+
+

काज माग्ने प्रवृत्तिले प्रहरी हेडक्वार्टर हैरान, भनसुन नगराउन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १९:४२

२१ असार, काठमाडौं । शक्तिकेन्द्रबाट भनसुन गराएर आफूखुशी रोजाइको स्थानमा काज सरुवा लिएर अधिकृत तथा कर्मचारीहरुले पोष्टिङ लिने क्रम बढेपछि प्रहरी प्रधान कार्यालय, नक्साल हैरान बनेको छ । विगतदेखि नै पहुँचका आधारमा आकर्षक स्थानमा पोष्टिङ वा घरपायक जानका लागि काज सरुवा गराउने प्रवृत्ति छ ।

यस्तो प्रवृत्तिले ‘कतिपय कार्यालयमा कर्मचारी नपाउने तथा कतिपयमा अनावश्यक रुपमा थुप्रिने भएर तोकिएको दरबन्दी र उपलब्ध जनशक्तिको सन्तुलन कायम गर्न बाधा पुगेको’ प्रहरी प्रधान कार्यालय, नक्सालको निष्कर्ष छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले हालै जारी गरेको परिपत्रमा भनिएको छ, ‘यसले उपलब्ध जनशक्तिको सन्तुलन कायम गर्नमा बाधा पुगेको र कतिपय प्रहरी कार्यालयको जनशक्ति व्यवस्थापन समेत प्रभावित हुनुका साथै समय समयमा विभिन्न स्थानमा प्रहरी कर्मचारीको सरुवा गरी कार्य विस्तारको अवसर प्रदानमार्फत समग्र कार्यसम्पादन स्तरवृद्धिमा समेत आघात पुगेको महसुस भएको छ ।’

यसलाई व्यवस्थित गर्न प्रहरी प्रधान कार्यालयले हालै १५ बुँदे परिपत्र जारी गरेको छ । परिपत्रमा प्रहरी कर्मचारीलाई काज खटाउने व्यवस्था सम्बन्धमा प्रहरी नियमावलीमा भएको व्यवस्थाको पूर्ण पालना गराउने भनिएको छ । प्रहरी नियमावली, २०७१ को नियम ५२ को उपनियम (१) मा सामान्यतयाः प्रहरी अधिकृतलाई काजमा नखटाइने उल्लेख गरिएको छ । यसमा ‘विशेष परिस्थिति’ मात्रै प्रहरी कर्मचारीलाई काज सरुवामा खटाइने भनिएको छ ।

एउटै कार्यालयमा लामो समयसम्म कार्यरत रहेर अन्यत्र सरुवा भएका प्रहरी कर्मचारीको पुनः सोही स्थानमा काज सरुवा तथा सिफारिस नगर्ने सर्कुलरको अर्को बुँदामा उल्लेख छ । काज सिफारिस गर्दा कार्यालयको विशेष आवश्यकताका आधारमा मात्रै सिफारिस गर्ने भनिएको छ ।

प्रहरी कर्मचारीले आफ्नो गुनासो संगठनभित्रै सम्बन्धित कार्यालयका अधिकारीसमक्ष राख्ने र राख्न लगाउने व्यवस्था गर्न पनि भनिएको छ । साथै, संगठनको ‘चेन अफ कमाण्ड’भन्दा बाहिर गएर व्यावसायिक मर्यादा, अनुशासन तथा संगठनको नीति निर्देशन विपरित काजका लागि भनसुन नगराउन निर्देशन दिइएको छ ।

सामान्यतयाः काज ६ महिना अवधिका लागि मात्र खटाइने हुँदा त्यसअवधिभित्र सम्बन्धित स्थान वा कार्यालयमा सरुवा नभए पुनः काज नवीकरण नगर्ने पनि भनिएको छ । साथै, त्यस्ता अधिकृतलाई अनिवार्यरुपमा तोकिएको दरबन्दी भएको स्थानमा फिर्ता रवाना गर्न भनिएको छ ।

प्रहरी कर्मचारीले आफ्नो नियमित सरुवामार्फत नै पायक पर्ने वा अनुकूल स्थान वा कार्यालयको माग गर्न सक्ने भनिएको छ । यसका लागि सम्बन्धित कर्मचारीले आफू कार्यरत रहेको कार्यालयबाटै प्रहरी नियमावलीको अनुसूची १३ बमोजिमको फारम भनेर प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा वा प्रहरी कार्यालयमा पठाउन सक्ने भनिएको छ ।

प्रहरी कर्मचारीले अन्य सामान्य प्रकृतिका व्यक्तिगत वा पारिवारिक समस्याहरु विदामार्फत समाधान गर्न सक्ने बताउँदै सम्बन्धित कार्यालयले नियम अनुसार विदा प्रदान गर्ने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?