+
+

उपत्यकामा विद्युतीय मतदान यन्त्र प्रयोग गर्ने आयोगको तयारी, सरकारसँग माग्यो सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते २१:३५

१६ असार, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विद्युतीय मतदान यन्त्रको व्यवस्था गरिदिन सरकारलाई आग्रह गरेको छ ।

आयोगले दुईवटा विकल्प अघि सार्दै कम्तीमा काठमाडौं उपत्यकाभर भए पनि विद्युतीय मतदान यन्त्रबाट मतदान हुने व्यवस्था गराइदिन गृह मन्त्रालयमा पत्राचार गरेको हो ।

आयोगले विद्युतीय मतदान यन्त्रको प्रयोग र व्यवस्थापनका विषयमा अध्ययन गर्न गठित समितिको प्रतिवेदन गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाएको बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएको छ । स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र (ईभीएम) तत्काल व्यवस्थापन हुन नसके २०७९ साउन मसान्तसम्ममा अन्य देशमा निर्मित ईभीएम प्रबन्ध गरिदिन लेखी पठाएको आयोगले बताएको छ ।

निर्वाचन आयोगले पठाएको पत्रमा दुईवटा विकल्प उल्लेख छ । आयोगले कि नेपालमै उत्पादित विद्युतीय मतदान यन्त्रको गुणस्तर विश्वसनीयता प्रमाणीकरण गरिदिन भनेको छ । नभए अन्य मुलुकमा निर्मित विद्युतीय मतदान यन्त्र किनेर निर्वाचन आयोगलाई साउनभित्र उपलब्ध गराइदिन भनेको छ ।

निर्वाचन आयोगले आगामी कात्तिकको अन्तिम साता प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अनौपचारिक तयारी गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालमा उत्पादिन विद्युतीय मतदान यन्त्र प्रमाणीकरण गर्नुपर्ने वा विदेशी यन्त्र उपलब्ध गराइदिनुपर्ने विकल्प दिएको बताए । ‘कि त नेपालमा उत्पादित उपकरणलाई प्रमाणीकरण गर्ने व्यवस्था मिलाउनुपर्‍यो’ उनले भने, ‘होइन भने साउन मसान्तभित्र उपकरण उपलब्ध गराए हामीले आफूले सक्ने ठाउँमा प्रयोग गर्छौं भनेका छौं ।’

निर्वाचन घोषणा भएपछि आयोगलाई उपलब्ध हुने रकमबाट मेसिन किन्न समय अभाव हुने भएकाले अहिले नै पत्राचार गरिएको उनले बताए । निर्वाचन घोषणा नहुदै आयोगलाई रकम उपलब्ध नहुने भएकाले गृह मन्त्रालय मार्फत सरकारलाई उपकरणको व्यवस्था गर्न पत्राचार गर्नुपरेको उनको भनाइ छ । सरकारले सहजीकरण गरेमा कम्तीमा पनि उपत्यकाभित्रका जिल्लामा ईभीएम प्रयोग गर्न सकिने उनले बताए ।

स्थानीय तह निर्वाचनअघि निर्वाचन आयोगले गठन गरेको ८ सदस्यीय टोलीले विद्युतीय मतदान यन्त्रमै मतदान गरेको चिह्न समेत प्रिन्ट हुने मेसिन प्रयोग गर्नुपर्ने सिफारिस गरेको थियो ।

नेपालमा राम लक्ष्मण समूहले विद्युतीय मतदान यन्त्र तयार पारेको छ । त्यसलाई सरकारले प्रमाणीकरण गरिदिए आगामी निर्वाचनमा काठमाडौं उपत्यकामा प्रयोग गर्न सकिने निर्वाचन आयोगको तयारी छ ।

आयोगले त्यसो नभए विदेशमा निर्मित ईभीएम उपलब्ध गराइदिन भनेको हो । विदेशमा व्यवसायिक प्रयोजनका लागि निर्मित उपकरणहरुको गुणस्तरीयता र विश्वसनीयता परीक्षण हुने भएकाले प्रमाणीकरण आवश्यक पर्दैन ।

प्रयोगकर्ताले प्रयोग गर्नसक्ने भएकाले एउटै यन्त्रबाट चार प्रकारको मतदान गर्न सकिन्छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनको मतदान एउटै यन्त्रबाट पनि सम्भव हुन्छ । तर मतदाता झुक्किने भन्दै निर्वाचन आयोगले चारवटा अलग अलग यन्त्र प्रयोग हुनुपर्ने औंल्याएको हो । त्यसो गर्दा एउटा मतदान केन्द्रमा चारवटा ईभीएम आवश्यक पर्छ ।

काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा करिव ३ सय ७५ मतदानस्थल छन् । एउटा मतदानस्थलमा एकभन्दा बढी केन्द्र छन् । हरेक केन्द्रमा कम्तीमा चारवटा मेसिन आवश्यक पर्ने भएकाले काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा विद्युतीय मतदान गराउन कम्तीमा पनि १६ सयको हाराहारीमा ईभीएम आवश्यक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?