+
+

प्रधानमन्त्री भन्छन् : हतियार किन्ने निर्णय भएको छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १७:३५

३० असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले हतियार किन्ने निर्णय नगरेको बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरुले देशमा डलरको सञ्चिती घटेर अर्थतन्त्र धरासयी बनिरहेका बेला नेपाल प्रहरीका लागि डलर खर्च गरेर हतियार किन्न लागेको भन्दै सरकारमाथि प्रश्न उठाएका थिए ।

बैठकमा अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठले यसबारेमा कुरा उठाएका थिए ।

श्रेष्ठले हतियार किन्न लागेको हो भने सरकारले रोक्नु पर्ने भनेपछि देउवाले उनलाई रोकेर भने, ‘हतियार किन्ने कुरा कहाँ छ ? हतियार किन्ने कुरा सरकारले गरेको छैन ।’

‘सभापतिले हतियार किन्ने कुनै योजना छैन, अहिले हतियार किनिँदैन भन्नुभयो,’ बैठकमा सहभागी केन्द्रीय सदस्य रामहरि खतिवडाले भने ।

विदेशी मुद्रा सञ्चितिका घटेका कारण अर्थतन्त्र धरासायी बन्ने भन्दै आयातमा कडाइ गरिरहेका बेला सरकारले नेपाल प्रहरीका लागि ८४ करोड रुपैयाँ बराबरको हतियार तथा भिड नियन्त्रण सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।

नेपाल प्रहरीले सात वर्ष अघिदेखि हतियार खरिद नभएको भन्दै एक अर्ब ३५ करोड रुपैयाँ बराबरको हतियार तथा गोलीगठ्ठा खरिद गर्ने प्रस्ताव गरेको थियो । तर सरकारले यो आर्थिक वर्षको अन्त्यतिर प्रहरीलाई हतियार खरिदका लागि ८४ करोड रुपैयाँ रकमान्तर गरिदिएको छ । जसका कारण सरकारको आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?