+
+
अध्ययन प्रतिवेदन :

औसत २.५ दिन घुम्छन् आन्तरिक धार्मिक पर्यटक, खर्च ११,८०० रुपैयाँ

अच्युत पुरी अच्युत पुरी
२०७९ असार १९ गते १९:५३
ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिर दर्शन गर्न पुगेका पर्यटकहरु/फाइल तस्वीर

१९ असार, काठमाडौं । नेपालका आन्तरिक धार्मिक पर्यटकको औसत भ्रमण अवधि २.५ दिन रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । नेपाल राष्ट्र बैंककले प्रदेश १ मा धार्मिक पर्यटनको स्थिति, सम्भावना तथा चुनौतीबारे गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

नेपालभर आन्तरिक पर्यटकको औसत भ्रमण अवधि र उनीहरुले गर्ने खर्चबारे भने अहिलेसम्म औपचारिक अध्ययन भएको छैन । नेपाल राष्ट्र बैंकले प्रदेश नम्ब १ लाई मात्र केन्द्रित गरी गरेको अध्ययनले नेपालीहरु धार्मिक गन्तव्यका लागि औसत २.५ दिनको समय निकालेर घुम्न निस्कने देखिएको हो ।

यसअवधिमा उनीहरुको औसत भ्रमण खर्च ११ हजार ८ सय रुपैयाँ रहेको पाइएको छ । प्रदेश नम्बर १ मा कुल ४९ वटाभन्दा बढी धार्मिकस्थल पहिचान भएको छ । यसमध्ये ४ वटा धार्मिकस्थल छनोट गरी नेपाल राष्ट्र बैंकले प्रश्नावली सर्वेक्षणका माध्यमबाट यस्तो अध्ययन गरेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार सुनसरीको बराहक्षेत्र, खोटाङको हलेसी महादेव मन्दिर, ताप्लेजुङको पाथिभरा र इलामको सानो पाथिभरालाई समेटेर सर्वेक्षण गरिएको हो ।

नेपाल राष्ट्र बैंकले स्थानीय पर्यटक, स्तरीय होटल, पूजा सामग्री तथा उपहार, हस्तकलाका सामग्रीको कारोबार गर्ने व्यापारी, यातायात व्यवसायी, मन्दिर व्यवस्थापन समिति/विकास समिति, आन्तरिक तथा बाह्य पर्यटक र ट्राभल तथा ट्रेकिङ एजेन्सीबाट सूचना संकलन गरी विश्लेषणमार्फत प्रतिवेदन बनाएको उल्लेख गरेको छ ।

नेपाल राष्ट्र बैंकले प्रतिवेदनमा विभिन्न मन्दिर व्यवस्थापन समिति तथा विकास समिति र नेपाल पर्यटन बोर्डबाट प्राप्त तथ्यांकका आधारमा २०७६ सालमा प्रदेश नम्बर १ मा २५ लाख ४५ हजार ५२ जना पर्यटक पुगेको उल्लेख गरेको छ । यसमध्ये आन्तरिक पर्यटकको संख्या १७ लाख ५० हजार १०३ रहेको छ । यो कोभिड-१९ महामारी भन्दा अगाडिको तथ्यांक हो ।

जागिरे र व्यापारी धेरै घुम्छन्

अध्ययनले देखाएको निष्कर्ष अनुसार आन्तरिक धार्मिक पर्यटनमा जागिरे र व्यापारी बढी संख्यामा निस्कने गरेका छन् ।

धार्मिकस्थलको भ्रमण गर्ने ४५ प्रतिशतको मुख्य पेशा नोकरी रहेको देखिएको छ । २५ प्रतिशत आन्तरिक पर्यटकको पेशा व्यापार रहेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार ६७.५ प्रतिशत आन्तरिक पर्यटक परिवारका सदस्यसहित धार्मिकस्थलको भ्रमणमा निस्किएका थिए । २२.५ प्रतिशत पर्यटक भने परिवारका सदस्यबाहेक अन्य समूहमा भ्रमणमा आएका थिए ।

खर्चालु आन्तरिक पर्यटक बढ्दै

अध्ययन प्रतिवेदन अनुसार प्रदेश नम्बर १ का धार्मिक गन्तव्यमा भ्रमण गर्ने पर्यटकको औसत खर्च ११ हजार ८ सय रुपैयाँ देखिएको छ । विगत पाँच वर्षमा एक पटक भन्दा बढी धार्मिकस्थलको भ्रमण गरेका सर्वेक्षणमा सहभागी पर्यटकको खर्च ४३.६ प्रतिशतले बढ्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पर्यटकको खर्च सबैभन्दा धेरै यातायातमा ४३.३ प्रतिशत हुने गरेको छ । खाना र होटलमा ३५.९ प्रतिशत र पूजा सामग्रीमा १०.६ प्रतिशत खर्च हुने गरेको छ ।

सर्वेक्षणमा सहभागीमध्ये ८० प्रतिशतले मनोकांक्षा प्राप्तिका लागि धार्मिकस्थलको भ्रमणमा जाने गरेको बताएका छन् ।

पूजा र हस्तकला सामग्रीको व्यापारमा उत्साहजनक 

अध्ययन प्रतिवेदन अनुसार धार्मिक स्थल वरपर पूजा सामग्री र हस्तकलाका सामग्रीको व्यापार फस्टाएको छ । धार्मिक स्थलमा सबैभन्दा धेरै पूजा सामग्री बिक्री हुन्छ । त्यसपछि हस्तकला हुने गरेको छ । यस्ता सामग्री बिक्रीबाट औसत २८.४ प्रतिशत मुनाफा हुने गरेको देखिएको छ ।

धार्मिक स्थल वरपर ६५ प्रतिशत व्यापारीले व्यापारलाई यथास्थितिमा चलाएका छन् भने ३० प्रतिशतले क्षमता विस्तार र सुविधा थप गर्ने सुनाएका छन् ।

कोभिड-१९ महामारीका दौरान यस भेगका होटलमा औसत २ जनाले रोजगारी गुमाएका छन् । होटलको रोजगारी औसत दुई जना पाइएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?