+
+

उपेन्द्र यादव भन्छन्- एक दुईटा बोक्रा झर्दैमा रुख त लड्दैन

सुरेश बिडारी सुरेश बिडारी
२०७९ असार ३१ गते १३:३३

३१ असार, वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसहितका केही नेतालाई पार्टीबाट निष्काशन गरेका अध्यक्ष उपेन्द्र यादवले रुखबाट एक दुईवटा बोक्रा झर्दैमा रुख नलड्ने बताएका छन् ।

वीरगञ्जमा बसेको केन्द्रिय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेका प्रश्नको उत्तर दिँदै यादवले भने, ‘कुनै रुखमा एक दुईवटा बोक्रा झर्दैमा रुख त लड्दैन नि, एकदुई जना चोइटिएर जाँदैमा केहि अर्थ राख्दैन । वीरगञ्जमा के अर्थ राख्छ र ?’

उनले डा. भट्टराई लगायत नेतामाथि विधानको प्रक्रिया अनुसार कारबाही अघि बढ्ने जानकारी दिए ।

‘उहाँले (डाक्टर बाबुराम भट्टराई) पार्टी विभाजन गर्नेगरि जुन षडयन्त्र गर्नुभयो । पार्टीको विधान अनुशासन, राजनीतिक संस्कृति र पार्टी हित विपरीत कार्य गरेको ठहर गर्दै सम्पूर्ण पद र जिम्मेवारीबाट मुक्त गरिएको छ । अरु कुरा उहाँको गतिविधि र विधानको व्यवस्था अनुसार अघि बढ्छ,’ यादवले भने, ‘सच्चिनुभयो भने बेग्लै कुरा हो, त्यहि दिशामा अघि बढेर अर्को पार्टी खोल्न लागिसक्नुभयो, अर्को पार्टी खोल्नुभयो भने त कति वटा पार्टीमा सदस्य रहनुहुन्छ त उहाँ ?’

बाबुराम भट्टराईले पार्टी जातीय र क्षेत्रीय भयो भनेर गलत भ्रम छरेको अरोप उनले लगाए ।

यादवले नेतृ रेणु यादवले भने पार्टी नछोडेको बताए । भने, ‘जहाँसम्म रेणु मेडमको कुरा छ । रेणु मेडमले पार्टी छोड्नुभएको छैन । एकछिनको यसो आक्रोश भडासहरु निकाल्ने गर्नुहुन्छ उहाँले त्यहि हो ।’

स्थापनादेखि अहिलेसम्म ६७/६८ पटक कम्युनिष्ट पार्टी फुटेको तर जसपामा तीन चार चोटी आउने जाने क्रम देखिएको बताउँदै उनले यसबाट झनै पार्टी निर्माण हुँदै अघि बढ्दै गएको दावी गरे ।

यादवले आफूले मधेसीको एजेण्डालाई नभुलेको दाबी पनि गरे । ‘मधेसी, जनजातिको मुद्दा, पहिचानको मुद्दा उठाए, त्यसैले बाबुरामले भनेपछि अरुले भनिरहनुपर्छ र ?’ उनले भने ।

बैठक ऐतिहासिक भएको राईको दाबी

बैठकबाट संघीय परिषद अध्यक्षको जिम्मेवारी पाएका अशोक राईले यो बैठक ऐतिहासिक बन्न पुगेको बताए ।

‘पार्टी विभाजन गर्नेहरुलाई एउटा किनारामा छाडेर मुल प्रवाह अघि बढ्छ, जनता समाजवादी पार्टीको घोषित लक्ष्य, उद्देश्यमा संगठनात्मक, राजनीतिक रुपले आन्दोलनका हिसाबले कतै आँच नआउनेगरि, क्षति नपुग्नेगरि पार्टी अघि बढ्छ,’ उनले भने, ‘त्यसका निम्ति राजनीतिक, नीतिगत र संगठनात्मक रुपले अघि बढ्ने निर्णय गरेको छ । त्यसलाई देशैभरी कार्यान्वयन गर्ने र पार्टीलाई एउटा नयाँ उचाई दिलाउनेछ ।’

वीरगञ्जमा दुई दिन चलेको केन्द्रिय समिति बैठकमा ४८९ केन्द्रिय सदस्य मध्ये ३०७ जना सहभागी भएको दावी कार्यकारीणी समिति सदस्य एवं केन्द्रिय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

बैठकमा स्थानीय निर्वाचनको समीक्षा प्रतिवेदनमा छलफल गर्नुको साथै संसदीय बोर्ड गठन गर्ने, आगामी निर्वाचनको तयारीका लागि अभियान सञ्चालन गर्ने, केन्द्रिय समिति र कार्यकारिणी समिति पुनर्गठनलगायतका निर्णय भएको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?