+
+

गुरुपूर्णिमाको दिन

यदि ध्यान दिएर हेर्ने हो भने हाम्रो गुण, क्षमता हाम्रा गुरुहरूको नै आशीर्वाद हो। अपूर्णता र कमजोरी मात्र हाम्रा हुन्। आखिर हामी जन्मँदा खाली न जन्मेका थियौं।

विवेक आचार्य विवेक आचार्य
२०७९ साउन २ गते ९:५२

गुरुपूर्णिमा भर्खरै मनायौं। यो पर्व मनाउँदै गर्दा मेरो मानसपटलमा दुईचारवटा कुराहरु खेलिरहे।

गुरुपूर्णिमा आउँदा सबैको सोसल मिडियाहरुमा सबैतिर एउटा संस्कृतको श्लोक देख्न पाइन्छ। त्यस श्लोक अनुसार गुरुलाई ब्रह्मा, विष्णु, महेश्वरको दर्जामा राखिएको छ। हुन त गुरु पनि मान्छे नै हो तर हाम्रो संस्कृति, धर्मले गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको स्थानमा राखेको रहेछ।

पहिला दिमागले केही जानकारी सङ्कलन गर्नुपर्यो र त्यसपछि ती जानकारीहरुका आधारमा विचार उत्पन्न हुने हो। मेरामा संकलन हुने जानकारी भुइँकै हुने भएकाले विचारले पनि भुइँ छुन्छन्। मलाई लाग्छ कि एउटा गुरु हुन सबैभन्दा महत्वपूर्ण कुरा अथवा उसमा हुनैपर्ने न्यूनतम आवश्यकता भनेको इमोसनल कोसेन्ट/इमोसनल इन्टलेजेन्स हो।

गुरुले कहिलेकाहीं विद्यार्थीलाई सजाय दिन्छन्। त्यो स्वाभाविक छ तर एउटा विद्यार्थीलाई कान समात्न लगाउँदै गर्दा अथवा पिट्दै गर्दा गुरुले विद्यार्थीलाई दण्ड दिन बाध्य भएको जस्तो हुनुपर्छ वा गुरुले आफ्नो कर्तव्य गरिरहेको जस्तो हुनुपर्छ न कि रिस उठेर। ब्रह्मा, विष्णु र महेश्वरको स्थानमा रहेको गुरुले रिसको आवेगमा कुनै पनि कार्य गर्दैन।

कुनै गुरु भनाउँदाले रिसको आवेशमा विद्यार्थीलाई कुट्छ, सजाय दिन्छ अथवा रिसको आवेशमा केही काम गर्छ भने त्यो गुरु यस महान्, यस पवित्र कार्यमा संलग्न हुने अधिकार राख्दैन। यसको लागि योग्य छैन।

दोस्रो कुरा हाम्रो धर्ममा हाम्रो संस्कृतिमा बाउले छोरीको खुट्टामा ढोग्छन्। दाजुले बहिनीको खुट्टामा ढोग्छन्। हुन त मेरो मान्यता के छ भने गुरु केवल गुरु हुन्छ, ‌केटा गुरु वा केटी गुरु हुँदैन। विद्यार्थी पनि विद्यार्थी मात्रै हो। केटा विद्यार्थी केटी विद्यार्थी भन्ने कुरा हुँदैन। तर पनि गुरुपूर्णिमाको दिन केही छात्राहरु शिक्षकको खुट्टा छोएको, ढोग्न खोजेको देख्दा पाप पो लाग्छ कि भन्ने डर थियो। हातमा ढोग्दा, नमस्कार गर्दा भइहाल्थ्यो।

तेस्रो कुरा हिजो गुरुपूर्णिमा‌लाई टिचर्स डे भन्नेहरु धेरै देखें मैले। बाबुको मुख हेर्ने दिन र फादर्स डे फरक हो। मोदर्स डे र आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी) फरक हो। यस्तै गुरुपूर्णिमा ‌र टिचर्स डे पनि फरक हो। गुरुपूर्णिमा असार शुक्लपूर्णिमाको दिन पर्छ भने टिचर्स डे अक्टोबर ५ मा पर्छ। हाम्रो छिमेकी देश इण्डियामा भने टिचर्स डे सेप्टेम्बर ५ मा मनाइन्छ ।

अब अर्को कुरा, प्रायःजसो मानिसको जीवनमा गुरुको अभाव छ। उनीहरूलाई लाग्छ कि सबै कुरा थाहा छ र त्यसैले थाहा नभएको कुरा कसैले सिकाउन सक्दैन।

त्यसकारण, यदि तपाईंलाई कसैले केही सिकाउन सक्छन् भने, बधाई छ ! जसको जीवनमा गुरु हुनुहुन्छ, उहाँहरू सबलाई बधाई। यदि ध्यान दिएर हेर्ने हो भने हाम्रो गुण, क्षमता हाम्रा गुरुहरूको नै आशीर्वाद हो। अपूर्णता र कमजोरी मात्र हाम्रा हुन्। आखिर हामी जन्मँदा खाली न जन्मेका थियौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?