+
+

हामीले एकदिवसीय मान्यता गुमाउँदैनौं : प्रशिक्षक पुबुदु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १९:३७

३ साउन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत स्कटल्यान्डमा भएको शृंखलामा खराब प्रदर्शनपछि स्वदेश फर्किएका राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले नेपालले एकदिवसीय मान्यता कायम राख्ने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले नेपालले स्कटल्यान्डमा राम्रो प्रदर्शन गर्न नसके पनि नेपाल अझै लिग टुमा शीर्ष तीनको लक्ष्यमा रहेको बताएका छन् । नेपाल शीर्ष तीनमा पर्न नसके पनि शीर्ष ५ भित्र पर्दै एकदिवशीय मान्यता बचाउने उनले विश्वास व्यक्त गरेका छन् ।

‘नेपालले एकदिवशीय मान्यता गुमाउँदैन । यो कुरा म अहिल्यै भन्न सक्छु । नेपालले अझै १६ खेल खेल्न बाँकी छ । हामी शीर्ष ३ मा पर्ने सम्भावना अझै कायमै छ, त्यो नभएको खण्डमा पनि हामी शीर्ष पाँच भित्र पर्नेछौं’, उनले भने ।

नेपाली टोलीमा युवा खेलाडीको वर्चस्व रहेको तथा अनुभवको कमी रहेका कारण नेपालले राम्रो प्रदर्शन गर्न नसकेको उनले बताए । ‘हामीले खेलमा राम्रो गर्न नसक्नुको मुख्य कारण यो टोलीमा युवा ब्याटर धेरै थिए । जसका कारण उनीहरुसँग अनुभवको कमी थियो । कुन समयमा कसरी खेल्ने भन्ने कुरा उनीहरुमा परिपक्वता आउँदै गरेपछि यो समस्या नआउला ।’

उनले टिममा एकता नभएको कारण सिरिजमा राम्रो खेल्न नसकेको आरोपको पनि खण्डन गरेका छन् । हाल टिममा पूर्णत एकता भएको उनले बताएका हुन् । ‘अहिले टिममा पूर्ण रुपमा एकता छ । यसमा प्रश्न गर्ने ठाउँ छैन ।’

त्यस्तै, प्रशिक्षक दासानायकेले क्रिकेट समर्थकले गरेको आफ्नो आलोचना गरेकोमा पनि दुख व्यक्त गरेका छन् । आफू आएको छोटो समय भएको र यो ६ महिनामा आफूले टिमलाई सम्पूर्ण कुराहरुले सहयोग गरेको बताएका छन् । ‘मेरो बारेमा अहिले केही पनि बोल्नु उचित हुन्छ जस्तो मलाई लाग्दैन । मैले नेपाल क्रिकेटलाई आफ्नो सबैथोक दिएको छु । मैले टिममा एक किसिमको प्रणाली बनाएको छु’, उनले दाबी गरे ।

आफू आउँदा टिममा एकताको समस्या भएको तर अहिले टिम ‘वान टिम वान गोल’ को रुपमा अघि बढेको उनले बताए । समर्थकहरु सबैजना दुःखी भएको कारण यस्तो भएको भन्दै प्रशिक्षक दासानायकेले अन्य खेलमा राम्रो गर्ने बताएका छन् ।

प्रदर्शनप्रति सन्दीप पनि असन्तुष्ट

राम्रो रिजल्टको खोजीमा गए पनि राम्रो नतिजा ल्याउन नसक्दा टिमका कप्तान सन्दीप लामिछाने पनि सन्तुष्ट देखिएनन् । उनले टिममा धेरै युवा खेलाडी भएको कारण परिपक्वताको कमी भएको कारण यो समस्या आएको उनले औल्याए ।

‘हामीले रणनीति बनाउँदा राम्रै बनाउँछौं तर मैदानमा गएर खेल्न नसकेको कारण हामीले यो शृंखलामा राम्रो गर्नै सकेनौं’, उनले भने । टिममा राम्रो प्रतिभा भएर पनि अनुभवको कमीका कारण परिस्थिती अनुसार खेल्न नसकेको उनले बताए ।

उनले पनि प्रशिक्षकको रणनीति राम्रो भएको तर मैदानमा गएर खेलाडीले खेल्न नसकेको कुरा स्वीकारेका छन् । ‘प्रशिक्षकको रणनीति राम्रो हुन्छ तर हामीले मैदानमा गएर खेल्न सक्दैनौं । त्यहि नै मुख्य समस्या हो ।’

टिममा धेरै युवा खेलाडी भएको र मानसिक रुपमा अनुभवको कमी भएका कारण यस्तो भएको उनले बताएका छन् । उनले समर्थकको हरेक प्रकारको प्रतिक्रिया स्वीकार गर्नुपर्ने बताएका छन्, ‘हाम्रो राम्रो समयमा ताली आउँछ भने हामीले गाली पनि स्वीकार गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?