पछिल्लो वर्ष पूर्वाधार बनाउन भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई सरकारले बजेट बिनियोजन गरेको थियो ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?