+
+

बेलायतको सहयोगमा निर्मित स्थानीय तहको ‘सूत्र’ एप्लिकेसन नेपाललाई हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १४:३२

९ असार, काठमाडौं । बेलायत सरकारको सहयोगमा तयार पारिएको वित्तीय व्यवस्थापन एप्लिकेसन नेपाललाई हस्तान्तरण गरिएको छ । स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) नाम दिइएको यो प्रणालीलाई बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले महालेखा नियन्त्रक सुमन अर्याललाई हस्तान्तरण गरेकी छिन् ।

सूत्र सफ्टवेयर बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको हो । नेपालका सबै (७५३) स्थानीय तहको बजेट निर्माण र लेखा अभिलेख राख्न यो प्रणाली उपयोग गरिएको छ । यसबाट सबै स्थानीय सरकारको खर्च रियल टाइममा हेर्न सकिन्छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सूत्रले सबै स्थानीय सरकारलाई उनीहरुको सार्वजनिक वित्त व्यवस्थापनमा सहयोग गरेको छ । यसअघि स्थानीय सरकारले कार्यक्रम/योजना बनाउने, गतिविधिका लागि रकम विनियोजन गर्ने, आय–व्ययको अभिलेखा राख्ने, महालेखा नियन्त्रक कार्यालयमा प्रतिवेदन बुझाउने काम एक्सल पानामा हुँदै आएको थियो ।

अब सूत्र मार्फत राजस्व अनुमान, बजेट तयार पार्ने, बजेट स्वीकृत गर्ने, विभिन्न स्रोतबाट प्राप्त कोषको विवरण राख्न, खर्चको लेखा विवरण राख्न र रिर्पोटिङ गर्न सहजै सक्ने छन् ।

एप्लिकेसनमा रहेका कमजोरीहरु क्रमशः सुधार गर्दै लगिने महालेखा नियन्त्रक अर्यालले जानकारी दिए । राजदूत पोलिटले स्थानीय सरकारमा सार्वजनिक वित्तीय व्यवस्थापनमा जवाफदेहिता पारदर्शिता सुनिश्चित गर्न एप्लिकेसन सहयोगी हुने बताइन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय सरकारका प्रतिनिधिहरुको छाता संगठनहरुको राय लिएर महालेखा नियन्त्रक कार्यालय, वित्तीय उत्तरदायित्व सचिवालयमार्फत अर्थ मन्त्रालयले सुत्र प्रणाली बनाएको हो ।

यस प्रणालीबाट समय र बजेट दुवैको बचत हुने समेत महालेखाको भनाइ छ । सूत्र बनाउने काम सन् २०१७ मा सुरु भएको हो । सन् २०१९ मा सबै स्थानीय तहले यसको प्रयोग गर्नुपर्ने गरी मन्त्रीपरिषद्‍बाट निर्णय भएको थियो । बिहीबार नै राजदूत पोलिट र महालेखा नियन्त्रक अर्यालले सूत्रको मोबाइल एप समेत सार्वजनिक गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?