+
+

उपेन्द्रको चुनौती : बाबुरामले बहुमत देखाए अध्यक्ष छाडिदिन्छु

‘मेरो विरुद्धमा हस्ताक्षर गराउनुभयो । त्यो हस्ताक्षर यहाँ ल्याएर बैठकमा पेश गर्नुपर्थ्यो। बहुमत देखाउन सकेको भए म अध्यक्ष छोडिहाल्थेँ’ वीरगञ्जमा बुधबार केन्द्रीय समिति बैठकमा उपेन्द्र यादवले भने ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते २०:२४

२८ असार, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीमा बहुमत देखाउन चुनौती दिएका छन् ।

वीरगञ्जमा आयोजित केन्द्रीय समितिको बैठकको उदघाटन सत्रमा बुधबार उनले बहुमत देखाए अध्यक्ष पद नै छाडिदिने बताए ।

‘मेरो विरुद्धमा हस्ताक्षर गराउनुभयो । त्यो हस्ताक्षर यहाँ ल्याएर बैठकमा पेश गर्नुपथ्र्यो । बहुमत देखाउन सकेको भए म अध्यक्ष छोडिहाल्थेँ’, उनले भने ‘डाक्टर जडीबुटीको वैद्यखानातिर हस्ताक्षर बोकेर भाग्नुभएको छ ।’

यादवले भट्टराईमा हस्ताक्षर गर्ने बानी नै परेको टिप्पणी गरे । ‘माओवादीमा हुँदाखेरि पनि प्रचण्डजीलाई हटाएर आफू अध्यक्ष हुन हस्ताक्षर गराउनुभएको थियो । हस्ताक्षर बुझाउन बैठक बस्यो । १८ जना हस्ताक्षरकर्ताले उनकै विरोध गरे । त्यसपछि बाबुरामजी उठेर हिँड्नुभयो, माओवादी पनि छोडेर हिँड्नुभयो । यहाँ पनि त्यस्तै भयो’, अध्यक्ष यादवले भने ।

उनले मन्त्री हेरफेरमा आफूले एकल निर्णय नगरेको पनि जिकिर गरे । ‘कार्यकारिणी समितिपछि संसदीय दलको बैठक बस्यो, सरकारमा हेरफेर गर्ने कार्यकारिणीको निर्णयलाई संसदीय दलले अनुमोदन गर्‍यो र सरकारमा हेरफेर भयो’ उनले भने ‘डा. साहेबले एक्लै निर्णय गर्‍यो भनेर हल्ला गरेको गरेकै छन् । यो अत्यन्त झुठो र भ्रममा पार्ने कार्य हो ।’

संघीय परिषद अध्यक्ष डा. भट्टराईको मानसिकता गडबड भएको आरोप पनि उनले लगाए । ‘किन जानुभयो डाक्टर भन्ने लाग्यो । डाक्टर साहेबको मानसिकता अलिकति गडबड भएको जस्तो लाग्यो’ यादवले भने ।

यादवले डा. भट्टराई संसदीय दल कब्जा गर्न हिँडेको तर अन्तिममा आफू र महेन्द्र राय यादव गरी दुई जना मात्रै सांसद रहेको टिप्पणी गरे । ‘हिजोको बैठकमा जम्मा २ जना सांसद रहेछन् । एक जना आफू र एक जना महेन्द्र राय । बहुमत कार्यकारिणी सदस्य यतै छन् । ६ जना कार्यकारिणी लिएर बसेका छन् । जसपाको दुई तिहाई बहुमत केन्द्रीय समितिका सदस्यहरु यहाँ उपस्थित हुनुहुन्छ । अब डाक्टर साहेबले के गर्ने ?’

डा. भट्टराईले उपराष्ट्रपति निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेर पूर्व माओवादी एक हुनुपर्ने भनेको बेलुका माधव नेपालसँग समाजवादी केन्द्र खोल्ने प्रस्ताव गरेको यादवले बताए ।

त्यस्तै भोलिपल्ट बिहान केपी ओलीसँग गएर गठबन्धन फुटाएर नयाँ गठबन्धन सरकार बनाउने प्रस्ताव लगेको र त्यसपछि एउटा शक्ति केन्द्रमा गएर लोसपा र आफ्नो एकता गराइदिनुपर्छ भनेर गुहार मागेको यादवले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?