+
+

बाल बिजाइँ : धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ

सुचिता सुवेदी सुचिता सुवेदी
२०७९ असार २६ गते १६:१७

बाल बिजाइँ एक संवेदनशील तर उपेक्षित विषय बनेको छ । बालबालिका भोलिका भविष्य भनिरहँदा के हामीले उनीहरूको मानसिक अवस्थाको समयमै पहिचान गरी हस्तक्षेप नगरेर बिजाइँकर्ताबाट अपराधतर्फ उन्मुख गराइरहेका त छैनौं ?

यस्ता धेरै बाल बिजाइँ सम्बन्धी मुद्दा छन् जसले यी बिजाइँकर्ताको भोलिको अवस्था/भविष्य कस्तो रहला भनेर हामीलाई सोच्न बाध्य बनाएको छ । के उनीहरू सामान्य जीवन निर्वाह/यापन गरिराखेका छन् वा अपराधी बनेर जेल जीवन यापन गरिरहेका छन् ! सम्बन्धित घटनाक्रमलाई विश्लेषण गर्ने आवश्यकता महसुस गरी त्यही अनुसार प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

घटना नं. १ : परिवर्तित नाम बबरमहल ‘क’ १५ वर्षका बालक हुन् । उनी कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरी समाजमा फर्किसकेका छन् । उनको बिजाइँको प्रकृति नियाल्ने हो भने उनले एक बालिकाको खुकुरीले दुईवटा औंला टुक्रा–टुक्रा बनाएर काटेर घाँटीमा हानेर हत्या गरेका थिए ।

मृतक बालिकाले निजले बारम्बार ताकेता गर्दा पनि पैसा नदिने र टुहुरो (बाउ नभएको) साथै अन्य अपशब्द प्रयोग गरेर मानसिक रूपमा पीडा दिने गर्थिन् । घरमा पनि माया नपाएको र साथीले पनि घोचपेच गर्दा आवेग सहन नसकी उनले खुकुरी प्रहार गरी मारेका थिए । उनले खुकुरी राखेको ठाउँबाट निकाली हत्या गरी खुकुरीमा लागेको रगत पखालेर पुछेर सोही स्थानमा राखेका थिए ।

उनी अन्तरमुखी स्वभावका थिए । बाल सुधार गृहमा रहँदा कम बोल्ने, रिसाउने तथा अन्य मानसिक समस्या जस्तैः क्रियात्मक/शारीरिक गुनासा तथा गलत सोचहरूबाट ग्रस्त थिए ।

घटना नं. २ : परिवर्तित नाम बौद्ध ‘२५’ को उमेर १५ वर्ष भयो । ७ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुधार गृहमा बसेर सजाय भुक्तान गरी परिवारमा पुनर्स्थापित भइसकेका छन् । घटना के थियो भने उनले ती ७ वर्षकी बालिकाको मुख कपडाले बाँधेर बालिका बसेको कोठाको सानो झ्यालबाट बाहिर निकालेर त्यहीं नजिक रहेको शौचालयमा लगेर जबरजस्ती गरेका थिए । यी बालक कम बोल्ने अन्तरमुखी स्वभावका थिए ।

घटना नं. ३ : परिवर्तित नाम हरिहरभवन ‘ग’ १५ वर्षकी बालिका हुन् । उनी कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरी समाजमा पुनर्स्थापित भइसकेकी छिन् । उनले आफूले मन पराएको बालकले विवाह गर्न अस्वीकार गरेपछि चियामा विष हालेर खुवाइन् र आफूले पनि सँगै सेवन गरिन् । तर, उनले आफ्नो चियामा कम र मृतकको चियामा बढी विष हालेर पिउन दिएर हत्या गरेकी थिइन् । यी बालिका पढाइमा अब्बल, अन्तरमुखी, जिद्दी तथा आफूले भनेको हुनैपर्ने स्वभाव भएकी थिइन् ।

माथिका तीनै वटा घटनाले बालबालिकाले बिजाइँ गर्नु पछाडिको मानसिक अवस्थाको चित्रण गरेको छ । यी घटनालाई सूक्ष्म रूपमा केलाई विश्लेषण गर्ने हो भने यसले सोचनीय निम्न प्रश्नहरू खडा गरेको छः

१. के उनीहरू यतिकै आवेगमा/संवेगमा आई विना कुनै कारण उक्त कार्य गरेका होलान् त ?
२. यी बालबालिकाले कुनै अवस्थामा देखाएको मनस्थितिको आफूले आकलन गर्न नसकेका हुन् कि ?
३. यसरी बिजाइँमा परेर पुनः समाजमा स्थापित हुँदाको अवस्थामा उनीहरूको मानसिक अवस्था कस्तो रहला र पुनः बिजाइँको संभावना कस्तो रहला ? यसको मूल्याङ्कन जरूरी देखिएको छ ।

माथिका मामला उद्धृत गरी विश्लेषण गर्ने हो भने यदि समयमा उनीहरूको व्यवहार पहिचान गरी हस्तक्षेप गरेको भए सायद यो घटना हुँदैनथ्यो कि ? बालबालिकाले उनीहरूको हरेक संवेग कुनै न कुनै रूपमा देखाइरहेका हुन्छन् तर त्यसलाई हामीहरूले सुन्ने, अवलोकन वा कुराकानी गर्ने नगरी नजरअन्दाज गरिदिन्छौं । अथवा यो बढी रिसाहा/किचकिचे/अटेरी भयो भनेर उल्टै उसलाई गाली र गुनासो गर्छौं, जसको फलस्वरुप बालबालिका भावनात्मक रूपमा विचलित भई गलत मार्गमा उन्मुख हुन पुग्छन् ।

यदि कुनै व्यवहार समस्याग्रस्त देखिएमा हस्तक्षेप गर्नु आवश्यक छ । यसको लागि बालबालिका र परिवारका सदस्यबीच संचार कलाको विकास गराउन जरूरी छ ।

घटना नं. १ र ३ मा परिवारका सदस्यसँग कुराकानी गर्दा सबै अभिभावकले एउटै मत व्यक्त गरे कि उनीहरूको बच्चा धेरै नै रिसाउने, जिद्दी स्वभावको थियो । उनीहरूका अभिभावकहरूले यस्ता घटना आफ्ना बच्चाहरूबाट होला भन्ने कल्पना समेत नगरेको बताए ।

घटना नं.२ को सन्दर्भमा बालकका अभिभावकसँग उसको व्यवहार बारे जानकारी लिन खोज्दा उनीहरूले उसको प्रतिरक्षा गरिरहे । तर, उनका साथी र बालिकासँग कुरा गर्दा निजले जिस्क्याउने, शरीरका विभिन्न अङ्गहरू छुने आदि जस्ता व्यवहार गर्ने गरेको बताए ।

बालिकालाई तिमीले आफ्ना बुबाआमालाई भनिनौ ? भनेर प्रश्न गर्दा दुवै अभिभावक जतिबेला पनि रक्सी खाएर बस्ने र ती सानातिना कुरा हुन् भनेर वास्ता नगर्ने खालका भएको बताइन् ।

छिमेकका अन्य व्यक्तिसँग पनि यो घटनाको बारेमा बुझ्न खोज्दा कोही बोल्न चाहेनन् । पछि ती बालिकालाई अन्य व्यक्तिबाट पनि थप दुर्व्यवहार हुने महसुस गरेर उद्धार गरी संस्थाको जिम्मा लगाइएको थियो ।

तसर्थ यी सबै घटनामा यदि परिवारका सदस्यले उसको व्यवहार पहिचान गरी हस्तक्षेप गरेको भए यो घटना रोक्न सकिन्थ्यो कि ? सुधार गृहमा रहेर समाजमा पुनर्स्थापित हुँदा बालबालिका पुनः बिजाइँमा लागेको कुनै तथ्य छैन । तर, सोझै अनुमान लगाउन सकिने अवस्था के हो भने यसरी पुनर्स्थापित हुँदा परिवार र समुदायमा सामाजिकीकरण तथा फलोअप नहुनाले पुनः बिजाइँ हुने संभावना धेरै नै हुन्छ । यसै सम्बन्धी गरिएको एक अध्ययनले २८ वर्षभित्र पुनः बिजाइँ हुने संभावना ८९ प्रतिशत हुने देखाएको छ ।

कानुनको विवादमा पर्ने सबै बालबालिका किशोरावस्थाका हुन् । किशोरावस्था संक्रमणको अवस्था पनि हो । यसबेला शरीरमा हुने हर्मोन परिवर्तनका कारणले विभिन्न शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक परिवर्तनले जोखिमयुक्त व्यवहार देखाउँछन् ।

यो समय बालबालिका बढी जिज्ञासु, कल्पनाशील र जोखिम मोल्ने स्वभावका हुन्छन् । तसर्थ यसबेला बढी पारिवारिक, भावनात्मक सहयोग, संचार कौशलको विकास, किशोरकिशोरी मानसिक शिक्षा जस्ता अन्य क्रियाकलापको आवश्यकता हुन्छ ।

यो संक्रमणको अवस्था पनि भएकोले सही मार्गदर्शन तथा शिक्षाको अभावमा नकारात्मक सोचका कारण गलत संगतमा फसेर कुलतमा पर्ने र बिजाइँ जस्ता नकारात्मक क्रियाकलापमा संलग्न हुन पुग्छन् ।

किशोरावस्थामा प्रायः बालबालिका स्कुलबाट भाग्ने, सिकाइको समस्या, व्यवहारमा समस्या तथा कानुनको द्वन्द्वमा पर्ने जस्ता समस्या देखाउँछन् ।

एक अध्ययनले कानुनको विवादमा परेका ७० प्रतिशत बालबालिकामा मानसिक समस्या हुने देखाएको छ । विश्वव्यापी रूपमा ७ जनामध्ये १ जनामा, १०–१९ वर्षका बालबालिकाले मानसिक समस्याको अनुभव गर्छन् ।

यसको साथै १० मध्ये ७ कानुनको विवादमा परेका बालबालिकामा मानसिक रोग हुने विभिन्न अध्ययनले देखाएको छ । यद्यपि तिनीहरू धेरै हदसम्म अपरिचित र उपचारविहीन हुन्छन् । यसरी युवा बिजाइँकर्तामा आचरण विकारको व्यापकता अरू सामान्य बालबालिका भन्दा १० गुणा बढी हुने कुरा अध्ययनले पुष्टि गरिसकेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार १४ वर्ष उमेरबाट किशोरकिशोरीले मानसिक समस्या देखाउँछन् । काठमाडौं जिल्ला अदालतमा आउने सबै बालबालिका यही उमेर समूहका हुन् । उनीहरू अभद्र व्यवहार, लागूऔषध, जबरजस्ती करणी र करणी उद्योग, कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग, बालविवाह, चोरी, डकैती, साइबर ब्यूरो, मुद्रा सम्बन्धी कसुर आदि जस्ता मुद्दामा संलग्न भएर अदालत आउँछन् । अन्त्यमा यसरी बिजाइँ र मानसिक अवस्था लेखाजोखा गरिरहँदा बालबालिकाका साना–साना तर फरक व्यवहार पहिचान गर्न जरूरी छ ।

यदि कुनै व्यवहार समस्याग्रस्त देखिएमा हस्तक्षेप गर्नु आवश्यक छ । यसको लागि बालबालिका र परिवारका सदस्यबीच संचार कलाको विकास गराउन जरूरी छ ।

साथै बाल सुधार गृहमा सजाय भुक्तान गरी पुनर्स्थापित हुँदा बालबालिका, परिवार र समाजका अन्य पक्षसँग मनोविमर्श गरी स्थापित गराउँदा पुनः बिजाइँ धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ । यसका लागि समाजमा बिजाइँ तथा मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्नु आवश्यक छ ।

बाल बिजाइँ रोकथाम तथा न्यूनीकरण गर्न परिवार, समाज तथा राज्यका सरोकार पक्षले एकआपसमा हातेमालो गर्दै अगाडि बढेमा एक स्वस्थ र अपराधरहित समाज निर्माण गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?