+
+

सिण्डिकेट जोगाउने माग राख्दै सेयर ब्रोकरको ज्ञापनपत्र !

खुला बजारको सिद्धान्तको नारा दिएर संख्या मात्रै थप्न खोजेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १६:२४

२७ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले अगाडि लाइन्सेसमा कोटा प्रणाली खारेज गर्ने प्रस्तावमााथि सारेको दलाल व्यवसायी (सेयर ब्रोकर)ले विरोध जनाएका छन् । सोमबार धितोपत्र दलाल व्यवसायीहरुको संस्था संस्था नेपाल ब्रोकर एसोसिएसनले बोर्डलाई ज्ञापन पत्र बुझाउँदै ‘ओपन एक्जिट, ओपन इन्ट्री’को व्यवस्थाको विरोध गरेका हुन् ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ संशोधन गर्ने निर्णय गरी संसोधन प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरेको थियो । बोर्डको संशोधन प्रस्तावमा ब्रोकरको चुक्ता पूँजी वृद्धि गर्दै लाइन्सेसको कोटा प्रणाली खोरज गर्ने र लाइसेन्स खुला राख्ने प्रस्ताव गरेको थियो ।

दलाल व्यवसायीले भने अध्ययनविना नै धितोपत्र दलाल व्यवसायीलाई झुटो आरोप लगाएर अन्य वित्तीय क्षेत्रका नियमकले समेत नगरेको खुला बजारको सिद्धान्तको नारा दिएर संख्या मात्र थप्न खोज्नु असल नियमनको सिद्धान्त विपरीतको कार्य भएको बताएका छन् ।

‘हामी व्यवसायीले बजार तथा सेवाको विस्तारका लागि गरेका बहुसंख्यक अनुरोधहरुलाई नियामकबाट नै बेवास्ता गरिएको, यस्तो बिस्तारका लागि नियामकबाट आजसम्म कुनै पनि निति निर्देशन जारि नभएको, व्यवसायीबाट के कति कारणले विस्तार सम्भव नभएको भनि एउटा पनि अध्ययन नियामकले गराएको छैन, ।’ ब्रोकर एसोसिएसनले बोर्डमा पठाएको ज्ञापन पत्रमा भनिएको छ, ‘नियामकले नै व्यवसायीहरु माथि झुठो आरोप लगाइ अन्य कुनै पनि वित्तीय क्षेत्रका नियामकहरुले जोखिम हुने ठानी अवलम्बन नगरिएको खुला बजारको सिद्धान्तको नारा दिइ संख्या मात्र थप्न खोज्नु असल नियमनको सिद्धान्त विपरीतको कार्य हो ।’

बोर्डले ब्रोकरको चुक्ता पूँजी वृद्धि गर्दै लाइसेन्स खुला राख्ने प्रस्ताव गरेको थियो । तर, एसोसिएसनले भने पूँजी वृद्धि भन्दा पनि लाइसेन्सको कोटा हटाएर खुला राख्ने नीतिको आलोचना गरेको छन् ।

बोर्डले सीमित कारोबार गर्ने ब्रोकरलाई २० करोड र पुर्ण कारोबार गर्ने ब्रोकरको लागि ६० करोड तथा धितोपत्र व्यापारीको लागि १ अर्ब ५० करोड पूँजी प्रस्ताव गरेको छ । नेप्सेले विभिन समयमा गरेको अध्ययनले पनि ब्रोकरको वर्गीकरण गर्दै पूँजी बढाउन प्रस्ताव गरेको थियो ।

ब्रोकर एसोसिएसनले पूँजी वृद्धिको पनि विरोध गरेको छ । ‘नेपाल जस्तो सानो अर्थतन्त्र भएको विकासशील देशमा विश्वका अतिविकसित देशहरुको भन्दा पनि धितोपत्र दलाल व्यवसाय मात्र गर्न व्यव्सायीको पूँजी कयौं गुणाले उच्च राख्न लगाउनु भनेको नियामकले सुक्ष्म अध्ययन बिनानै हचुवाको भरमा अल्पदृष्टि राखेर निर्णय गरेको कुरा प्रष्ट हुन्छ,’ ज्ञापन पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?