+
+

एमालेको असफल राजनीतिक सिलसिला

चारैतिरबाट घेराबन्दीमा परेर शृफ्लाबद्ध रूपमा पराजित भइरहँदा पनि एमाले नेतृत्वमा न पछुतो देखिन्छ, न चिन्ता र अफशोच नै । न पार्टी पराजयको गम्भीर समीक्षा गर्न सकेको छ न पुनरुत्थानको कुनै उचित योजना नै । न त घेराबन्दीबाट उम्किने कुनै विशेष पहल र प्रयास नै ।

हरि ज्ञवाली हरि ज्ञवाली
२०७९ साउन ८ गते १०:०५

२०७७ सालदेखि शृङ्खलाबद्ध रूपमा राजनीतिक क्षति बेहोर्दै आएको नेकपा एमाले हालै सम्पन्न उपसभामुखको निर्वाचनमा पनि पराजित भयो ।

२०७४ सालको संसदीय र स्थानीय निर्वाचनमा वाम गठबन्धनमार्फत करिब दुई तिहाइ मत प्राप्त गरेको एमाले यतिखेर लगभग सबै तह र निकायमा प्रतिपक्षमा पछारिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा (खासगरी एमाले) पार्टीको आन्तरिक विवाद, अन्तर्द्वन्द्व, शीर्ष नेताहरूका व्यक्तिगत महत्वाकांक्षा र आपसी खिचातानीका कारण प्रतिनिधिसभा भङ्ग गरिएपछि नेकपा एमाले राजनीतिक रूपमा निरन्तर ओरालो लागेको लाग्यै छ । पार्टीमा उपतीभन्दा झन् खती भएको छ । तथापि एमाले नेतृत्व भने आफ्नै फगत आत्मरतिमा रमाएको देखिन्छ ।

संघ, प्रदेश र स्थानीय तहमा करिब दुई तिहाइको जनमत र विभिन्न संघसंस्थामा वर्चस्व जमाएको एमालेसँग यतिखेर न संघीय सरकार छ न त प्रदेश सरकारहरू नै । न स्थानीय सरकारमा पर्याप्त नेतृत्व छ, न त विभिन्न सामाजिक संघ-संस्थाहरूमा दह्रो पकड नै । चारैतिरबाट घेराबन्दीमा परेर शृफ्लाबद्ध रूपमा पराजित भइरहँदा पनि एमाले नेतृत्वमा न पछुतो देखिन्छ, न चिन्ता र अफशोच नै । न पार्टी पराजयको गम्भीर समीक्षा गर्न सकेको छ न पुनरुत्थानको कुनै उचित योजना नै । न त घेराबन्दीबाट उम्किने कुनै विशेष पहल र प्रयास नै ।

हरि ज्ञवाली

सांगठनिक र सङ्ख्यात्मक रूपमा सबैभन्दा बलियो र शक्तिशाली मानिएको एमाले यतिखेर अरू कसैका कारण नभई आफ्नै कमजोरीका कारण चारैतिरबाट घेराबन्दीमा परेकोे छ र निरन्तर पराजयको शृङ्खला बेहोर्दैछ ।

जताततै हार र पराजय मात्रै

२०७४ सालको संघ, प्रदेश र स्थानीय निर्वाचनपछि लगभग सबै तहमा एमालेले करिब दुई तिहाइ जनमतको नेतृत्व गरेको थियो । तर, २०७५ सालमा नेकपा माओवादी केन्ऽसँग एकीकरण गरेर विशाल पार्टी बनाएको एमाले चार वर्षको अवधिमा जताततै हार र पराजय मात्रै भोग्न बाध्य छ । केही उदाहरण यस्ता छन् :

पत्रकार महासंघको निर्वाचनमा पराजय

नेकपाभित्रको आन्तरिक द्वन्द्व उत्कर्षमा रहेका बेला २०७७ साल पुस ५ गते प्रतिनिधिसभा विघटन गरियो । त्यसलगत्तै २०७७ साल चैत महिनामा नेपाल पत्रकार महासंघको चुनाव भयो । चुनाव केन्ऽ, प्रदेश र शाखाको एकैपटक सम्पन्न भएको थियो ।

उक्त निर्वाचनमा एमाले समर्थित पत्रकारहरू देशैभरि पराजित भए । केन्द्रीय अध्यक्षमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेल पूरै प्यानलसहित निर्वाचित भए भने एमाले समर्थित प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माको सिङ्गो प्यानल पराजित भयो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र माधव-झलनाथ समूह सम्मिलित गठबन्धनले एमालेविरुद्ध मोर्चाबन्दी गर्दा पत्रकार महासंघको निर्वाचनमा एमाले समर्थित प्रेस चौतारीले नराम्रोसँग हार खानुपर्‍यो ।

बार एशोसिएसनमा हार

२०७८ चैतमा कानुन व्यवसायीहरूको छाता संगठन नेपाल वार एशोसिएसनको निर्वाचन सम्पन्न भयो । उक्त निर्वाचनमा पनि एमाले समर्थित कानुन व्यवसायी समूहले नराम्रोसँग हार बेहोर्‍यो ।

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीचको प्रतिस्पर्धामा लोकतान्त्रिक समूहका गोपालकृष्ण घिमिरेको समूह विजयी भयो । एमाले समर्थित प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गरेका विष्णुमणि अधिकारीको समूह पराजित भयो । एमाले विरुद्धमा अन्य राजनीतिक दलको मोर्चाबन्दीका कारण एमालेले यस चुनावमा पनि नराम्रोसँग धक्का खायो ।

इन्जिनियर एशोसिएसनको निर्वाचनमा पनि पराजय

२०७८ साल फागुनमा इन्जिनियरहरूको पेशागत संस्था नेपाल इन्जिनियर एशोसिएसनको निर्वाचन सम्पन्न भयो । उक्त निर्वाचनमा पनि एमाले समर्थित समूह पराजित भयो ।
नेपाल इन्जिनियर एशोसिएसनको अध्यक्ष पदका लागि लोकतान्त्रिक समूहका डा. हरिबहादुर दर्लामी विजयी भए । एमाले समर्थित प्रगतिशील समूहका डा.सुरज लामिछाने पराजित भए ।

राष्ट्रिय सभा निर्वाचनमा ठूलो क्षति

२०७८ साल माघमा सम्पन्न राष्ट्रिय सभामा १९ सिटका लागि भएको चुनावमा लगभग सबै पद एमालेले गुमायो । चुनावमा सत्ता गठबन्धनका पाँच दलले संयुक्त रूपमा उम्मेदवारी दिएकोमा गठबन्धनका १८ जना राष्ट्रिय सभामा निर्वाचित भए तर नेकपा एमालेका एक जना मात्रै । कार्यकाल सकिनेमध्ये एमालेका ८ जना सांसद थिए । यो निर्वाचन एमालेका लागि ठूलो क्षति थियो ।

राष्ट्रियसभा उपनिर्वाचनमा ठूलै पराजय

२०७८ साल जेठमा सम्पन्न राष्ट्रिय सभाको उपनिर्वाचन एमालेका लागि ठूलै झट्का भयो । एमालेले राष्ट्रिय सभाका दुई सिट पनि गुमायो । बागमती र लुम्बिनी प्रदेशअन्तर्गत भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा आफ्नो बहुमतका बाबजुद पनि एमालेले जित हासिल गर्न सकेन ।

बागमती प्रदेशमा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा बादलका विरुद्ध विपक्षी गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटालाई एमालेबाटै प्रतिनिधित्व गरेका जनप्रतिनिधिहरूले जिताए । नेतृत्वले असन्तुष्टहरूलाई न कारबाही गर्ने क्षमता राख्यो न त समेट्ने प्रयास नै ।

त्यस्तै लुम्बिनीमा पनि एमालेका आधिकारिक उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे विजयी बने । जो एमालेबाट राजीनामा दिएर गठबन्धनबाट उम्मेदवार बनेका थिए ।

सबै प्रदेशका सरकार खोसिए

एमाले विरुद्धको मोर्चाबन्दी बलियो बन्दै जाँदा कांग्रेस-माओवादी सहितको पाँचदलीय गठबन्धनका कारण एमालेले प्रदेशमा आफ्नो नेतृत्वका सबै चारवटा सरकारहरू गुमायो । यो घटना पनि एमालेका लागि अत्यन्त दुःखदायी घटना हो ।

एमालेको सूर्य चिह्ननबाट निर्वाचित सांसदहरू नै सरकार गिराउने अभियानमा संलग्न भए । एमालेलेे यतिखेर पनि असन्तुष्टहरूलाई न समेट्ने प्रयास गर्‍यो न त कारबाही गर्ने हिम्मत नै ।

स्थानीय निर्वाचन एमालेका लागि ठूलै झट्का

२०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन नेकपा एमालेका लागि ठूलै झट्का सावित भयो । २०७४ सालमा स्थानीय तहमा कुल ७५३ स्थानीय तहमध्ये २९४ पालिकाको नेतृत्व जित हात पार्दा २०७९ को निर्वाचनमा नेकपा एमाले जम्मा २०६ मा सीमित भएको छ । गत निर्वाचनमा ४० प्रतिशत स्थानीय प्रतिनिधिहरू जितेको एमाले यसपटक ३३ प्रतिशतमा खुम्चिएको छ ।

विगतमा एक ढिक्का रहेको एमालेमा पार्टी विभाजनपश्चात् पनि आफ्नै पार्टीभित्रै घात-अन्तर्घात बढ्दै जाँदा स्थानीय निर्वाचनमा एमालेले ठूलै हार बेहोर्नुपर्‍यो । उक्त पराजयको निर्मम र वस्तुगत समीक्षा एमालेले अझै गर्न सकेको देखिंदैन ।

न चिन्ता, न पछुतो ; न समीक्षा, न त कार्ययोजना नै

नेकपा एमाले कुनै बेला अत्यन्तै शक्तिशाली पार्टी थियो । संगठनात्मक र सङ्ख्यात्मक हिसाबले अहिले पनि नेकपा एमाले नै नेपालको सबैभन्दा शक्तिशाली र बलियो दाबी गरिन्छ । तर परिणाम भने सधैं अनपेक्षित र निराशाजनक मात्र छन् ।

२०४६ सालदेखि हालसम्मको अवधिमा नेकपा एमालेले पटक-पटक सरकारमा सहभागी हुँदै ६ पटक सरकारको नेतृत्व नै गरिसकेको छ । पाँच वर्षअघि २०७४ सालको निर्वाचनमा दुई तिहाइको नेतृत्व गरेको एमाले पाँच वर्षको अवधिमा संवैधानिक, संस्थागत, सार्वजनिक तहका हरेक निकायमा एकपछि अर्को रूपमा आफ्नो पकड गुमाउँदै रित्तिन थालेको छ ।

नेकपा भंग, पार्टी विभाजन, संघीय सरकार र प्रदेश सरकारबाट बहिर्गमन हुँदै धेरैजसो स्थानीय तह गुमाएर अस्तित्वको निर्णायक डिलमा धकेलिएको छ । एमाले पार्टीको साख यतिखेर नराम्रोसँग गिरेको छ । राजनीतिक रूपमा अन्य पार्टीहरूले भन्दा यतिबेला एमालेले सबैभन्दा ठूलो क्षति बेहोरेको छ ।

उस्तै छ नेतृत्वको कार्यशैली र अभिव्यक्ति

यी तमाम घटनाबाट यतिखेर एमालेले ठूलो पाठ सिक्नुपर्ने हो । चारैतिरबाट घेराबन्दीमा परेका कारणको खोजी गर्नुपर्ने हो । पार्टीभित्रका घात अन्तर्घातबारे निर्मम समीक्षा गर्नुपर्ने हो । पार्टीको आन्तरिक जीवनलाई सुदृढ र एकताबद्ध बनाउँदै आगामी चुनावको तयारी गर्नुपर्ने हो । पार्टी संगठनलाई सुदृढीकरण गर्ने, आन्तरिक जीवनलाई मजबुत बनाउने र अन्तरविरोधलाई समाधान गर्नुपर्ने हो । तर, एमाले यतिखेर कुहिराको कागजस्तै हराउन थालेको छ । निरीह र किंकर्तव्यविमूढ बनिरहेको छ ।

आफू सच्चिने कि घेराबन्दी तोड्ने ?

पार्टी नेताहरूकै एकलकाँटे व्यवहार, प्रवृत्ति र दम्भपूर्ण शैलीले नै एमाले घेराबन्दीमा परेको हो । चुनावमा आफ्नै उम्मेदवार विरुद्धमा घात-अन्तर्घात कुन तहको नेता वा कार्यकर्ताबाट भयो भन्ने अझै खुट्टनि सकेको छैन । कार्यकर्ता उत्साहित र चलायमान हुनसकेका छैनन् ।

कतिपय आफ्नै कारण र कतिपय घेराबन्दीका कारण सबैतिर प्रतिपक्षमा पुगिसक्दा पनि एमाले नेतृत्वको कार्यशैली र अभिव्यक्तिमा भने कुनै परिवर्तन देखिएको छैन । न सत्ताच्युत हुनुपरेकोमा पछुतो देखिन्छ, न त पार्टी विभाजन भएकोमा चिन्ता नै । देशभरको पार्टी संगठनमा ठूलो क्षति पुगेको भए पनि आफ्नो शक्तिप्रतिको फगत दम्भ र कार्यशैली जस्ताको त्यस्तै छ ।

यसर्थ, एमाले नेतृत्व वर्गमा आचरण, व्यवहार, शैलीगत प्रवृत्तिमा परिवर्तन र संगठन सदृढीकरण विना एमालेको राजनीतिक भविष्य अब उज्ज्वल देखिंदैन । आफू सुध्रेर आफू विरुद्धको घेराबन्दी तोड्न नसक्ने हो भने एमालेको असफल राजनीतिक शृङ्खला अझ नबढ्ला भन्न सकिन्न ।

 

लेखकको बारेमा
हरि ज्ञवाली

रुपन्देहीका शैक्षिक अगुवा विभिन्न विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?