+
+

महंगी नियन्त्रण सरकारको हातमा छैनः प्रवक्ता कार्की

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १७:२९

७ असार, पोखरा । सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महंगी नियन्त्रण सरकारको मात्रै हात नरहेको बताएका छन् । पेट्रोलियम पदार्थको भाउ बढेसँगै बजारमा महंगी बढेको र त्यसको मूल्य निर्धारण सरकारको नियन्त्रणमा नरहेको उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघ कास्कीले मंगलबार पोखरामा आयोजना गरेको दयाशंकर पालिखे पत्रकारिता पुरस्कार अर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले पेट्रोलियम पदार्थको खपत कम गरेर विद्युतीय ऊर्जा प्रयोगमा ध्यान दिनुपर्ने बताए ।

‘महंगी केवल हाम्रो मात्रै हातमा छैन । अहिले पेट्रोलको भाउ वृद्धि भएको छ । कसरी यसको मूल्य निर्धारण हुँदो रहेछ, तपाईंहरुलाई थाहै छ,’ मन्त्री कार्कीले भने, ‘तर, पेट्रोललाई विस्थापित गर्ने साँचो हाम्रै खल्तीमा छ । त्यो साँचो चलाउनुपर्‍यो ।’

मन्त्री कार्कीले अगाडि भने, ‘जुन किसिमले ऊर्जाको क्षेत्रमा देशमा विकास भइरहेको छ । अबको २ वर्षपछि हामी ऊर्जामा आत्मनिर्भरमात्रै होइन, खपत बढाउन वा भारतमा निर्यात गर्न सकेनौं भने करोडौंमा होइन, अर्बौंमा हामीले उत्पादन गरेको ऊर्जा खेर जानेछ । त्यसैले अब हाम्रा चुल्होहरु ग्यासलाई विस्थापित गरेर उर्जालाई हाम्रो चुल्होमा भित्र्याउनुपर्छ ।’

मन्त्री कार्कीले अब नेपालीहरुले आफूहरु द्वन्द्वपीडित मुलुकका नागरिक भनिरहन पनि आवश्यक नरहेको बताएका छन् । उनले द्वन्द्वपीडितको गीत गाइरहनुभन्दा त्यसलाई सदाका लागि समाप्त गर्न आग्रह गरे ।

‘अब हामीले हामी द्वन्द्वपीडित मुलुकका नागरिक हौं भनेर अन्तर्राष्ट्रिय मञ्चमा भाषण गर्ने होइन । शान्तिप्रक्रिया पूरा गर्न अझै लाग्दैछौं भन्ने होइन,’ उनले भने, ‘यही गीत गाइरहने हो कि अब द्वन्द्वलाई सदाका निमित्त समाप्त गर्ने ?’

मन्त्री कार्कीले सरकारले प्रेस स्वतन्त्रतालाई अझै समृद्ध बनाउन चाहेको बताए । कुनै पनि पत्रकारलाई विचार व्यक्त गरेकै आधारमा दण्डित नगर्ने भन्दै उनले भने, ‘दक्षिण एसियामै नेपाललाई प्रेस स्वतन्त्रताको नमुना बनाउन कानुनी, संरचनागत व्यवस्थाहरु गर्न सरकार सधैं तयार छ ।’

पत्रकार बबिता बस्नेत पुरस्कृत

प्रजातन्त्र सेनानी दयाशंकर पालिखेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पत्रकार बबिता बस्नेत पुरस्कृत भएकी छन् । उक्त पुरस्कारको राशी १ लाख १ हजार १११ रुपैयाँ छ । उक्त पुरस्कार प्राप्त गर्ने उनी २२ औं पत्रकार हुन् ।

बस्नेतलाई सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वर्गीय दयाशंकरका छोरा विश्वशंकर पालिखेलगायतले पुरस्कार प्रदान गरेका हुन् । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्दै आइरहेको उक्त पुरस्कारको राशी गत वर्षसम्म ५५ हजार ५५५ रुपैयाँ थियो । तर, यसपटकदेखि बढाइएको पुरस्कार छनोट समितिका संयोजक रवीन्द्र बास्तोलाले जानकारी दिए ।

पुरस्कार ग्रहणपछि पत्रकार बस्नेतले पत्रकारिता र प्रजातन्त्रको अन्योन्याश्रित सम्बन्ध रहेको बताइन् । उनले भनिन्, ‘प्रजातन्त्रलाई प्रजातन्त्रकै रुपमा बचाइराख्न पनि मिडियाको आवश्यकता छ ।’

पुरस्कार दाता विश्वशंकर पालिखेले पुरस्कारबाट आफूले बाबुको सम्मान गर्न र सम्झिरहन मौका पाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?