+
+

मध्यविन्दु नगरपालिकाले दियो ५ वटा विद्यालयलाई बस

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १५:४९

४ साउन, काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरभित्रका पाँच वटा सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ ।

नगरपालिकाले गत आर्थिक वर्ष तय भएको कार्यक्रम अनुसार नगरभित्रका सामुदायिक विद्यालयहरुलाई शैक्षिक पहुँच, गुणस्तर सुधार गर्न अनुदान सहयोग गरेको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेले नगरभित्रको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयको लागत सहभागितामा बस प्रदान गरिएको जानकारी दिए । विद्यालयलाई बस उपलब्ध गराउन आर्थिक वर्ष २०७८/७९ को बजेटबाट नगरपालिकाले प्रति विद्यालय १८ लाख रुपैयाँ अनुदान दिएको थियो । त्यसमा विद्यालयले पाँच लाख थप गरेर बस खरिद गरिएको उपसचिव टेकप्रसाद पाण्डेले बताए ।

नगरपालिकाले मध्यविन्दु वडा नम्बर ३ मा रहेको जनता मावि, वडा नम्बर ११ मा रहेको वीरेन्द्र मावि, वडा नम्बर १२ मा रहेको यादव मावि, वडा नम्बर १३ मा रहेको सरस्वती मावि र वडा नम्बर १५ मा रहेको ज्ञानोदय माविलाई अनुदानमा बस प्रदान गरेको हो ।

नगरपालिकाभित्र रहेका १३ वटा माध्यामिक विद्यालय मध्ये अब ११ वटा विद्यालयमा बस सेवा पुगेको उनले बताए । बाँकी दुई वटा विद्यालय भने ग्रामीण क्षेत्रमा रहेकाले बस सञ्चालनका लागि बाटो नै नभएको पाण्डेले बताए ।

आर्थिक वर्ष २०७६÷७७ मा एउटा विद्यालयलाई आर्थिक वर्ष २०७७/७८ मा चार वटा विद्यालयलाई र आर्थिक वर्ष २०७८/७९ मा पाँच वटा विद्यालयलाई बस सेवाको लागि अनुदान दिएको उनले बताए । त्यस्तैगरी सामुदायिक वन उपभोक्ता समितिले एउटा विद्यालयलाई बस सहयोग गरेको छ ।

विद्यालयले बस सेवा दिन थालेपछि विद्यार्थीको भर्ना बढ्न थालेको उपसचिव पाण्डेले बताए । उनले भने ‘बस सुविधाले सामुदायिक विद्यालयमा विद्यार्थीको भर्ना बढेको छ । शैक्षिक गुणस्तर प्रभावकारिता भने कोभिडको कारणले देखिएको छैन । अब अर्को वर्ष मूल्यांकन हुन्छ ।’ बस सेवाले टाढाबाट आउने विद्यार्थीहरुलाई सहज बनाएको उनको भनाइ छ ।

त्यसैैगरी नगरपालिकाले छात्राहरुको सुविधका लागि चालु आर्थिक वर्षदेखि प्याड वितरण गरेको छ । यो आर्थिक वर्षमा १५ लाख ४९ हजार ७२६ रुपैयाँ बराबरको प्याड वितरण गरेको छ । महिनावारीको बेला प्याड अभावले छात्राहरुलाई समस्या हुन सक्ने, विद्यालय नै छुटाउन सक्ने सम्भावना भएकाले चालु आर्थिक वर्षदेखि प्याड वितरण गर्न थालिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?