+
+

त्रिविमा हुबहु प्रश्नपत्र दोहोरिने नयाँ रोग !

नुनुता राई नुनुता राई
२०७९ असार ३० गते ९:०८

३० असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा पछिल्लो एक महिनामा चार वटा चरम लापरबाही देखिएको छ, त्यो पनि परीक्षा जस्तो संवेदनशील बिषयमा ।

अर्थशास्त्र विभागले जेठ १८ गते संचालन गरेको स्नात्तकोत्तर तह तेस्रो सेमेष्टरको पब्लिक इकोनोमिक्स र मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तरगत डिन कार्यालयले २३ जेठमा सञ्चालन गरेको स्नातकोत्तर तह राजनीतिशास्त्रको पहिलो सेमेष्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिल्यो ।

त्यस्तै, असार २५ गते व्यवस्थापन संकायले सञ्चालन गरेको बीबीए छैटौं सेमेष्टरको नेप्लिज सोसाईटी एन्ड पोलिटिक्स विषयको परीक्षामा समाजशास्त्रको पाँचौं सेमेष्टरको प्रश्नपत्र बाँडेको पाइयो । त्यसअघि २२ असारमा संचालित बीबीए छैटौं सेमेष्टरको ‘एमजीटी २०३ः अर्गनाईजेसन बिहेभियर’ को परिक्षामा मोर्डन नेपाल कलेजको ‘प्रिबोर्ड’ परीक्षाको प्रश्नपत्र बाँडेको पाइएको थियो ।

यी घट्नाले त्रिविका संकाय र विभागहरूको परीक्षाको विश्वसनीयता गम्भीर प्रश्न उठेको शिक्षा क्षेत्रका विज्ञहरू बताउँछन् ।

बीबीए छैटौं सेमेष्टरको परीक्षा दिएकी लता माश्के उस्तै खाले लापरबाही दोहोरिनुले परीक्षा प्रणाली नै शंकामा परेको बताउँछिन् । ‘त्रिविमा अनेक समस्या छन्, पढाइ र परिक्षा प्रणालीमा विश्वास थियो’, उनले भनिन्, ‘तर, एक महिनामा भएका घटनाले बडा ‘कन्फ्युज’ बनायो । यसले त्रिविको शैक्षिक गुणस्तर र नतिजामाथि पनि शंका उठाउने भयो ।’

चर्को विरोध पछि अहिले  प्रश्नपत्र दोहोरिएको विषयमा छानबिन गर्न समिति गठन भएर काम सुरु भएको छ । त्रिविका शिक्षाध्यक्ष डा. शिवलाल भुसालले सम्बन्धित शिक्षकहरुले तयार पारेको नयाँ प्रश्नपत्र छपाइमा पठाउँदा झुक्किएर अघिल्लो वर्षको परेको बताए । उनले भने, ‘हामीले यसलाई गम्भीर रुपमा लिएर मिहिन तरिकाले छानबिन गरिरहेका छौं ।’

त्यस्तै, मानविकी तथा सामाजिक विज्ञान संकायका डिन प्रा.डा. कुसुम शाक्य यो विषयमा केन्दि्रय परीक्षा समितिले छानबिन गरिरहेको बताउँदै पन्छिइन् । उनले भनिन्, ‘अहिले छानबिन कहाँ पुग्यो, मलाई थाह भएन ।’

त्रिविमा नयाँ रोग थपियो

त्रिविमा बारम्बार प्रश्नपत्र दोहोरिने रोग थपिएको प्राध्यापकहरू बताउँछन् । त्रिवि सुध्रिने भन्दा झन बिग्रिने बाटोमा गएको उनीहरुको भनाइ छ ।

त्रिविमा प्रश्नपत्र दोहोरिने नयाँ रोग थपिएको बताउछन् अर्थशास्त्र केन्द्रीय विभागमा सह–प्राध्यापक डा. रेशम थापा ।

‘प्रश्नपत्र तयारी र छपाइमा यो स्तरको लापरबाही पहिले धेरै कम देखिन्थ्यो–सुनिन्थ्यो । एमए अर्थशास्त्र अन्तर्गत सार्वजनिक अर्थशास्त्रको अन्तिम परीक्षाको प्रश्नपत्र हु–बहु अघिल्लो वर्षको दोहोरिएको थियो,’ उनी भन्छन्, ‘यो हाम्रो लागि लाजमर्दो परिस्थिति हो ।’

निजी, सामुदायिक र सरकारी गरेर त्रिवि अन्तर्गतका २५ भन्दा बढी क्याम्पसमा एमए स्तरको पठन–पाठन हुन्छ । त्रिविको संरचनामा केन्द्रीय विभागको हैसियतमा अर्थशास्त्र केन्द्रीय विभाग पाठ्यक्रम, प्रश्नपत्र निर्माण र गुणस्तर निर्धारणमा जिम्मेवार हुन्छ । जसको नेतृत्व विभागीय प्रमुखले गर्दछ । गत वर्ष एमएस्सी भौतिकशास्त्रको एउटा विषयमा यहि प्रकृतिको समस्या आएको थियो । सर्वोच्च अदालतमा पुगेको मुद्दाको किनारा अझसम्म पनि नलागेकोले उक्त विषयको यो वर्षको परीक्षा पनि हुने नहुने अनिश्चित छ । उनकाअनुसार अर्थशास्त्र केन्द्रीय विभागले करिब १० वर्ष अघि १० वटा प्रश्न पत्रको सोधिनु पर्नेमा ९ वटा मात्र प्रश्न सोधिएकोले तत्कालीन विभागीय प्रमुखलाई त्रिविले जिम्मेवारीबाट फिर्ता बोलाएको थियो । त्यसैले उनी भन्छन्, ‘पुरानो रोग बल्झेको भनौ वा नयाँ रोग लागेको, रोग त रोग नै हो ।’

त्रिविकै प्रश्नपत्र पुराका पुरा दोहोरिँदा र निजी क्याम्पसको प्रश्नपत्र पनि त्रिविको परीक्षा हलमा घुसेको घट्ना छानबिन गर्ने जिम्मेवारी सम्बन्धित डीन कार्यालय अथवा विभागलाई नै दिएकाले वास्तविकता बाहिर आउने सम्भावना कम देख्छन् ‘इन्टरनेशनल पोलिटिक्स’ दिएका एक विद्यार्थी । ‘सबभन्दा आपत्तिजनक त त्रिविका सम्बन्धित अधिकारीहरूले यस्तो गम्भीर घट्नालाई सामान्य रुपमा लिएका छन्’ उनी भन्छन्, ‘कारबाहीमा जो पर्ने हो उसैलाई छानबिनको जिम्मेवारी दिएपछि के हुन्छ ?’

प्रश्नपत्र दोहोरिएपछि त्रिविको केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारीले नै बनाएको प्रश्नपत्र दोहोरिएको विषयमा अनलाइनखबरले राखेको जिज्ञासा अधिकारीले भने, ‘प्रश्नपत्र दोहोरिनु हुँदैन भनेर कतै उल्लेख नभएकोले कानुनी समस्या हुँदैन ।’

समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक गुमानसिं खत्री प्रश्नपत्र दोहोरिनु वा निजी कलेजको हुबहु प्रश्न सोधिनुलाई सामान्य लापरबाही अथवा मानवीय त्रुटिको रुपमा लिन नसकिने बताउँछन् ।

‘यस्तो गम्भीर घट्ना पनि एक पटक होइन, पटक-पटक भइरहेको छ । अर्को कलेजको प्रश्न त्रिविमा सोधिनुले प्रश्नपत्र निर्माणको गोपनीयतामाथि नै गम्भीर प्रश्न उठाएको छ’, उनी भन्छन्, ‘यसलाई सामान्य समस्या भनेर ढाकछोप गर्नु त शैक्षिक अपराध नै हो ।’

व्यवस्थापन संकायको डीन कार्यलयले निजी कलेजको प्रश्नपत्र ल्याउने काममा संलग्नलाई विभागीय कारबाही गरेको सूचना टाँसेको छ । तर, संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले अनलाईनखबरसंग भने, ‘छानबिन भइरहेको छ, कारबाही गर्ने कुरा तथ्य आएपछि हुन्छ ।’

प्रश्नपत्र दोहोरिनु सामान्य हो ?

पटक-पटक प्रश्नपत्र दोहोरिनु वा निजी कलेजको प्रश्न सोधिनुमा त्रिविका सम्बन्धित विभाग र शिक्षकहरुको लापरबाही मुख्य कारण देखिन्छ । तर, नीजि क्याम्पसको प्रश्न हुबहु उतार्ने शिक्षकलाई बाहेक अरुलाई कारबाही भएको छैन ।

यसअघि अर्थशास्त्र विभाग प्रमुख प्रा.डा. शिवराज अधिकारीले ‘प्रश्नपत्र दोहोरिनु हुँदैन भनेर कतै उल्लेख नभएकोले यो कानुनी समस्या नभएको’ बताएकोमा बिभागका अर्का एक प्राध्यापकले आपत्ति जनाए ।

‘कानुनी समस्या नभएपनि विभागीय प्रमुख र शिक्षकको योग्यता र नैतिक आचरणको प्रश्न त होला नि’, ती प्राध्यापक भन्छन्, ‘योग्यता र नैतिकताको प्रश्नमा लाज पचाउने कुरो त होइन होला नि !’

नाम उल्लेख गर्न नचाहने ती प्राध्यापक राजनीतिक नियुक्तिले सिंगो त्रिविलाई नै ‘लाज पचुवा’ बनाइसकेको बताउँछन् ।

‘यहाँका शिक्षकदेखि विद्यार्थीसम्म कुनै कुकर्मको विरोध गर्नलाई पनि को-को, कुन पक्षको भनेर हेर्छन्’, उनी भन्छन्, ‘सही वा गलतभन्दा पनि फलाना डीन वा विभागीय प्रमुखले राजीनामा दिए आफूलाई हुने फाईदा वा बेफाइदाको हिसाब गरेर मात्र विषय उठाउँछन् वा लुकाउन उद्धत हुन्छन् ।’

यस विषयमा नेविसंघ, अखिल क्रान्तीकारीले छानबिन गरी संलग्नलाई कारबाही गर्न माग गर्दै विज्ञप्ति जारी गरेका छन् । मंगलबारदेखि उपकुलपति कार्यलय अगाडि एकीकृत समाजवादी निकट अनेरास्ववियूले विभिन्न माग राख्दै आमरण अनसन सुरु गरेको छन् । ती मागहरूमध्ये एउटा बुँदामा प्रश्नपत्र दोहोर्‍याउने कार्यमा संलग्नलाई कारबाहीको माग राखेका छन् ।

 

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?