+
+

शतायु टेक्दै चन्द्र नहर

अजयकुमार झा अजयकुमार झा
२०७९ असार १५ गते १९:३४

सप्तरी जिल्लाको ऐतिहासिक चन्द्र नहरमाथि लेखिएको यो एक प्रकारले महत्वाका‌ंक्षी लेख हो । यस लेखको उद्देश्य चन्द्र नहरको इतिहास जान्नु र सय वर्ष पार गर्न लागेको यो नहरको महत्व बुझ्दै चन्द्र नहरको शतवार्षिकी मनाउन सरोकारवालाहरूलाई अभिप्रेरित गर्नु हो । त्यस अर्थमा महत्वाकांक्षी भन्न खोजिएको हो ।

त्रियुगा नदीबाट सप्तरीको पूर्वोत्तर भेगमा निकालिएको चन्द्र नहर सय वर्षको हुन लागेको छ । चन्द्र नहर नेपालको सबैभन्दा पुरानो अर्थात् देशको पहिलो सिँचाइ प्रणाली हो । चन्द्र नहरलाई सुरक्षित र गतिशील बनाइराख्न तथा यसको संरक्षण एवं संवद्र्धनका लागि सरकारी आयोजनाले निरन्तर काम गर्दै आएको छ । राणा प्रधानमन्त्री चन्द्र शमशेरले यो नहरको निर्माण गराएकोले यस नहरको नाम चन्द्र नहर राखिएको हो ।

संसारका सबैभन्दा पुराना दस नहरहरूमा मिश्रको स्वेज नहर दसौं स्थानमा छ, जसको निर्माण वि.सं. १९१५–१९२५ मा भएको थियो । हाम्रो चन्द्र नहर स्वेज नहरभन्दा ६० वर्ष कान्छो छ । चन्द्र शमशेरको शासनको अन्तिम समयमा वि.सं. १९७९ सालमा यो नहरको निर्माण सुरु भएर ६ वर्षभित्र अर्थात् वि.सं. १९८५ सालमा सम्पन्न भएको थियो । यसरी चन्द्र नहर सय वर्षको हुँदा देशमा सिँचाइ प्रणालीको इतिहास पनि सय वर्षको भएको छ ।

व्यक्ति होस् वा कुनै संस्था वा कुनै प्रणाली, सय वर्ष पूरा गर्नु आफैंमा महत्वपूर्ण विषय हो ।सय वर्षको आयु प्राप्त गर्नुलाई अत्यन्तै महत्व दिइन्छ । सतायु प्राप्त गर्ने जो कोही वा जोसुकैले आफ्नो जीवनमा सबैभन्दा ठूलो उपलब्धि प्राप्त गरेको मानिन्छ ।

सतायुको प्राप्ति सहजै हुने होइन, त्यसको लागि जीवनकै सर्वाधिक ठूलो लगानी चाहिन्छ । सतायु आफैंमा एउटा उत्सव हो । सतायु प्राप्त गर्नेको अभिनन्दन गर्ने चलन छ, शतवार्षिकी समारोह आयोजना गर्ने गरिन्छ । यस अर्थमा चन्द्र नहरको पनि शतवार्षिकी मनाउने समय आइसकेको छ ।

चन्द्र नहरको इतिहास, मूल्य, संरक्षण र शतवार्षिकी नै यस लेखको सन्दर्भ हो । चन्द्र नहरको मूल्य यसको उपयोगिता र संरक्षणमा छ । चन्द्र नहरको शतवार्षिकी मनाइँदा चन्द्र नहरको इतिहास र मूल्यमाथि त प्रकाश पर्छ नै साथै यसको संरक्षणलाई पनि मद्दत हुनेछ ।

नहरको अर्थ कृत्रिम जलमार्ग हो । नदी र नहरबीच आमा र छोरीको जस्तो सम्बन्ध हुन्छ । नदी आमा हो भने नहर छोरी । नदीबाटै नहरमा पानी बगेको हुन्छ । यातायात जल, थल र आकाश हो । जल अर्थात् समुन्द्र, नदी, नहर पनि यातायात प्रणालीको अंग रहिआएको छ ।

हुनत नहरको उपयोग खेतीको लागि पानी एक स्थानबाट अर्को स्थानसम्म पुर्‍याउनका लागि हो । नहरले नदीको पानी सिँचाइ हेतु विभिन्न क्षेत्रमा पुर्‍याउँछ । तर जल परिवहनका लागि पनि नहर खन्ने गरिन्थ्यो ।

पृथ्वी जलयुक्त भएको कारणले नै यस ग्रहमा जीवको उत्पत्ति सम्भव भएको हो । पानी नभई नहुने भएको कारणले जलकै वरिपरि जीवन गतिशील भयो र समाजको विकास तथा विस्तार भयो । जीवनको लागि चाहिने पानीको स्रोत नदी वा अन्य प्रकारको जलाशय नै थियो र त्यसै कारणले नदी वा जलाशय सन्निकट समुदायको निर्माण भयो ।

बस्ती एकै ठाउँमा भए पनि उनीहरूको खेतीपाती भने टाढाटाढासम्म हुनु स्वाभाविक थियो । खेती पनि पानीबिना सम्भव थिएन । तसर्थ नदीको पानी टाढासम्म रहेका खेतसम्म पुर्‍याउन जुन पद्धतिको विकास भयो, त्यसैको नाम कुलो, पैनी, नहर पर्‍यो । कुलो, पैनी भनेको खेतबारीमा पानी पटाउन नदी, तलाउ आदिबाट खनेर ल्याइने पानीको माध्यम हो ।

नेपालमा कुलो, पैनी, राजकुलोको ऐतिहासिक महत्व छ । जनसाधारणद्वारा व्यक्तिगत वा सामूहिक रूपमा निर्मित व्यवस्थालाई कुलो, पैनी र सार्वजनिक सम्पत्ति वा राजकोषबाट बनेको कुलोलाई राजकुलो भनिन्थ्यो । राज्यले ऐतिहासिक कालदेखि नै कुलो, पैनीसम्बन्धी कानूनी व्यवस्था गर्दै आएको छ ।

राजकुलो वा कुलो भन्‍नाले नक्सामा भएको र परम्परागत रूपमा चलिरहेको पानी बग्‍ने कुलो सम्झनुपर्छ भनी कानूनी परिभाषा गरिएको पाइन्छ । पूर्वकालमा किसान खेती गर्न राजकुलोमा निर्भर थिए । खेती गर्ने प्रत्येक किसानले पानीमा सहज पहुँच पाउनुपर्छ र प्रत्येक व्यक्तिले आफ्नो खेतमा सिँचाइ गर्न पाउने अधिकार राख्दछ भन्‍ने अवधारणामा कुलोसम्बन्धी कानूनी व्यवस्था भएको हो ।

मुलुकी ऐनमा पनि कुलोसम्बन्धी व्यवस्था थियो । मुलुकी ऐनलाई प्रतिस्थापित गरेको मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद ४ ले जग्गा आवाद गर्न कसैलाई अन्य व्यक्तिको जग्गाबाट कुलो बनाउनुपर्ने भई जग्गा मागेमा सम्बन्धित जग्गाधनीले उपयुक्त ठहर्‍याएको ठाउँबाट त्यस्तो व्यक्तिलाई कुलो बनाउनको लागि जग्गा दिनुपर्ने व्यवस्था गरेको छ ।

यसरी कुलो बनाउन जग्गा दिएवापत कुलो बनाउने व्यक्तिले सट्टा जग्गा, कुलो बनाई प्रयोग भएको जग्गाको प्रचलित मूल्य बमोजिमको रकम वा मनासिब क्षतिपूर्ति सम्बन्धित जग्गाधनीलाई दिनुपर्ने तर सार्वजनिक वा सरकारी जग्गामा कुलो बनाएकोमा कुलोमा परेको जग्गा वापत सट्टा जग्गा, जग्गाको मूल्य वा क्षतिपूर्ति दिनु नपर्ने व्यवस्था छ ।

चन्द्र नहर नेपालको सिंचाइ प्रणालीको इतिहास हो । चन्द्र नहरको मूल्य यसको उपयोगिता र संरक्षणमा छ । यो नहरको शतवार्षिकी मनाइँदा इतिहास र मूल्यको प्रचार त हुन्छ नै यसको संरक्षणलाई पनि मद्दत हुनेछ ।

नेपालजस्तो भौगोलिक विविधता र थोरै पुँजी भएको देशको लागि कुलो पैनीको महत्व कम भएको छैन । त्यसैले आधुनिक कानूनमा पनि कुलौ पैनी सम्बन्धी व्यवस्था रहेको देखिन्छ । कसैले आफ्नो जग्गामा उत्पत्ति भएको वा त्यसबाट बगेको नदी वा खोलाको सम्पूर्ण पानी तल्लो तटवर्ती जग्गाधनीले प्रयोग गर्न नपाउने, त्यस्तो नदी वा खोलामा रहेका जलचर बाँच्न नसक्ने वा पर्यावरणमा प्रतिकूल हुने गरी प्रयोग गर्न नपाउने व्यवस्था छ ।

कसैले पनि पहिले बनाई सञ्चालनमा रहेको कुलोद्वारा सिंचित खेतमा पानी सारभूत रूपमा कम हुने गरी त्यसभन्दा माथि नयाँ कुलो बनाउन नपाउने, कुलो बनाउनको लागि जुन व्यक्तिले श्रम वा खर्च गरेको छ सोही व्यक्तिले जग्गा आवाद गर्नको लागि कुलोको पानीमा पहिलो प्राथमिकता पाउने, परापूर्वदेखि भागबण्डा बमोजिम पानी प्रयोग गर्दै आएको ठाउँमा सबै व्यक्तिहरूले भागबण्डा अनुसार कुलोको पानी उपयोग गर्न पाउने, पानी उपयोग गर्ने व्यक्तिलाई पानी पर्याप्त भएपछि वा निजलाई पानी आवश्यक नपर्ने भएमा जुनसुकै व्यक्तिको कुलो भए पनि अन्य व्यक्तिले जग्गा आवाद गर्नलाई कुलोको पानी उपयोग गर्न पाउने, कुनै व्यक्तिको जग्गा सिंचित भई बढी भएको पानी अर्को व्यक्तिको जग्गामा बगेकोमा सम्बन्धित जग्गाधनीको अनुमति बिना पनि प्रयोग गर्न सकिने, कुनै व्यक्तिको जग्गामा मात्र बनेको कुलो अन्य व्यक्तिले समेत प्रयोग गर्दै आएको भएमा त्यस्तो कुलो भएको जग्गाधनीले कुलो उपभोग गर्ने व्यक्तिको सहमति बिना साबिकको कुलो अन्य ठाउँमा फेरबदल गर्न नपाउने आदि अनेक व्यवस्था गरिएको देखिन्छ ।

नेपाल मनसुनमाथि निर्भर गर्ने देश हो । वर्षाले हाम्रो कृषि उत्पादन र हाम्रो अर्थतन्त्रमा ठूलो प्रभाव पार्दछ । बालीलाई उनीहरूको समय र आवश्यकता अनुसार पानी उपलब्ध गराउनुपर्छ । खेतबालीलाई चाहिएको समयमा पानी उपलब्ध गराउने माध्यम कुलो, पैनी र नहर हो । नहर कुलो पैनीको ठूलो आकार हो । ६ हजार साना–ठूला खोलानाला रहेको नेपालमा नदीबाट नहर र नहरबाट कुलो खनेर खेत–खेतमा पानी पुर्‍याउने सम्भावना धेरै छ ।

नहर निर्माणको प्रचलन दुनियाँभरि छ । मेसोपोटामियामा प्रारम्भिक सभ्यताले जन्म लिएदेखि नै मानिसहरूले नहर निर्माण गर्दै आएका थिए । प्रारम्भिक नहरहरू सिँचाइको लागि प्रयोग गरिए भने पछि यातायात ढुवानीको लागि ठूला नहरहरू निर्माण हुन थाले ।

चीनको ग्रान्ड नहर पहिलो पटक ईसापूर्व छैटौं शताब्दीमा बनाइएको थियो, जसले यसलाई संसारको सबैभन्दा पुरानो नहरको पहिचान दिएको छ । वु राज्यका राजा फुचाइले व्यापारिक प्रयोजनका लागि नहर निर्माण गर्ने आदेश दिएपछि ग्रान्ड नहरको काम ४८६ इसापूर्वमा सुरु भयो, जो आज पनि उपयोगमा छ । सबैभन्दा पुरानो नहर ग्रान्ड नहर विश्वको सबैभन्दा लामो नहर पनि हो । यो १११५ माइल लामो छ ।

प्राचीन कालमा दक्षिण भारतको कावेरी नदीमा बाँध बनाएर नहरहरू निकालिन्थ्यो । आधुनिक युगमा पञ्जाबमा गंगा, सतलज र ब्यास नदीबाट ठूला नहरहरू निर्माण गरिए, जसबाट लाखौं एकड जमिनलाई सिँचाइको सुविधा प्राप्त भयो ।

माथिल्लो र तल्लो गंगा नहर मिलेर बनेको गंगा–यमुनाको दोआबमा हरेक वर्ष करिब ३२ लाख एकड जमिन सिँचाइ हुन्छ । यसका लागि गंगा यमुनाका दोआब आठ हजार माइल लामो सानो र ठूलो नहरहरूको सञ्जालको रूपमा फैलिएको छ, जसले विभिन्न नदी र खोलाहरूबीचको क्षेत्रलाई सिंचित गर्दछ । यो भारतको सबैभन्दा ठूलो भूमि सिँचाई प्रणाली पनि हो ।

नेपालमा राजकुलो परम्पराबाट फड्को मार्दै नहर प्रणालीको विकास भएको हो । चन्द्र शमशेरले चन्द्र नहर बनाए । जुद्ध शमशेरले जुद्ध नहर बनाए र यसरी नहर निर्माणको विकास प्रारम्भ भयो । उदयपुरबाट सप्तरी हुँदै कोशी नदीमा मिसिने त्रियुगा नदीको पानी सिँचाइका लागि प्रयोग गर्ने गरी चन्द्र नहरको निर्माण भयो ।

चन्द्र नहरको निर्माण प्रारम्भ भएको वर्ष वि.सं. १९७९ साल हो, जसको सय वर्ष पूरा भएको छ । यसको निर्माण सम्पन्न भएको वर्ष वि.सं. १९८५ साल हो ।

चन्द्र शम्शेरपछि जुद्ध शम्शेरले पूर्ववर्ती शासकको अनुकरण गर्दै वि.सं. २००० सालमा सर्लाही जिल्लाको पश्चिमोत्तर क्षेत्रमा मनुस्मारा नदीबाट सिँचाइ हुने गरी जुद्ध नहर निर्माण गराए । यसै समय कपिलवस्तु जिल्लाको बाणगंगा नदीमा सिँचाइको लागि बाँध निर्माण गरियो, जो जगदीशपुर बाँधको नामबाट परिचित छ । वि.सं. २००० सालतिर सर्लाहीमा जुद्ध नहरको निर्माण गरियो भने कपिलवस्तुमा जगदीशपुर वाँध र पोखरामा पार्दी वाँधको थालनी गरियो ।

वि.सं. २००७ साल अघि सिँचाइको क्षेत्रमा सरकारको लगानी नगण्य थियो । प्राविधिक जनशक्तिको अभाव पनि थियो । वडाहाकिमहरुले नै धेरथोर सिँचाइको व्यवस्था मिलाउँथे । सिँचाइ विकासका कार्यहरु बडाहाकिम मार्फत कार्यान्वयन हुने गर्दथे भने स्वदेशी प्राविधिक जनशक्तिको अभावमा विदेशी जनशक्ति समेत प्रयोग गर्नुपर्ने अवस्था थियो ।

विभागको नेतृत्व वि.सं. २०१३ सालदेखि मात्र नेपाली प्राविधिकले गर्न थाले । वि.सं. २००९ साल चैत २५ गते सिंहदरबारमा सर्वप्रथम नहर विभाग खडा भयो । यो विभाग त्यतिबेलाको निर्माण तथा सञ्चार मन्त्रालयअन्तर्गत थियो । वि.सं. २०१३ साल बाट पञ्चवर्षीय योजनाको आरम्भसँगै सिँचाइका लागि नियमित लगानीको व्यवस्था भयो ।

त्रियुगा नदी कोशी नदीको एक सहायक नदी हो, यो नदी उदयपुर जिल्लाको सदरमुकाम गाईघाट सहरको मध्यबाट बग्दै पूर्वमा गएर बरुआ नदीसँग मिल्छ र अन्त्यमा गएर कोशी नदीमा मिल्छ । यसै नदीमा चन्द्र नहर निर्माण गरिएको छ । सप्तकोशी नदी चीनको हृवाङहो नदीपछि तीव्र गतिमा बग्ने विश्वको दोस्रो ठूलो नदी हो । कोशी नदी नेपालको सबैभन्दा ठूलो नदी हो ।

यसका सहायक नदीहरूमा अरूण, तमोर, सुनकोशी, दुधकोशी, लिखु, तामाकोशी, इन्द्रावती पर्दछन् । सातवटा मुख्य सहायक नदीहरू मिलेर बनेको हुनाले यसलाई सप्तकोशी भनिन्छ । हिमालयबाट उत्पत्ति भएका यी सहायक नदीहरू महाभारत पर्वत श्रेणीको तल्लो भागमा सम्मिश्रित भई सप्तकोशीको रूपमा सुनसरी जिल्लाको चतरा गल्छीबाट तराईको समथर क्षेत्रमा प्रवेश गर्दछ ।

नेपालको लौकही (सुनसरी) र हनुमाननगर (सप्तरी) को बीचमा बनेको कोशी बाँध पार गरेर यो नदी भारत प्रवेश गर्दछ र भारतको विहार राज्यको कुरसेला घाटमा गंगा नदीमा मिल्दछ । वर्षायाममा बाढी आउँदा आसपासका क्षेत्रमा डुबान पार्ने भएकाले यसलाई “विहारको दुःख” पनि भन्ने गरिन्छ ।

सप्तरी जिल्लामा चन्द्र नहरका अतिरिक्त कोशी पश्चिमी नहर र कोशी पश्चिमी नहरबाट निकालिएको कोशी पम्प नहर गरी तीनवटा सिंचाइ प्रणाली सञ्चालित छन् । कोशी नदीबाट पानी ल्याएर करिब २६ हजार हेक्टर सिंचाइ गर्न कोशी पम्प नहर सिंचाइ प्रणाली र कोशी पश्चिमी वितरण नहर सिंचाइ प्रणाली सञ्चालनमा छन् । त्यसैगरी त्रियुगा नदीबाट पानी ल्याएर नहरको माध्यमबाट किसानको खेतखेतमा पानी पुर्‍याउने चन्द्र नहरले पनि जिल्लाको सिंचाइमा राम्रो भूमिका खेलेको छ ।

कोशी पम्प नहर सिंचाइ प्रणालीको मुख्य संरचनाहरुको निर्माण ४१.८० करोड रुपैयाँ को लागतमा आर्थिक वर्ष २०४१÷०४२ देखि आर्थिक वर्ष २०४३÷०४४ सम्म गरिएको थियो । कोशी पम्प नहर सिँचाइ प्रणाली र कोशी–पश्चिमी वितरण नहर सिँचाइ प्रणालीको संरचना अहिले जीर्ण बन्दै गएको छ ।

सरोकारवाला पक्षको उदासिनताका कारण ती सिँचाइ परियोजनाको भौतिक पूर्वाधार तथा संरचना पुनर्निर्माण हुन नसकेको हो । भारत सरकारको सहयोगमा बनेको परियोजनाको मर्मत सम्भार तथा पुनर्निर्माण गर्न भारत सरकार तयार भए पनि पुनर्निर्माण प्रक्रिया अवरुद्ध छ ।

कोशी पम्प नहरमा दुई हजार केभीएका २ वटा ट्रान्सफर्मर छन् । ती ट्रान्सफर्मरहरु धेरै पुराना भइसकेकाले प्रायः बिग्रेकै अवस्थामा रहन्छ । ट्रान्सफर्मरमा खराबी उत्पन्न भयो भने पानी लिफ्टिङको काम रोकिन्छ । यसमा २ वटा पम्प हाउस छन । अधिकांश विद्युतीय मेसिन तथा पार्टपूर्जाहरु जीर्ण भइसकेका छन ।

कोशी पम्प हाउसको एमओसिबी (मिनिमम आयल सर्किट ब्रेकर) इन्टरनल सिटि÷पिटी, मिटरिङ युनिट, फिल्ट्रेसन प्लान्ट लगायतका संरचना जीर्ण भएको छ । कोशी पम्प हाउस ‘ए’ र ‘बी’ मा प्रति हाउसमा ४ वटा २.७५ क्यूमेक र २ वटा १.५ क्यूमेक पानी फाल्ने मोटर पम्प जडान गरिएको छ ।

पम्प ‘ए’ ले २१ फिट माथि नहरमा पानी फाल्छ भने पम्प ’बी’ ले २९ फिट उचाइमा निर्माण गरिएको नहरमा पानी पुर्‍याउँछ । ‘ए’ र ‘बी’ पम्प हाउसको १४ क्यूमेक पानी फाल्ने क्षमता छ । कोशी पम्प नहर कोशी व्यारेजदेखि सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ कटैयासम्मको ३२ किलोमिटर नेपाली भूमि हुँदै यो नहर भारत छिरेको छ । यो नहरसँग जोडिएका १२ वटा छोटी नहरहरु पनि छन् । छोटी नहर मार्फत् केही टाढाका किसान पनि सिँचाइबाट लाभान्वित हुने गर्छन् ।

यो नहरले २६ हजार ३६२ हेक्टर क्षेत्रफल सिँचाइ गर्दै आएको छ । बर्सेनी नेपाल सरकारले दिने बजेटको अभावको कारण पनि नहरको मर्मत सम्भार तथा अन्य काम गर्न समस्या भइरहेको छ ।

देशकै पुरानो एवम पहिलो सिंचाइ प्रणाली चन्द्र नहर पनि सरोकारवालाको उदासिनता र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ । वि.सं. १९७९ सालमा निर्माण सुरु भएको चन्द्र नहर वि.सं. १९८५ साल बाट सञ्चालनमा आएको थियो ।

यो नहरले वर्तमान समयमा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका, कंचनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, महादेवा गाउँपालिका, तिरहुत गाउँपालिका, अग्निसाईर कृष्णासवरन गाउँपालिका लगायतका पालिका क्षेत्रका ग्रामीण क्षेत्रमा सिंचाइ सुविधा पुर्‍याइरहेको छ ।

कोशी पम्प नहर सिंचाइ प्रणालीको मुख्य संरचनाहरुको निर्माण ४१.८० करोड रुपैयाँ को लागतमा आर्थिक वर्ष २०४१/०४२ देखि आर्थिक वर्ष २०४३/०४४ सम्म गरिएको थियो । कोशी पम्प नहर सिँचाइ प्रणाली र कोशी–पश्चिमी वितरण नहर सिँचाइ प्रणालीको संरचना अहिले जीर्ण बन्दै गएको छ ।

चन्द्र नहर प्रणालीबाट वर्षेमा १० हजार ५०० हेक्टर र हिउँदमा ६ हजार हेक्टर जग्गामा सिंचाइ सुविधा उपलब्ध भइरहेको छ । चन्द्र नहरको लम्बाई २९ कि.मि. तथा वहाव क्षमता १४.१५ घन मिटर प्रति सेकेन्ड रहेको छ । चन्द्र नहरमा ११ वटा शाखा नहर तथा ३८ वटा डाइरेक्ट आउटलेट, ५ वटा इनलेट, ४ वटा इस्केप छन् ।

चन्द्र नहरमा ८ वटा साइफन, १३ वटा लोकल ड्रेन साइफन, ३ वटा एक्वाडक्ट, २६ वटा भिलेज रोड ब्रिज, ६ वटा फुट ब्रिज तथा २ वटा वाटर फल रहेको छ । सप्तरी जिल्लामा साबिकमा रहेका ११४ वटा गाविसमध्ये २९ वटा गाविसमा चन्द्र नहरले सेवा उपलब्ध गराइरहेको छ ।

यो नहरलाई सामान्य मर्मत सम्भार गरी पानी सञ्चालन गर्न नसकिने भएकोले नेपालको आफ्नै लगानीमा बृहत सरकारी सिंचाइ योजनाको पुनस्र्थापना तथा व्यवस्थापन हस्तान्तरण कार्यक्रम अन्तर्गत आ.व. २०७१÷०७२ मा चन्द्र नहर सिँचाइ प्रणालीलाई पुनस्र्थापना तथा व्यवस्थापन हस्तान्तरण कार्यको लागि एक अर्ब ५७ करोड, ८८ लाख आठ हजार २५५ रुपैयाँको प्रोजेक्ट एप्रुभल फर रिह्याविलिटेश्न, इम्पिलिटेशन स्वीकृत भएको छ ।

राष्ट्रको सम्पदा र ऐतिहासिक धरोहर मानिएको नेपालको पहिलो सिँचाइ परियोजना एवं व्यवस्थाको अवस्था नाजुक बन्दै गएको छ । चन्द्र नहरबाट ११ हजार हेक्टरमा सिँचाइ हुँदै आएको थियो । तर, नहरको जीर्ण अवस्थाका कारण कूल कमाण्ड एरियाको ५० प्रतिशत पनि सेवा दिन सकेको छैन ।

१० हजार ५ सय हेक्टर क्षेत्रफल भएको उक्त नहरले ७ हजार हेक्टरमा मात्र सिँचाइ गरिरहेको छ । सप्तरीमा कुल ८३ हजार २३० हेक्टर खेतीयोग्य जमिन छ । सप्तरी जिल्लाका फत्तेपुर, ओद्राहा, कमलपुर, घोघनपुर, धरमपुर, बदगामा, रुपनगर, जगतपुर, कञ्चनपुर, भारदह, पोर्ताहा, मैनाकडेरी, डिमन, पकरी, महादेवा आदि चन्द्र नहरका कमाण्ड एरियामा पर्दछन् । २९ किलोमिटर लामो चन्द्र नहर जीर्ण अवस्थामा हुँदा पनि ११ हजार क्युसेक पानीको बहाव रेकर्ड गरिएको थियो ।

नेपालको सबैभन्दा पुरानो एवम पहिलो नहर चन्द्र नहर भएकोले चन्द्र नहरको ऐतिहासिक पर्यटकीय महत्व पनि छ । पर्यटन वर्ष सन् २०२० मनाउन गठित सप्तरी पर्यटन समन्वय समितिले चन्द्र नहरलाई पनि पर्यटकीय सूचीमा समावेश गर्‍यो । तर त्यसको समुचित प्रचारप्रसार हुन सकेन ।

चन्द्र नहरको मूल, उत्पत्ति स्थान त्रियुगा नदीको २ किलोमिटर उत्तरमा रहेको काली खोलामा बनाइएको जलाशयबाट हुन्छ । चन्द्र नहरको उद्गमस्थल सप्तकोशी नदी तथा कोशी टप्पू वन्यजन्तु आरक्ष, चुरे पहाड, त्रियुगा नदी, काली खोला, बेलका नोजजस्ता प्रकृतिको काँखमा भएको छ ।

सप्तकोशी नगरपालिकाको सदरमुकाम फत्तेपुर बजारको शिरोभागमा ऐतिहासिक चन्द्रनहरको सिंचाइ प्रणालीमा त्रियुगा नदीको मूलधार प्रवाहित भइरहेको छ । पौराणिक कोशी मेला, कमल दह, म्यागजिन चुरिया मेला, सिमसार, कोशी टप्पु बन्यजन्तु आरक्ष, चुरे जंगल, अर्ना, हात्ति, अजिंगर, गोही, विभिन्न प्रजातीका चरा आदि यस क्षेत्रका पर्यटकीय विशेषता हुन् । तर यतिको विविध पर्यटकीय विषय हुँदा हुँदै पनि उचित प्रचार प्रसार हुन सकेको छैन ।

सप्तरी जिल्ला कृषि उद्यम भएको जिल्ला हो । सप्तरी जिल्लाको समृद्धिको मुख्य आधार नै कृषि हो । जिल्लाको कृषि उद्यम पनि दिनानुदिन साँघुरिँदै गएको छ तर पनि कृषि नै यस जिल्लाको मुख्य उद्यमको रूपमा कायम छ । सिँचाइ, मलखाद, बिऊबिजन, कृषि श्रमिकको अभावको कारण कृषि उद्यम विस्तार हुन सकेको छैन, बल्कि संकुचित नै हुँदै गएको हो । सप्तरीको मुख्य उत्पादन बाली धान हो । धानबालीको उत्पादन आदि कालदेखि नै मनसुनी पानीमाथि निर्भर छ ।

पछिल्ला दशकहरूमा नहर सिँचित क्षेत्रमा चैतेधान भन्ने गैर मनसुनी धानबाली लगाउने प्रयास सुरु भयो । तर समयमा सिँचाइको पानी कहिले पाउने कहिले नपाउने भएपछि किसान हतोत्साहित हुँदै गए । मनसुनी धान पनि कहिले सुक्खा र कहिले बाढीबाट प्रभावित हुने गरेको छ । तथापि मनसुनी धान मनसुन रहेसम्म रहिरहनेछ ।

सप्तरी जिल्लामा गहुँखेती पनि राम्रै हुने अवस्था छ । तर त्यही पानी, मलखाद, बिऊबिजन र श्रमको समस्याका कारण फस्टाउन सकेको छैन । खासमा पानीको समस्या मुख्य हो । गहुँखेतीको सिजन माघ–चैत हो । यो समयमा वर्षाको कुनै सम्भावना हुँदैन ।

त्यसैले नहर सिंचित क्षेत्रका किसान गहुँखेती गर्न हौसिएका हुन्छन् । तर समय समयमा नहरले धोखा दिने गरेका कारण गहुँ किसान आफूलाई चाहिने भन्दा बढी अर्थात् व्यावसायिक रूपमा गहुँखेती गर्ने जोखिम लिन चाहँदैनन् ।

सप्तरी जिल्लामा ३१ हजार हेक्टर जमिनमा गहुँखेती हुने अनुमान गरिए पनि नहरबाट पानी नआउँदा २५ हजार हेक्टरभन्दा बढी जमिन बाँझो छ । कोशी नहर वा चन्द्र नहर, सिँचाइ अवरुद्ध भएपछि किसान मर्कामा पर्ने गरेका छन् ।

नहर मर्मत गर्दा पनि सिँचाइ चाहिने समयमा पानी छाड्न मिल्ने किसिमबाट मर्मत गर्ने प्रविधिको उपयोग गर्नुपर्छ । नहर वा कुनै पनि आयोजना बिग्रने, भत्कने र त्यसको मर्मतसम्भार गरी राख्नुपर्ने स्वाभाविक प्रक्रिया हो ।

कहिलेकहीँ ठूलो बाढीले ठूलै क्षति पुर्‍याएको हुन्छ, त्यस्तो क्षतिको सुधार विशेष कार्यक्रमकै रुपमा गनर््पर्ने हुन्छ । सामान्यतया नहरमा बालुवा थुप्रिनु वा बालुवा भरिएर सतह माथि उठी पानीको बहाव न्यून हुनु, डिल भत्कनु वा डिल भत्केर नहर पुरिनुजस्ता समस्या प्रायः हरेक वर्ष भइरहेको हुन्छ ।

बर्सेनि हुने यस्ता बिग्रने, भत्किने समस्या वर्षपिच्छे सम्भार गर्दै जाने हो भने सिँचाइमा अवरोधको समस्या किसानले झेल्नुपर्ने हुँदैन । तर १०÷१० वर्षमा मर्मतसम्भार गर्ने हो भने बिग्रेभत्केको कारणले मात्र होइन, मर्मतको कारणले पनि किसान सेवाबाट वञ्चित हुन पुग्छन् ।

सप्तरीमा चन्द्र नहर कसरी आयो ? यो एउटा रोचक जिज्ञासा हुनसक्छ । किनभने सप्तरी जिल्ला अथवा मधेश सदैव राज्यबाट उपेक्षित रहँदै आएको मानिन्छ । तथ्य र तथ्यांकको विश्लेषण गर्नेहरुको भनाइ पनि त्यही हो । सरकारले उपेक्षा गरिरहेको स्थानको आर्थिक विकासलाई त्यति महत्व दिएर नहर बनाउनु भन्ने कुरा सहजै पच्दैन । तसर्थ यसमा पनि केही रहस्य छ ।

फत्तेपुरदेखि बरमझियासम्म नहर संरक्षण गर्न बनेका भवनसमेत जीर्ण अवस्थामा छन् । चन्द्र नहरको काया पलट गर्न आवश्यक छ ।

राणा शासनमा केन्द्रको शासन सञ्चालन गर्न कमाण्ड, जिल्ला, प्रगन्ना र मौजा गरी चार तहको प्रशासनिक संरचना कायम गरिएको थियो । प्रगन्ना र मौजाको खास काम जमिनदारी व्यवस्थाको सञ्चालन गर्नु थियो । कमाण्ड एरियाका कमाण्डर राणा आफैं र जिल्लाका बडाहाकिम पनि प्रायः उनीहरु आफैं हुन्थे । प्रगन्ना र मौजा पोत (कर) असुलीका लागि जमिनदारहरुलाई ठेक्का दिइन्थ्यो । यि नै प्रगन्ना र मौजाहरुमा कचहरी, विर्तवाल, राणा खलक, भाइभारदारको हालीमुहाली हुन्थ्यो ।

चन्द्र नहरको प्रभावको क्षेत्रमा पकरी प्रगन्ना र भगवतपुर कचहरीको विशेष बोलवाला थियो । यस क्षेत्रमा राणा र थापा खलकहरुको बसोवास, खेती, बिर्ता र प्रभुत्व थियो । उनीहरुकै यो क्षेत्र राम्रो उब्जाउ भूमि पनि थियो । जसकारण सरकारलाई पोत पनि बढी आउने सम्भावना थियो ।

सप्तरी पकरीका डिल्लीजंग थापा नेपालको पहिलो स्नातक सिभिल इन्जिनियर पनि थिए । उनको सप्तरी जिल्लाको जोलहरी मलेठ, पकरी गाउँमा विर्ता एवं जमिन्दारी थियो । उनि नेपाली सेनाका व्रिगेडियर जनरल थिए । उनले वि.सं. १९६८ सालमा भारतको तत्कालिन थम्पसन कलेज अफ सिभिल इन्जिनियरिङ्ग रुडकीबाट स्नातकमा उत्कृष्ट नतिजा हासिल गरेका थिए ।

सिभिल इन्जिनियरिङ सेवाको ३५ वर्षे कार्यकालमा उनले वि.सं. १९६८ सालदेखि वि.सं. २००३ साल सम्म कार्यसम्पादन गरे । खासमा डिल्लीजंगको परिकल्पना र माथि उल्लेखित अन्य कारणहरुले गर्दा चन्द्र नहरको परिकल्पना बन्यो र साकार पनि भयो ।

वास्तवमा इतिहासमा जे भयो त्यो सुखद विषय हो । तर वर्तमानलाई पनि सुखद बनाइराख्नुपर्छ । यसको ऐतिहासिकता र मूल्यको संरक्षण हुन सकेको छैन । यसका लागि सरोकारवाला निकाय तथा किसानहरुद्वारा चन्द्र नहरको अवलोकन हुनु आवश्यक छ ।

प्रतिसेकेण्ड चौध घनमिटर पानी प्रवाह गर्ने क्षमताको ५ सय किलोमिटर लामो सो नहरबाट १० हजार ५ सय हेक्टर जमीनमा सिंचाइ हुने क्षमता रहेको छ । तर त्यो क्षमता अनुसारको पानी यति बेला प्रवाह हुन सकेको छैन ।

त्रियुगा नदीमा बाँध बाँधेर निर्माण गरिएको चन्द्र नहरमा त्यसबेला एक चिम्टी पनि सिमेन्ट प्रयोग गरिएको थिएन । पाको इँटको धूलो (सुर्खीे), सखर (गुड), चुन र मासको पिठो मिसाई बनाइएको बज्र लेपको मिश्रण प्रयोग गरी बाँध बनाइएको हो । चन्द नहर मुलुककै नमुना नहर हो ।

नहर निर्माणको सूक्ष्म इन्जिनियरिङबारे अध्ययन गर्न विदेशी प्राविधिकहरूसमेत आउने गरेका छन् । चन्द्र नहर हेर्न तथा वनभोज खान आउनेहरुको भीड घट्दै गएको छ । नहरको मुहान जीर्ण बन्दै गएको छ, वरपर फोहोर बढ्दै गएको छ । श्री ३ चन्द्र शमशेरको सवारी हुँदा आराम गर्ने, शयन गर्ने भवन, अतिथि गृह, चमेना गृह आदि यहाँका ऐतिहासिक, कलात्मक भवनहरु जीर्ण भएका छन् ।

फत्तेपुरदेखि बरमझियासम्म नहर संरक्षण गर्न बनेका भवनसमेत जीर्ण अवस्थामा छन् । चन्द्र नहरको काया पलट गर्न आवश्यक छ । यसको लागि सय वर्ष पार गर्न लागेको यस अवधिमा चन्द्र नहरको शतवार्षिकीसहित यससँगजोडिएका विषयहरुबारे अध्ययन, अनुसन्धान तथा विविध महोत्सव हुनु आवश्यक छ ।

लेखकको बारेमा
अजयकुमार झा

लेखक इतिहास, संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?