+
+

‘निषेधका प्रयत्न विरुद्ध महिलाले एकैसाथ, सबैभन्दा कट्टर र न्यायोचित प्रतिरोध गर्नुपर्छ’

क्लारा जेट्किन क्लारा जेट्किन
२०७९ साउन २४ गते १६:०६

गडगडाहट तालीको स्वागतसँगै बर्लिनका श्रमिक महिलाकी प्रतिनिधि क्लारा जेट्किनले अन्तर्राष्ट्रिय श्रमिक सम्मेलन पेरिसमा महिलाको कामको सवालमा बोलेकी थिइन् । उक्त व्याख्यानको अधिवक्ता करुणा पराजुलीले गरेको भावानुवाद यहाँ प्रस्तुत गरिएको छ :

महिला कामदारको अवस्था पुरुष कामदारको भन्दा फरक नभएकोले महिला कामदारको मात्र अवस्थाबारे बोल्ने मेरो मनसाय छैन । तर मलाई प्रतिनिधि बनाएर यस सम्मेलनमा पठाउने कमरेडहरूको सहमतिमा महिलाको कामका सामान्य सिद्धान्तहरूको उजागर गर्ने मेरो इच्छा छ । महिलाको कामका सम्बन्धमा उठ्ने प्रश्नहरू आफैंमा धेरै अन्योलपूर्ण छन् । मलाई लाग्छ, यसमा अन्तर्निहित सिद्धान्त पत्ता लगाएर, त्यसलाई स्पष्टता दिनु यो श्रमिक सम्मेलनको महत्वपूर्ण दायित्व हो ।

यो अचम्मको कुरा होइन कि प्रतिक्रियावादी तत्वहरूले महिलाको काम (खासगरी घरबाहिरको काम) का बारेमा प्रतिक्रियावादी विचार राख्ने गर्दछन् । तर, अझ अचम्मको कुरा त यो हो कि समाजवादी शिविरभित्र महिलाको काम समाप्त गरिनुपर्छ भन्ने गलत अवधारणाको सामना गर्नु परिरहेको छ । महिला मुक्तिको प्रश्न, जो अन्तिम विश्लेषणमा महिलाको कामको प्रश्न हो, यो एक आर्थिक प्रश्न हो । तसर्थ यस विषयमा प्रतिक्रियावादी दृष्टिकोण भएकाहरूको भन्दा, समाजवादीहरूसँग माथिल्लो स्तरको ‘आर्थिक समझ’ अपेक्षा गरिएको हुन्छ ।
समाजवादीहरूले अहिलेको आर्थिक विकासका लागि महिलाको काम एक आवश्यकता हो भन्ने बुझ्नु अनिवार्य छ । यो महिलाको कामको स्वाभाविक प्रवृत्ति, प्रत्येक व्यक्तिले समाजलाई दिनुपर्ने कामको घण्टा घटाउने वा समाजको सम्पत्ति वृद्धि गर्नेतर्फ लक्षित हुन्छ । तर यो महिलाको कामले पुरुषको कामसँग प्रतिस्पर्धा गरेर ज्याला घटाउने काम गर्दैन, बरु महिलालाई काममा ल्याएर पूँजीपतिहरूले आफू अनुकूल हुने गरी महिलाको पनि श्रमशोषण गर्छन् र कामबाट उत्पन्न सम्पत्ति अधिग्रहण गर्छन् ।

सबैभन्दा महत्वपूर्ण कुरा त के हो भने, समाजवादीहरूलाई यो थाहा हुनुपर्छ कि सामाजिक दासत्व वा स्वतन्त्रता, आर्थिक निर्भरता वा स्वाधीनतामा आधारित हुन्छ । आफ्नो व्यानरमार्फत सबै मानवीय अनुहारको मुक्तिको पक्षधर भनी दाबी गर्नेहरूले, आर्थिक परनिर्भरतामार्फत राजनीतिक र सामाजिक दासत्वमा राखेर मानवताको आधा हिस्सा (महिला)लाई निन्दा गर्नु वाञ्छनीय हुँदैन ।

जसरी श्रमिकहरू पूँजीपतिको अधीनमा छन्, त्यसरी नै महिलाहरू पुरुषहरूको अधीनस्थ छन् र उनीहरू आर्थिक रूपमा आत्मनिर्भर नभएसम्म यस्तै स्थितिमा रहिरहनेछन् । यदि कसैले महिलालाई स्वतन्त्र मान्छेका रूपमा र समाजमा पुरुषजस्तै समान सदस्यका रूपमा रूपान्तरण गर्न चाहन्छ भने केही थोरै विशेष अवस्थाबाहेक महिलालाई कामबाट वञ्चित वा काममा सीमित गर्न आवश्यक छैन ।

महिला अधिकारको लागि कथित संघर्ष गरिरहेको बुर्जुवा महिला आन्दोलनबाट, सामाजिक समानताका लागि संघर्ष गर्ने श्रमिक महिलाहरूले मुक्ति पाउने आशा नै राख्दैनन् । बुर्जुवा महिला आन्दोलनबाट श्रमिक महिलाले मुक्ति पाउने कुरा, बालुवामा ठड्याएको महल जस्तै हो जसको कुनै वास्तविक आधार हुँदैन । श्रमिक महिलाहरू यस मामलामा पूर्ण विश्वस्त छन् कि, महिला मुक्तिको प्रश्न एक पृथक् प्रश्न नभएर, बृहत् सामाजिक प्रश्नको नै एक हिस्सा हो । समाजको आधारभूत रूपान्तरण विना आजको समाजमा यो प्रश्नको समाधान गर्न सकिंदैन भन्ने कुरा उनीहरूलाई बडो स्पष्टसँग थाहा छ । उनीहरूलाई थाहा छ महिला मुक्तिको सवाल, मेसिन युगबाट जन्मेको आधुनिक समयको बच्चा हो ।

महिला मुक्तिको अर्थ उनीहरूको सामाजिक हैसियतको पूर्ण रूपान्तरण र उनीहरूको आर्थिक भूमिकामा क्रान्ति हो । उत्पादनको पुरानो रूप र कामका अपूर्ण साधनहरूले, महिलाहरूलाई आफ्नै परिवारमा सीमित गरायो र उनीहरूको गतिविधिको दायरा घरभित्र सीमित राख्यो । आफ्नो पारिवारिक परिधिभित्र महिलाहरू असाधारण उत्पादक शक्ति थिए ।

तिनीहरूले लगभग सबै पारिवारिक वस्तुहरू उत्पादन गरे । अघिल्लो सामाजिक व्यवस्थाको उत्पादन र व्यापारलाई हेर्दा, परिवारबाहिर यी वस्तुहरू उत्पादन गर्न असम्भव नै नभए तापनि, यो काम निकै गाह्रो थियो । जबसम्म उत्पादनका यी प्राचीन तरिकाहरू विद्यमान थिए, त्यतिबेलासम्म महिलाहरू आर्थिक रूपमा उत्पादक शक्तिको भूमिकामा थिए ।

आज महिलाको परिवारभित्रको आर्थिक गतिविधिलाई मेसिनको उत्पादनले समाप्त पारेको छ । अविकसित प्रकृतिका औजारमार्फत काम गर्ने साना व्यक्तिगत कारखानाभन्दा सस्तो, छिटो र अधिक मात्रामा सबैखाले वस्तुहरू ठूला उद्योगले उत्पादन गर्न थालेको छ । मेसिनको वर्चस्व भएको, ठूला उद्योगहरूले तयार पारेको अन्तिम उत्पादनको तुलनामा महिलाहरूले प्रायः कच्चा पदार्थकै मूल्य बढी तिर्नुपर्ने अवस्था देखापरेको छ ।

महिलाले यस्ता निषेधका प्रयत्न विरुद्ध आफ्नो सम्पूर्ण शक्ति लगाएर संघर्ष गर्दा सिद्धान्तमा आधारित हुनुपर्छ । निषेधका प्रयत्न विरुद्ध महिलाहरूले एकैसाथ, सबैभन्दा कट्टर र न्यायोचित प्रतिरोध गर्नुपर्छ ।

कच्चा पदार्थको त्यो खरिद मूल्यबाहेक, उनीहरूले थप आफ्नो समय र श्रम लगाउनु परेको छ । फलस्वरूप, परिवारभित्रको उत्पादनशील गतिविधि एकाएक आर्थिक रूपमा अर्थहीन र समय र प्रयासको बर्बादी जस्तो हुन पुगेको छ । यस्तो प्रकारको उत्पादनमा संलग्न महिला केही व्यक्तिको पारिवारिक परिधिभित्र उपयोगी पनि देखिन सक्ला, तर यस प्रकारको गतिविधि समग्र समाजका लागि भने घाटाको कुरा हो ।

यही कारणले गर्दा पुराना राम्रा समयमा घरेलु कामदारहरू थिए तर सबै हराए । ठूला उद्योगले यतिबेला, घरभित्रै गरिने वस्तुको उत्पादनलाई अनावश्यक र महिलाको घरेलु क्रियाकलापलाई अर्थहीन बनाए । यही समयमा, यस कुराले समाजमा महिलाहरूको गतिविधिको लागि आधार तयार पार्‍यो ।

मांसपेशी शक्ति र कामको दक्षता विना पनि गर्न सकिने यान्त्रिक उत्पादनले महिलालाई ठूलो मात्राको रोजगारमा प्रवेश गर्नसक्ने बनायो । घरपरिवारको आम्दानी बढाउने इच्छाले महिलाहरू उद्योगमा काम गर्न थाले । आधुनिक उद्योगको विकाससँगै, महिला औद्योगिक श्रम एक आवश्यकताको रूपमा देखापर्‍यो ।

यसरी हरेक आधुनिक उन्नतिसँगै, पुरुष श्रम आवश्यकताभन्दा ज्यादा हुन थाल्यो, हजारौं श्रमिक बाहिर सडकमा फ्याँकिए, विपन्नहरूको संरक्षित सेना निर्माण भयो र ज्याला निरन्तर घट्दै गयो ।

पहिलेको जमानामा घरमा श्रीमतीको उत्पादनमूलक क्रियाकलापसँगै पुरुषको ज्याला परिवार धान्नको लागि पर्याप्त थियो । तर अहिले एउटै श्रमिकलाई मुस्किलले बाँच्न पुग्छ । आवश्यकताकै कारण विवाहित पुरुष श्रमिकले आज आफ्नी श्रीमतीको तलबमा भर पर्नुपरेको छ ।

यो कुराले महिलालाई पुरुषमाथिको आर्थिक निर्भरताबाट स्वतन्त्र बनायो । उद्योगमा सक्रिय महिलाहरू अब पुरुषको आर्थिक सहयोगीका रूपमा घरमा मात्रै जोडिएर सम्भवतः बस्न सक्दैनन् । यसरी आफ्नो आर्थिक सामथ्र्यको बारेमा सचेत भएर उनीहरू आत्मनिर्भर बनेका छन् र पुरुषहरूबाट स्वतन्त्र भएका छन् । र, एक पटक पुरुषहरूबाट आर्थिक स्वतन्त्रता प्राप्त गरेपछि, महिलाहरू पुरुषहरूमाथि नै सामाजिक रूपमा निर्भर भैरहनुपर्ने कुनै कारण छैन । तर अहिलेको अवस्थामा, यो नयाँ आर्थिक स्वतन्त्रताले महिलाहरूलाई मद्दत गरेको छैन, बरु उल्टै पूँजीपतिहरूलाई टेवा पुर्‍याइरहेको छ । उत्पादनका साधनहरूमा उनीहरूको (पूँजीपतिहरूको) एकाधिकारका कारण, यी नयाँ आर्थिक पक्षहरू पूँजीपतिहरूले नै हडपेका छन्, र तिनलाई आफ्नो फाइदाको लागि मात्र काम लाग्ने बनाएका छन् ।

श्रीमान्सँगको आर्थिक निर्भरताबाट मुक्त भएका महिलाका सिर्फ मालिक परिवर्तन भएका छन् र यी महिला अहिले पूँजीपतिको अधीनमा परेका छन् । श्रीमान्का दास नै रोजगारदाताका दास बन्न पुगेका छन् । निःसन्देह, महिलाहरूले यस रूपान्तरणबाट केही त प्राप्त गरेका छन्; उनीहरू अब पुरुषको तुलनामा आर्थिक रूपमा पिछडिएका छैनन्, बरु बराबर भएका छन् । तर, पूँजीपतिहरू भने महिलाको शोषणमा मात्र सन्तुष्ट छैनन्; बरु पुरुषको श्रमशोषण गर्न उनीहरूले अझ विस्तारपूर्वक महिलाको श्रम उपयोग गर्दैछन् ।

सुरुवातमा महिलाको काम, पुरुषको भन्दा सस्तो थियो । एक पुरुषको ज्याला मूलतः उसको सम्पूर्ण परिवारको खर्च धान्ने गरी हिसाब गरिन्थ्यो । तर एक महिलाको ज्यालाको निर्धारण सुरुदेखि नै एकल व्यक्तिको पालनपोषणको लागतमा मात्र आधार बनाएर गरियो, त्यो पनि एक व्यक्तिलाई आंशिक रूपमा पुग्नेगरी मात्र । किनभने, अनुमान यो थियो कि एक महिलाले कारखानामा आफ्नो काम पूरा गरेपछि घरमा पनि काम गर्छिन् । यो सँगसँगै, महिलाहरूले कमसल औजारहरू प्रयोग गरेर घरेलु रूपमा उत्पादन गरेका वस्तुहरूले, समाजको मध्यम स्तरको उत्पादनको थोरै हिस्सालाई मात्र प्रतिनिधित्व गर्दथ्यो ।

यसबाट मानिसहरूले के निष्कर्ष निकाले भने महिलाले पुरुषको तुलनामा कम उत्पादन गर्छन् र फलस्वरूप उनीहरूले कामको लागि पुरुषभन्दा कम ज्याला पाउनुपर्छ । ज्यालाको न्यूनताबारेका कारणमा यो तथ्य पनि थप्नुपर्छ कि, सामान्यतया पुरुषको तुलनामा महिलाका आवश्यकता थोरै छन् ।

महिलाको श्रम पूँजीवादीहरूका लागि विशेष आकर्षण बन्नुको पछाडि कम ज्यालाको कारणले मात्र थिएन, महिलामा रहेको प्रचुर विनम्रता पनि थियो । पूँजीपतिहरूले निम्न दुई पक्षमा आधारित भएर अनुमान गरे– महिला श्रमिकलाई सकेसम्म कम ज्याला दिने र महिलाको श्रमलाई प्रतिस्पर्धा गराएर पुरुष श्रमिकको ज्याला सकेसम्म घटाउने ।

त्यसैगरी, पूँजीपतिहरूले महिला श्रमिकको ज्याला कम गर्न बालश्रम प्रयोग गरे र सम्पूर्ण मानव श्रमलाई दबाउन मेसिनको प्रयोग गराए । यसको परिणामस्वरूप, कामको दैनिक कार्य घण्टा घट्नुको सट्टा बढ्न पुग्यो । महिलाको कामबाट यो प्राकृतिक प्रवृत्तिको विपरीतमा प्राप्त परिणामको एकमात्र दोषी पूँजीवादी व्यवस्था हो । पूँजीवादले महिलालाई गरेको यो व्यवहारले समाजको सम्पत्ति वृद्धि भएसरह भएको छैन । यसले समाजको प्रत्येक व्यक्तिको लागि उच्च जीवनस्तर बन्दैछ भन्ने पनि अर्थ दिंदैन ।

बरु यसको परिणामस्वरूप, एकातिर मुट्ठीभरका पूँजीपतिहरूको नाफामा वृद्धि भएको छ र सोही समयमा अर्कोतर्फ जनसंख्याको ठूलो हिस्सामा निरन्तर गरिबी बढेको छ । आज धेरै पीडादायी महसुस भएका महिला श्रमका यी घातक असरहरू, पूँजीवादी उत्पादन प्रणालीको अस्तित्वको समाप्ति सँगसँगै एकैपटक लोप हुनेछन् ।

आफ्ना प्रतिस्पर्धीका सामु नझुक्नका लागि, पूँजीपतिले आफ्नो वस्तुको लागत (उत्पादन) मूल्य र बिक्री मूल्य बीचको सबैभन्दा ठूलो भिन्नता कायम राख्न सबैभन्दा ठूलो प्रयास गर्नुपर्छ । यसरी ऊ सकेसम्म सस्तोमा उत्पादन गर्ने र सकेसम्म महँगोमा बेच्न खोज्छ । त्यसैले पूँजीपतिले सकेसम्म कामको दिन (कार्य घण्टा) लम्ब्याउने र मजदुरलाई सबैभन्दा निम्न पारिश्रमिक दिनमा हरसम्भव प्रयास गर्छ । यो प्रयास पुरुष कामदार जत्तिकै महिला कामदार विरुद्ध पनि छ ।

यसरी पुरुष र महिला श्रमिकको चासोमा कुनै वास्तविक अन्तरविरोध छैन । तर पूँजीपति र मजदुर वर्गको हितको बीचमा भने मिल्नै नसकिने अन्तरविरोध छ । आर्थिक ज्ञानहरू महिला श्रम निषेध गर्ने कुराको समर्थनमा बोल्दैनन् । आजको आर्थिक अवस्थामा महिलाको श्रम विना, न त पूँजीपति न त पुरुष नागरिक नै, कोही पनि एक्लै चल्न सक्ने स्थितिमा छैनन् ।

पूँजीपतिले प्रतिस्पर्धी बनिरहनका लागि र पुरुष नागरिकले परिवार बनाउने योजना बनाउने हो भने यस कुरालाई व्यवस्थित रूपमा कायम राख्नुपर्छ । महिलाको काम कानुनद्वारा निषेध गरेर पनि पुरुषको ज्यालामा प्रगति हुँदैन । सस्तो महिला श्रमको कुनै पनि अभावलाई पूँजीपतिले तत्काल कुनै कुशल मेसिनरीको निर्माण गरेर प्रतिस्थापन गर्छ, र चाँडै नै सबै कुरा पहिलेको जस्तै हुनेछ ।

व्यापक हड्तालहरू मार्फत मजदुरहरूले आफू अनुकूल परिणाम निकाले पनि उनीहरूले प्राप्त गरेका यी सफलताहरूलाई थप कुशल मेसिनरीको बलमा नष्ट भएको देखिएको छ ।
महिलाको कामले सिर्जना गरेको प्रतिस्पर्धाको हवाला दिंदै यदि कसैबाट यो उन्मूलन वा यसमा सीमित गर्ने माग हुन्छ भने, मेशिनहरू खारेज गरी मध्ययुगीन गिल्ड प्रणाली जसमा कुन काममा कति संख्यामा कामदार आवश्यक छ भनी निर्धारण गर्ने गरिन्थ्यो, त्यस्तो माग ठीक गिल्ड प्रणालीको पुनःस्थापनाको माग गरेजस्तै हो ।

आर्थिक कारणका अलावा महिला श्रम निषेधको विरुद्ध सिद्धान्तका कारण पनि छन् । महिलाले यस्ता निषेधका प्रयत्न विरुद्ध आफ्नो सम्पूर्ण शक्ति लगाएर संघर्ष गर्दा सिद्धान्तमा आधारित हुनुपर्छ । निषेधका प्रयत्नविरुद्ध महिलाहरूले एकैसाथ, सबैभन्दा कट्टर र न्यायोचित प्रतिरोध गर्नुपर्छ । किनभने उनीहरूलाई थाहा छ कि पुरुषहरूसँगको उनीहरूको सामाजिक र राजनीतिक समानता, उनीहरूको आर्थिक स्वतन्त्रतामा मात्र निर्भर छ । र, यसले नै आफ्नो परिवारबाहिर, समाजको लागि काम गर्न महिलालाई सक्षम बनाउँछ ।

सिद्धान्तको दृष्टिकोणबाट हामी महिलाहरूले महिलाको कामको सीमितताको विरुद्धमा सबैभन्दा जोडदार रूपमा विरोध गर्छौं । किनभने हामी हाम्रो उद्देश्यलाई सामान्यतया श्रमिक वर्गबाट अलग गर्न चाहँदैनौं । हामी कुनै विशेष मागहरू तयार गर्दैनौं । साधारणतया श्रमले पूँजीपतिहरूबाट जुन संरक्षणको माग गर्छ, त्योबाहेक हामी अरू कुनै प्रकारको संरक्षणको माग पनि गर्दैनौं ।

हामी केवल एउटा अपवादलाई अनुमति दिनेछौं– गर्भवती महिला जसको अवस्थाले महिलाको आफ्नै र उनको सन्तानको हितमा विशेष सुरक्षात्मक उपायहरू आवश्यक पर्दछ । हामी कुनै विशेष महिलाको प्रश्नलाई ठाउँ दिंदैनौं र हामी कुनै विशेष श्रमिक महिलाको प्रश्नलाई पनि चिन्दैनौं ! हामी स्वतन्त्र उद्यम प्रणाली वा पुरुषसँगको समान शिक्षा (यी दुई अधिकारको माग पूर्णतया प्राकृतिक र न्यायसंगत भए पनि) वा राजनीतिक अधिकार प्रदान गरेर हाम्रो पूर्ण मुक्तिको आशा गर्दैनौं ।

कथित सार्वभौम, स्वतन्त्र र प्रत्यक्ष मताधिकार कायम राख्ने ती देशहरूले हामीलाई यसको तुलनात्मक रूपमा नगण्य (महत्वहीन) मूल्य देखाउँछन् । आर्थिक स्वतन्त्रता नभएको मताधिकार, धेरथोर दिशा विनाको परिवर्तन जस्तै हो । यदि राजनीतिक अधिकारको प्राप्तिमा नै सामाजिक मुक्ति निर्भर हुने भए, सार्वभौम मताधिकार कायम भएका देशहरूमा सामाजिक समस्या हुने नै थिएनन् ।

पूँजीबाट श्रमको मुक्तिको संरचना अन्तर्गत मात्रै, महिला र समस्त मानव जातिको मुक्ति प्राप्त हुनेछ । समाजवादी समाजमा मात्रै महिला र मजदुरहरूले आफ्नो पूर्ण अधिकार प्राप्त गर्न सक्नेछन् ।

यी तथ्यहरूलाई हेर्दा ती महिलाहरू जो गम्भीरतापूर्वक आफ्नो मुक्तिका लागि इच्छा व्यक्त गरिरहेका छन् उनीहरूसँग श्रमको मुक्तिको लागि लडिरहेको एक मात्र सोसियल डेमोक्रेटिक पार्टीसँग जोडिनुको विकल्प छैन ।

पुरुषको सहयोग विना, वास्तवमा प्रायः उनीहरूको इच्छाविरुद्ध, महिलाले समाजवादको झण्डामुनि आफ्नो पाइला टेकेका छन् । जो–कोहीले यो स्वीकार गर्नैपर्छ कि कतिपय अवस्थामा आर्थिक अवस्थाको स्पष्ट अनुभूतिले गर्दा उनीहरूलाई आफ्नै इच्छा विरुद्धका केही कदम चाल्न धकेलिएको थियो ।

तर अहिले त्यही ब्यानरमुनि उभिएका छन् र त्यही मुनि रहनेछन् । तिनीहरू आफ्नो मुक्तिको लागि र समान मान्छेका रूपमा मान्यता प्राप्तिको लागि यही झण्डा अन्तर्गत लडिरहनेछन् ।

सोसियल डेमोक्रेटिक पार्टीसँग हातमा हात मिलाएर यो लडाइँमा आवश्यक परेका सबै दायित्व र त्यागहरू साझेदारी गर्न उनीहरू तत्पर छन् । तर विजय हासिल गरेपछि आफूले पाएका सबै अधिकारको मागप्रति पनि उनीहरू उत्तिकै कटिबद्ध छन् । जहाँसम्म बलिदान, कर्तव्य र अधिकार समेतको कुरा छ, उनीहरू समान परिस्थितिको योद्धाको पंक्तिका रूपमा स्वीकार गरिएका आफ्ना पुरुष कमरेडहरू भन्दा न ज्यादा चाहन्छन् न त कम नै ।

(अन्तर्राष्ट्रिय श्रमिक सम्मेलन पेरिसमा १९ जुलाई, १८८९ मा क्लारा जेट्किनको भाषण)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?