+
+

‘प्रसाद २’ निर्माणको घोषणा गर्दै सुदर्शनले भने- यो विशुद्ध सिक्वेल हुनेछ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १९:३१

काठमाडौं । सामाजिक र प्रेमकथामा आधारित फिल्म ‘प्रसाद २’ निर्माण हुने भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो ।

यो फिल्मलाई यसअघि रिलिज भएको ‘प्रसाद’को सिक्वेल बताइएको छ । दोस्रो श्रृंखलालाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । यसअघि रोमान्टिक फिल्म निर्देशकको छवि बनाएका सुदर्शनले ‘प्रसाद’लाई विशुद्ध सिक्वेल भएको बताए ।

आफूले नयाँ ढंगबाट यसलाई हेरेको भन्दै सुदर्शनले अघिल्लो फिल्मको कथा सकिएकै ठाउँबाट नयाँ सुरु हुने बताए । यसपटक छुवाछूतको मात्र कथावस्तु नभएर मुख्य पात्रहरु बाबुराम र नारायणीको जीवनमा आउने सामाजिक र पारिवारिक द्वन्द्वलाई फिल्ममा चित्रण गरिने थापाले बताए ।

बाबुरामको भूमिकामा विपिन कार्की र नारायणीको रोलमा नम्रता श्रेष्ठ छन् । यी दुईलाई अन्तरजातीय दम्पतीको रुपमा प्रस्तुत गरिएको छ । यसपटक फिल्ममा निश्चल बस्नेत छैनन् । उनको ठाउँमा अर्पण थापाको प्रवेश भएको छ । राज कटुवाल पनि मुख्य भूमिकामा छन् ।

कथाकार सुशील पौडेलले ब्याज खाने ढंगबाट फिल्म निर्माण गर्न लागेको नभई यसले प्रसादकै लिगेसीलाई निरन्तरता दिने बताए । कन्टेन्टलाई अघि बढाएर सिक्वेलकै रुपमा ल्याउने उद्देश्य रहेको उनले जनाए । ‘यसपटक पात्र गाउँ पुगेपछि आउने उतारचढावमा फिल्म आधारित छ,’ उनले भने ।

पत्रकार सम्मेलनमा कलाकारले आ-आफ्नो चरित्र चित्रणबारे बोले । नम्रताले यसपटक आफ्नो पात्र ‘मच्योर्ड’ भएर चित्रण हुने बताइन् । विपिनले बाबुराम पात्रलाई मन पर्नेमध्येको एक भन्दै आफूले गरेका गम्भीर फिल्ममध्ये ‘प्रसाद २’को स्थान महत्वपूर्ण हुने बताए ।

‘पहिलोपटक फिल्म गर्न लागेजस्तो ढुकढुक भएको छ । प्रसादको साख जोगाउन प्रयास गरेको छु । यसपटक बाबुराम पात्र परिपक्व भएको छ,’ उनले बताए ।

निर्देशक थापाले फिल्मको स्टोरी लाइन र प्रसादको सिक्वेल भएकाले नयाँ रोचक केही गर्न सकिन्छ कि भन्ने लागेर निर्देशनको जिम्मा लिएको बताए । अभिनेता बस्नेतले प्रोजेक्ट छाडेको कारणबारे आफूलाई थाहा नभएको उनले बताए ।

संगीतकार राजनराज सिवाकोटीले आफ्ना प्रत्येक गीतमा जस्तै ‘प्रसाद २’मा पनि गीतले प्रश्न गर्ने बताए । केशव पाण्डेले निर्माण गर्ने फिल्मको छायांकन असार २१ गतेदेखि कास्कीको याम्जाकोटमा सुरु हुँदैछ । निर्माता सुभाष थापालाई यसपटक निर्माणमा केशव पाण्डेले सघाउने भएका छन् । फिल्म तिहारमा रिलिज गर्ने योजना छ ।

छायांकनअघि कलाकारलाई लिएर बागलुङको रीघा गाउँमा त्यहाँको आञ्चलिकता बुझ्नेबारे कार्यशाला पनि हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?