+
+

समयमै पानी नपर्दा प्रदेश १, मधेश र बागमतीमा गत वर्षभन्दा कम रोपाइँ 

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते २०:०४
फाइल तस्वीर

१० साउन, काठमाडौं । समयमै पानी नपर्दा तीन वटा प्रदेशमा गत वर्षको भन्दा कम क्षेत्रफलमा रोपाइँ भएको छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन दोस्रो सातासम्म पनि प्रदेश १, मधेश र बागमती प्रदेशमा गत वर्षभन्दा कम रोपाइँ भएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार समीक्षा अवधिमा गतवर्ष भन्दा १३ प्रतिशत कम क्षेत्रफलमा रोपाइँ भएको प्रवक्ता सञ्जेलले जानकारी दिए । गत वर्ष देशभर यस अवधिमा ८८.८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएकोमा अहिले ७५.३ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।

‘गत वर्ष साउन ९ गतेसम्म १२ लाख १७ हजार हेक्टरमा रोपाइँ सकिएकामा यसवर्ष ११ लाख ३२ हजार हेक्टरमा मात्रै रोपाइँ सकिएको छ,’ प्रवक्ता सञ्जेलले भने, ‘रोपाइँ कम हुनुमा बागमती, मधेश र प्रदेश एकमा कम रोपाइँ हुनुले हो ।’

यस वर्ष साउन दोस्रो हप्तासम्म प्रदेश एकमा ७७.९, मधेशमा ६३.२ र बागमतीमा ७६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । गत वर्ष यस अवधिमा ती प्रदेशमा क्रमशः ८०, ८८.१ र ९०.३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो ।

धान खेतीको हब मानिने क्षेत्रमै कम मात्रामा रोपाइँ हुनु चिन्ताको विषय भए पनि पानी पर्ने समय अझै बाँकी रहेकाले ती क्षेत्रमा रोपाइँ हुने मन्त्रालयको विश्वास छ ।

९ साउनसम्म गण्डकी प्रदेशमा ८४.३ प्रतिशत, लुम्बिनीमा ७४.७, कर्णालीमा ७८.३ र सुदूरपसश्चिम प्रदेशमा ९२.८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?