+
+

होटल व्यवसायीको माग : मौद्रिक नीतिमा निर्यातजन्य उद्योगलाई जस्तै सुविधा देऊ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १२:४५

८ असार, काठमाडौं । आगामी मौद्रिक नीतिमा होटल उद्योगलाई निर्यातजन्य उद्योगलाई सरह सुविधा दिन होटल व्यवसायीहरुले माग गरेका छन् । होटल संघ नेपालका कार्यवाहक अध्यक्ष विनायक शाहको नेतृत्वको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद्र अधिकारीलाई भेट्दै यस्तो माग गरेको हो ।

सो अवसरमा शाहले कोभिड–१९ को महामारीबाट पर्यटन क्षेत्र विशेष गरी होटल उद्योग सबैभन्दा बढी प्रभावित भई मुस्किलले सञ्चालनमा रहेको जानकारी गराए । आर्थिक वर्ष २०७९/८० को बजेटले पर्यटन तथा होटल उद्योगलाई प्राथमिकता प्राप्त उद्योगको रुपमा सम्बोधन गर्न नसकेको भन्दै यसलाई मौद्रिक नीतिबाट सम्बोधन गर्न हानले माग गरेको हो ।

होटल तथा पर्यटन उद्योगको वित्तीय अवस्था हालसम्म सहज भइनसकेको भन्दै हानले २०८१ असार मसान्तसम्मको पाक्ने व्याज छुट्टै हिसाब राखी हर्जना र पेनाल व्याज नलाग्ने व्यवस्था गर्न माग गरेको छ । होटलका लागि आवश्यक पर्ने थप कर्जा न्यून व्याजदरमा प्रवाह गरिनु पर्ने तथा कर्जा प्रक्रिया शुल्क सहुलियतपूर्ण गरिनुपर्ने माग समेत व्यवसायीको छ ।

निर्यातजन्य कारोबार गरेर देशमा विदेशी मुद्रा भित्र्याउने कम्पनीहरुलाई नेपाल सरकारले नगद अनुदान दिएर प्रोत्साहन गरिरहेको भन्दै हानले प्रकृति दोहन नगरी वातावरण मैत्री तवरबाट विदेशी मुद्रा आर्जन गरी देशको व्यापार घाटा कम गर्न तथा कृषि, घरेलु, उद्योग, हवाई यातायात लगायतका समग्र अर्थतन्त्रलाई महत्वपूर्ण योगदान पुर्‍याइरहेका पर्यटन तथा होटल उद्योगलाई यस्तो सुविधाबाट बन्चित नगर्न माग गरेको हो ।

हालसम्म पनि पर्यटन उद्योगको आर्थिक अवस्थामा सुधार नआई सकेको हुँदा सहुलियत कर्जाको सिमा २० करोडबाट बढाएर ५० करोड पुर्‍याउन माग गरिएको छ । यसरी प्राप्त गरिनुपर्ने सेवा सुविधाहरु कतिपय होटलहरुले प्राप्त गर्न नसकेको र कार्यान्वयन हुन नसकेको हुँदा सहजीकरण गर्दै कार्यान्वयन भए नभएको अनुगमन कार्यका लागि निजी क्षेत्र सम्मिलित अनुगमन समिति बनाए अगाडि बढ्न समेत हानले सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?