+
+

मध्यराति प्रहरीबाट कुटिए वीरगञ्ज भन्सारका कर्मचारी (भिडियोसहित)

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलका अनुसार उनीहरुले कार्यालय सहयोगी विशुंखेले सोधपुछ गर्न खोज्दा उल्टै लछारपछार र दुव्यर्वहार गरेको पाइएको छ । उनले भने, ‘उहाँले आफ्नो शरीरमा चोट पटक लगेर हात, पिठ्यूँ, गालामा पनि निलो डाम बसेको भन्दै निवेदन दिनु भएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते १८:०६

२४ साउन, काठमाडौं । वीरगञ्ज भन्सार कार्यालय, पर्साका एकजना कर्मचारी गएराति प्रहरीबाटै कुटपिटमा परेका छन् ।

सोमबार मध्यराति साढे ११ बजे ड्यूटीमा रहेका बेला सिभिल प्रहरी हौं भन्दै आएका व्यक्तिले कार्यालय सहयोगी बमबहादुर विशंखेलाई दुर्व्यवहार गरेका हुन् ।

भन्सार कार्यालयका अनुसार हरेक दिन राति १० बजेपछि वीरगञ्ज भन्सारको बेरियर बन्द गरिने गर्छ ।

तर सोमबार बेलुकी निर्धारित समयभन्दा डेढ घन्टा पछाडि चार/पाँच जना आएर वेरियर खोल्न लगाउँदै कार्यालय सहयोगीलाई दुर्व्यवहार गरेका थिए ।

‘मादक पदार्थ सेवन गरेर नेपाली गाडीमा आएका उनीहरुले नेपाल प्रहरीको स्टाफ हुँ भन्दै गाली गरेका थिए’ विशंखे भन्छन्, ‘मैले कार्ड देखाउन भन्दा पनि टेरेनन्, गाडी पनि प्रहरीको थिएन ।’

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलका अनुसार उनीहरुले कार्यालय सहयोगी विशुंखेले सोधपुछ गर्न खोज्दा उल्टै लछारपछार र दुव्यर्वहार गरेको पाइएको छ ।

‘उहाँले आफ्नो शरीरमा चोट पटक लगेर हात, पिठ्यूँ, गालामा पनि निलो डाम बसेको भन्दै निवेदन दिनु भएको छ’ पोखरेलले अनलाइनखबरसँग भने ।

विशंखेले कार्यालयमा निवेदन दिँदै कार्यालयमा रहेका सीसी टीभी फुटेजलाई पनि हेरेर घटनामा संलग्नलाई कानून अनुसार कारबाही गर्न माग गरेका छन् ।

‘निवेदनका आधारमा कर्तव्यपालनको सिलसिलामा ड्यूटीमा रहेका कर्मचारीलाई हातपात गर्नेलाई आवश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सामा लेखी पठाउने निर्णय गरेका छौं’ पोखरेलले भने ।

भन्सारका कर्मचारीहरुका अनुसार सीसी टीभीभन्दा बाहिरको रेञ्जमा लगेर पनि विशंखेमाथि कुटपिट भएको थियो । ‘पछि सशस्त्र प्रहरीले सहयोग नगरेको थियो भने विशंखे झन् गम्भिर घाइते हुने अवस्था थियो’ एक अधिकारी भन्छन् ।

त्यहाँ खटिएका सुरक्षाकर्मीहरुको दाबी अनुसार त्यसरी कर्मचारीलाई  दुर्व्यवहार गर्ने समूह सादा पोशाकमा खटिने प्रहरीका वरिष्ठ सई सागर राणा नेतृत्वको टोली हो ।

तर अनलाइनखबरसँग सम्पर्कमा आएका राणाले आफूले त्यसरी कसैलाई दुर्व्यवहार नगरेको जिकिर गरेका छन् । र, दुर्व्यवहार गरेको भनिएको टोली पनि आफ्नो नभएको दाबी गरेका छन् ।

‘म एकजना फरार प्रतिवादी खोज्ने सिलसिलामा भारत गएको थिएँ, फर्किएर आउँदा सवा ११ जति भएको थियो’ उनले भने, ‘पारि थानेदारलाई भनेर खोलाएको थिएँ, नेपालतिर नखोलेपछि इनरुवा चौकीका सईलाई भनेको थिएँ ।’

जति बेला घटना भयो भनिएको छ, त्यसबेला आफू गाडीभित्रै भएको उनले बताएका छन् । ‘सई सा’बले सुरुमा रिक्वेस्ट गर्दा पनि ती व्यक्तिले नखोलपछि विवाद भएको रहेछ’ उनले भने, ‘मैले स्थानीय प्रहरीसँग सहयोग मात्रै मागेको हुँ, म एक्लै भारत गएको थिएँ ।’

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी रमेश बस्नेतले सामान्य विवाद भएको हुनसक्ने बताए । उनले अनलाइनखबरसँग भने, ‘पत्र पठाउँछु भनेका छन्, आएपछि हेर्छौैं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?