+
+

प्राधिकरणका हाकिम र हवाई कम्पनीका मालिकबीच जुँगाको लडाइँ : मारमा यात्रु

अच्युत पुरी अच्युत पुरी
२०७९ असार ७ गते १९:३६
प्रदीप अधिकारी र रामेश्वर थापा

७ असार, काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै प्रकारका उडान (उद्धार र आपतकालीनसमेत) रोक्ने घोषणा गरेको छ ।

संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल नागरिक उड्डयन प्राधिकरणले दमनकारी नीति लिएको भन्दै विरोध गर्नु बाध्यता भएको बताए । ‘हामी ३९/४० अर्बको पोर्टफोलियो भएका वायुसेवा कम्पनी हौं, राज्यलाई करोडौं कर तिर्छौं, तर प्राधिकरणले दमनकारी नीति ल्यायो, हामीलाई ट्रक व्यवसायी जस्तै व्यवहार गर्‍यो,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि मंगलबार नै पत्रकार सम्मेलन गरी वायु सेवा कम्पनीलाई हड्तालमा नजान चेतावनी दियो । महानिर्देशक प्रदीप अधिकारीले भने, ‘यो सेवा हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने नभुल्नू, विमानस्थलमा ठाउँ साँघुरो भयो, एउटा जहाज उडाउने कम्पनीले दुई वटा बस गुडाउँछ, एयरपोर्ट टेम्पो पार्किङ हो र ?’

वायुसेवा कम्पनी सञ्चालक र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीबीचको यस्तै जुहारीले अन्ततः हवाई यात्रु मर्कामा परेका छन् । वायु सेवा कम्पनी सञ्चालकको भनाइले बुधबारदेखि यात्राका लागि टिकट लिएका यात्रु प्रभावित हुने भएका छन् । यसले वैदेशिक रोजगारीमा जानेदेखि उपचारका लागि आपतकालीन अवस्थामा यात्रा गर्नुपर्ने यात्रुसम्म समेत मारमा पर्ने भएका हुन् । तर, दुवै पक्ष एकले अर्काे पक्ष लचक नभएसम्म आफ्नो अडान नछाड्ने भएसँगै बुधबारबाट उडान रोकिने देखिएको छ । यसले दैनिक १५ हजारसम्म यात्रुको यात्रा प्रभावित हुन्छ ।

किन अकस्मात उडान रोकिने अवस्था आयो ?

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान सुरक्षालाई थप सुदृढीकरण र उडान सञ्चालन कार्यलाई थप व्यवस्थित गर्न भन्दै एक सर्कुलर जारी गर्‍यो । सर्कुलरमा उल्लेख भएका ६ बुँदामध्ये ५ र ६ नम्बर बुँदाका कारण वायुसेवा कम्पनी सञ्चालक रिसाएका हुन् ।

५ नंम्बर बुँदामा भनिएको छ, ‘हवाइजहाज सञ्चालक कम्पनीहरुले १३ असारदेखि तोकिएको आधार विमानस्थलमा रात्री बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने ।’

त्यस्तै ६ नम्बर बुँदामा भनिएको छ, ‘हेलिकप्टर कम्पनीले ७ असारदेखि तोकिएको आधार विमानस्थलमा रात्री बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने ।’

हेर्नुहोस सर्कुलर

प्राधिकरणले मंगलबारदेखि नै हेलिकप्टरका लागि यो नियम लागु गर्न खोज्यो । सोही अनुसार काठमाडौंमा बिश्राम गरेका केही कम्पनीका उडान रोकिए । त्यसपछि वायुसेवा कम्पनी सञ्चालक आक्रोशित बने । वायुसेवा सञ्चालक र प्राधिकरणबीच यस विषयमा मंगलबार दिउँसो १२ बजे छलफल गर्ने कार्यक्रम तय भयो ।

तर, प्राधिकरणले नियम लागू हुने अडान लिएपछि प्राधिकरणसँग छलफल नगरी वायुसेवा सञ्चालकहरुले पत्रकार सम्मेलन आयोजना गरे । अध्यक्ष थापाका अनुसार प्राधिकरणले अकस्मात नियम लाद्न खोजेका कारण वायुसेवा कम्पनीहरु अप्रिय निर्णय लिन बाध्य भएका छन् ।

संघको निर्णय अनुसार वायुसेवा कम्पनीले सामाजिक सञ्जालमार्फत बुधबारका उडान नहुने जानकारी गराइरहेका छन् ।

उता, प्राधिकरणका महानिर्देशक अधिकारी भने आफूहरुले नयाँ नियम एक्कासी ल्याएको भन्ने वायुसेवा कम्पनीको आरोपको खण्डन गर्छन् । उनका अनुसार ११ वैशाख २०७९ मा प्राधिकरणको तर्फबाट त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरसहित ७ जना र वायुसेवा कम्पनीका तर्फबाट बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमाल, श्री एयरलाइन्सका प्रबन्ध निर्देशक सुधिर मित्तलसहित ७ वटा कम्पनीका सञ्चालक सम्मिलित कार्यदल गठन गरिएको थियो ।

सो कार्यदलले आन्तरिक वायुसेवा कम्पनीले काठमाडौं केन्द्रित उडान गतिविधिका कारण त्रिभुवन विमानस्थलको आन्तरिक उडानमा होल्ड, डिले, पार्किङको कमी, टर्मिनल भवनमा भिडभाड भएको जस्ता समस्या समाधान गर्न दीर्घकालिन व्यवस्थापनका उपाय खोज्ने र वायुसेवा कम्पनीको बेस स्टेशन उपत्यका बाहिर सार्ने गरी एक महिनाभित्र प्रतिवेदन दिने जिम्मेवारी पाएको थियो ।

सोही कार्यदलले दिएको प्रतिवेदनका आधारमा बेस उपत्यका बाहिर सार्न खोज्दा वायुसेवा कम्पनीबाट विरोध भएको अधिकारीले जानकारी दिए । ‘आज नगरे भोलि त गर्नै पर्छ, त्यो बेला पनि किन यति छिटो गरेको भन्ने प्रश्न आउँछ’, उनी भन्छन्, ‘यो हवाइ सुरक्षा, यात्रुको सुविधा र वायुसेवा कम्पनीको हितकै लागि भएको हो,’ उनले भने ।

नियमित उडानका ३५ जहाज रातमा उपत्यका बाहिर राख्न सिफारिस

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौंस्थित त्रिभुवन विमानस्थलको पार्किङ क्षमता १७ वटा जहाजका लागि हो । तर, अहिले ५२ वटा जहाज पार्किङ गर्ने गरिएको छ । सोही कारण ३५ वटा जहाजलाई उपत्यका बाहिर रात्रीकालीन बिसानमा पठाउन खोजिएको हो ।

वायुसेवा कम्पनीहरुले भने यसका लागि समय मागेका छन् । बिहानी सत्रको पहिलो उडानमा यात्रु नपाइने हो कि भन्ने चिन्ता उनीहरुको छ । यस्तो भएमा भविष्यमा प्राधिकरणले ‘हेर्ने’ महानिर्देशक अधिकारी बताउँछन् ।

‘अहिले सुरु गरौं न, भोलि यात्रु पाइएन भने, प्राधिकरणले तपाईंलाई हेर्छ’, उनले भने । उता, वायुसेवा कम्पनीहरुको चासो भने क्षेत्रिय विमानस्थलहरुमा मर्मत सम्भार तथा चेकजाँच गर्ने सुविधा नरहेको भन्दै अन्य भौतिक सुविधाको समेत अभावमा छ । सोही कारण त्रिभुवन विमानस्थलबाहेक अन्य विमानस्थलमा रात्री बिसान गर्न नसकिने वायुसेवा कम्पनीको अडान छ ।

कुन-कुन हुन् उपत्यका बाहिरका बेस विमानस्थल ?

प्राधिकरणले काठमाडौं बाहिरका चन्द्रगढी, विराटनगर, रामेछाप, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, पोखरा, नेपालगञ्ज, सुर्खेतलाई मानेर ती विमानस्थलमा रात्री बिसान गर्न भनेको छ । यी विमानस्थलमा वायुसेवा कम्पनीका कम्तिमा १/१ वटा जहाज रहने गरी तोकिएको छ ।

ठूला जहाज (एटीआर४२/७२, सीआरजे–२००/७००, बीएचसी–८ क्यू४००)को बाँडफाँड

वायुसेवा कम्पनी जहाजको संख्या काठमाडौं बेस मोफसल
बुद्ध एयर १४
श्री एयरलाइन्स
यती एयरलाइन्स
सौर्य एयरलाइन्स
कुल ३० १० २०

साना जहाज (डीएचसी–६/एलइटी–४१०/जे४१/डीओ–२२८)को बाँडफाँट

कम्पनी जहाजको संख्या काठमाडौं बेस मोफसल
बुद्ध एयर
समिट एयर
तारा एयर
सिता एयर
गुण एयरलाइन्स
नेपाल एयरलाइन्स
कुल २२ १५
लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?