+
+

एकीकृत समाजवादीका प्रतिनिधि भन्छन् : विभाजनको औचित्य पुष्टि गर्ने चुनौती छ

रामकुमार डिसी रामकुमार डिसी
२०७९ असार १६ गते १३:२६

१६ असार, काठमाडौं । रवि केसी, नेकपा एकीकृत समाजवादी निकट एकीकृत यातायात मजदुर संगठन नेपालको केन्द्रीय अध्यक्ष हुन् । पार्टीले पहिलो पटक आयोजना गरेको केन्द्रीय परिषदको दुई दिने भेलामा सहभागी हुन प्रज्ञा भवन कमलादीमा भेटिएका केसीलाई यो पार्टी नयाँ जस्तै लाग्दैन ।

एमालेका संस्थापक नेताहरु समेत यसै पार्टीमा भएकाले उनी एकीकृत समाजवादीलाई दर्ताको हिसाबले मात्रै नयाँ मान्छन् । र, उनलाई यो पार्टी आफूले हालसालै विद्रोह गरेर आएको पार्टी नेकपा एमालेभन्दा फरक नदेखिने हो कि भन्ने चिन्ता छ ।

‘हाम्रो नयाँ पार्टी भन्दा पनि कम्युनिष्ट पार्टीमा विद्रोह भएको हो,’ केसी भन्छन्, ‘अहिले पनि हाम्रो नेतृत्वमा संस्थापक नेताहरु नै हुनुहुन्छ । दर्ता र कानूनी हिसाबले मात्रै हाम्रो हामी नयाँ हौं । तर यो पनि एमाले जस्तै जस्तै होला कि भन्ने चिन्ता हो ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुई दुई पटकसम्म संसद विघटन गरेपछि नेता माधवकुमार नेपालले ओलीविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतसँग मिलेर ओलीविरुद्ध मोर्चाबन्दी गरे ।

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि माधव नेपालसहितका सांसदले देउवालाई विश्वासको मतसमेत दिए । र तिनै सांसदलाई लिएर माधव नेपालले छुट्टै पार्टी गठन गरेका थिए । एमालेले विधि, पद्धति नमानको, संविधान मास्न खोजेको आरोप लगाउँदै नेता नेपालले छुट्टै पार्टी गठन गर्नुपरेको बताएका थिए ।

एमालेबाट अलग भई नेकपा एकीकृत समाजवादी गठन गरेका नेताहरु यो पार्टीलाई एमाले भन्दा फरक देखाउनुपर्ने चुनाैतीमा छन् । नागरिकका बीचमा जाँदा पार्टी विभाजनको औचित्य पुष्टि गर्नुपर्ने दबाव रहेको केन्द्रीय परिषद बैठकमा सहभागी नेताहरु बताउँछन् ।

एमालेमा देखिएको व्यवहार र पद्धतिविरुद्ध विद्रोह गरेर त्यस्तै व्यवहार गर्ने हो भने विद्रोहको औचित्य स्थापित नहुने उनको भनाइ छ । त्यसैले औचित्य स्थापित हुने कि नहुने भन्ने कुरा पार्टीले लिने कार्यदिशा र गर्ने काममा भर पर्ने उनको भनाइ छ ।

‘यो पार्टीको रुपमा स्थापित हुने, नहुने चाहिँ हाम्रो पार्टीले लिने कार्यदिशा र हाम्रो पार्टीले गर्ने काममा भर पर्छ,’ केसी भन्छन्, ‘हामी समाजवादी हुँदैमा समाजवाद आउने पनि होइन । त्यत्तिकै जनताको मन जित्न सकिन्न । अब काम गरेर देखाउनुपर्ने स्थिति छ ।’

ललितपुरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य उदय श्रेष्ठ पनि एकीकृत समाजवादी स्थापनाको औचित्य स्थापित गर्नुपर्ने चुनौती रहेको ठान्छन् । ‘राम्रो काम गर्दै गयौं भने औचित्य पुष्टि हुँदै जान्छ । काम राम्रो नगर्ने, एक अर्काको खुट्टा तान्ने र आफ्नो मान्छे मात्रै च्याप्ने ग¥यौं भने यो पार्टी र एमालेमा केही पनि फरक हुँदैन’, उनले भने, ‘सबै भन्दा ठूलो कुरो हामीले व्यवहार परिवर्तन गरेर लैजानुपर्छ ।’

नेकपा एकीकृत समाजवादीले हालै मन्त्री हेरफेर गरेको निर्णयलाई कतिपय केन्द्रीय परिषद सदस्यले ठीक मानेका छैनन् । त्यस्तै पार्टीले मन्त्री हेरफेर गर्ने भनी निर्णय गरिसकेपछि मन्त्रीहरुले फिर्ता आउन गरेको आनकानीले झस्काएको र व्यवहार परितर्वन आवश्यक रहेको देखिएको उनको भनाइ छ ।

गत वर्षको भदौमा एमालेबाट अलग भएर एकीकृत समाजवादी दर्ता भएको थियो । झण्डै १० महिना हुनै लाग्दै यो बीचमा एकीकृत समाजवादीले स्थानीय तहको चुनावको सामना गरेको छ र आसन्न संसदीय चुनावको पर्खाइमा छ ।

नर्सिङ संघबाट प्रतिनिधित्व गर्दै ललितपुरबाटै केन्द्रीय परिषद बैठकमा आएकी लक्ष्मी केसीलाई पार्टीले छोटो अवधिमा पनि जनविश्वास आर्जन गरेको अनुभूत भएको छ ।

‘पार्टी स्थापनाको यति छोटो समयमा हामी स्थानीय चुनावमा जाँदा पनि पार्टीप्रति जुन जनविश्वास देखिएको छ, त्यस आधारमा नेकपा एकीकृत समाजवादीको स्थायित्व चाहिँ छ’, केसीको विश्वास छ ।

स्थानीय तहको चुनावमा सत्तारुढ दलहरुसँग तालमेल गरेको एकीकृत समाजवादीले २० पालिका प्रमुख जितेको छ । यद्यपि एकीकृत समाजवादीका धेरै नेताहरु गठबन्धनबाट सहयोग नभएको गुनासो गर्छन् । यस्तै गुनासो केसीको पनि छ ।

‘गठबन्धन गर्दा कसले इमान्दारितापूर्वक लागू गर्छ, उसैसँग गठबन्धन गर्दा राम्रो । गठबन्धनका नाममा धोका हुन्छ भने त्यस्तो गठबन्धन नगर्नु नै राम्रो’, उनको भनाइ छ ।

पोखराका गोपाल गिरी आफूहरुले स्थानीय रुपमा काम गर्न अवसर नै नपाइसकेकाले फुटको औचित्य स्थापित गर्न समय लाग्ने बताउँछन् । ‘विभाजनको औचित्य देखाउन स्थानीय रुपमा हामीले काम गर्ने मौका नै पाएका छैनौं,’ उनको भनाइ छ, ‘हामी एकीकृत समाजवादीका भएका मान्छेहरु हिजो एमाले विचार, सिद्दान्त र पद्धतिमा चल्नुपर्छ भन्ने मान्छे हौं । जनताले त्यसमा विश्वास गरेका छन् ।’

गिरी भने अबको पाँच वर्षसम्म हालकै गठबन्धन कायम हुनुपर्ने मत राख्छन् । पार्टीको गण्डकी प्रदेश सदस्य रहेका उनी भन्छन्, ‘फेरि अर्को गठबन्धन गर्दा सन्तुलन बिग्रन्छ र काम गर्न अप्ठ्यारो हुन्छ । त्यसैले यही गठबन्धनलाई लैजानुपर्छ ।’

सिन्धुपाल्चोककी अनिता लामा नयाँ पार्टी निर्माण गर्न चुनौतीपूर्ण रहेपनि जनतालाई बुझाउन गाह्रो नरहेको बताउँछिन् । ‘फिल्डमा गएर पार्टी निर्माण गर्न अप्ठ्यारो त छ,’ जिल्ला सचिव समेत रहकी उनी भन्छिन्, ‘जनता सचेत भएकाले हामीलाई कुरा बुझाउन त्यस्तो गाह्रो भएको छैन ।’

एमालेका अध्यक्ष केपी ओलीले पार्टीको नीति, सिद्धान्त, निर्णय नमानेको र संसद विघटन गरेको कुरा लिएर जनतामाझ गएको उनको भनाइ छ ।

तर मन्त्री हेरफेर गर्ने पाटीको निर्णय र त्यसलाई कार्यान्वयन गर्ने मामिलामा पार्टीभित्र उब्जेको विवादलाई भने लामाले राम्रो मानेकी छैनन् । ‘पार्टीले जे निर्णय गर्छ, त्यो मान्नुपर्छ,’ उनको भनाइ छ, ‘पार्टी, विधि विधान भन्दा माथि कोही छैन । हिजो पनि हामीले विधि, विधान र सिद्धान्त ठीक लागेन भनेर विद्रोह गरेको हो ।’

रुपन्देहीबाट आएकी केन्द्रीय सदस्य उमा काफ्लेलाई पार्टी निर्माण चुनौतीपूर्ण रहेको लागेको छ । ‘हामीले वर्गीय चरित्र बोकेर हिँड्नुपर्छ । त्यसअनुसार व्यवहार देखाउन सक्नुपर्छ’ उनले भनिन् ।

स्वास्थ्य क्षेत्रको प्रतिनिधित्व गर्दै बैठकमा आएका डा. कृष्णगोपाल मर्हजन पार्टी निर्माण गर्नुपर्ने बेलामा गठबन्धनले घाटा भएको मान्छन् । ‘गठबन्धनले गर्दा हामीलाई घाटा भएको छ । मलाई चाहिँ गठबन्धन गरेको ठीक लागेको छैन’ उनले भने, ‘एक्लै चुनाव लड्यो भने कमसेकम समानुपातिकतर्फ त धेरै मत आउँछ ।’

पार्टीको निर्वाचन आयोगबाट प्रतिनिधित्व गर्दै बैठकमा आएका कुलराज घिमिरे लगातारको चुनावका कारण संगठन निर्माणमा समय दिन नपाएको बताउँछन् । ‘अत्तालिनुपर्ने कुरा छैन । अलिकति समय पाएको भए संगठन विस्तार गरेर अलि व्यवस्थित हुन्थ्यौं भन्ने कुरा मात्रै हो’ उनी भन्छन् ।

विदेश नीतिको विषयमा पार्टी प्रष्ट नभएको उनलाई लागेको छ । ‘कमजोरी सच्चिने वित्तिकै यो व्यवस्थित पार्टी बन्छ । बनाउनलाई धेरै कसरत गर्नपर्छ कि भन्ने मात्रै हो’ घिमिरे भन्छन् ।

केन्द्रीय सदस्य सत्यनारायण यादव भने आफ्नो पार्टी बनिसकेको र अब दौडाउन मात्रै बाँकी रहेको दाबी गर्छन् । उनी भन्छन्, ‘हाम्रो पार्टी बन्छ कि बन्दैन होइन, हाम्रो पार्टी बनिसकेको छ । अब यसलाई दौडाउने पक्षमा छौंं ।’

अर्का केन्द्रीय केन्द्रीय सदस्य सूर्यप्रसाद शर्मा आफूहरुसँग पार्टी निर्माणको अवसर र चुनौती दुवै भएको बताउँछन् । ‘कसरी समाजवादसम्म पुग्न सकिन्छ भन्नेबारेमा अहिलेसम्म प्रष्ट पार्न सकिएको छैन् । यो हाम्रा लागि अवसर हो । यसको प्रष्टता हुने वित्तिकै संगठन राम्रो बन्छ ।’

व्यक्तिगत अवसरको आकांक्षा बोकेर आउने मान्छेबाट पार्टी जोगाउनु चुनौतीपूर्ण भएको शर्माको बुझाइ छ । ‘यही समस्या एमालेमा थियो । त्यही रोग यता नसरोस् भन्ने मेरो कामना छ’, उनले सुनाए ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?