+
+

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाइ बिक्री खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १२:३८

२६ साउन, काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाइ बिक्री खुला भएको छ । एनएमबि बैंक कोष प्रवर्द्धक र एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी योजना सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को बिक्री २६ साउन बिहिबारबाट बिक्री खुला भएको एनएमबि क्यापिटलले जनाएको छ ।

प्रति इकाइ मूल्य १० रुपैयाँका दरले १२ करोड इकाइ म्युचअल फण्ड निष्कासन खुला भएको एनएमबि कयापिटलले जनाएको छ । जसमध्ये १४ प्रतिशत अर्थात १ करोड ६८ लाख एनएमबि बैंक र १ प्रतिशत अर्थात १२ लाख इकाइ कोष व्यवस्थापक एनएमबि क्यापिटलले लगानी गर्ने गरी १ करोड ८० लाख इकाइ बिज पूँजीबापत इकाइ सुरक्षित राखिएको जनाएको छ । बाँकी १० करोड २० लाख इकाइ सर्वसाधारणलाई सार्वजनिक निष्कासन मार्फत बिक्री खुला गरेको छ ।

बन्दमुखी योजना रहेकोले योजनाको अवधि इकाइ बाँडफाँट भएको मितिले १० वर्षको हुनेछ । उक्त सार्वजनिक निष्कासनमा छिटोमा ३१ साउनसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म मागअनुसार आवेदन नपरेमा आवेदन दिने अवधि ९ भदौसम्म थप हुनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् ।

यस योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

के छन् विशेषता ?

एनएमबि क्यापिटलले निष्कासन भएका कोषहरुमा वार्षिक प्रतिफल दिंदै आएको छ । नेपालको पूँजी बजारको विद्यमान अवस्था, यसको प्रवृति र प्रकृति तथा बजार संरचनाको गहिरो अध्ययन, अनुसन्धान तथा विश्लेषण गरी लगानीकर्ताहरु माझ दीर्घकालीन लगानीका लागि उपयुक्त नयाँ योजनाको रुपमा ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२’ ल्याएको छ । यो लगानी कोष एक गतिशील इक्विटीमा लगानी गर्ने फन्ड हो । जसले सूचीकृत कम्पनीहरुमध्ये अध्ययनबाट देखिएको उत्कृष्ट प्रतिफल दिने कम्पनीहरुमा उचित मूल्यमा लगानी गर्नेछ ।

एनएमबि क्यापिटलका अनुसार आर्जित प्रतिफलबाट कोषको लगानीकर्तालाई क्रमिक लाभांश प्रदान गर्ने तथा बाँकी प्रतिफललाई पुनः लगानी गरी योजना परिपक्व हुने समयमा आकर्षक प्रतिफलसहित एकमुष्ठ रकम फिर्ता गर्ने उद्देश्य लिएको छ ।

नेपालको पूँजी बजारको कुरा गर्ने हो भने यस बजारमा सीमित लगानी गर्ने क्षेत्र र सीमित कम्पनीहरु मात्र रहेका छन् । जसमा अझै पनि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले आधा भन्दा बढी बजार पूँजीकरणको हिस्सा ओगटेको छ ।

देश तथा विदेशको अर्थतन्त्रको सूचकहरुको अध्ययन गरी यसबाट पर्न सक्ने प्रवाभको विश्लेषण गरी समयमा नै सम्पत्ति विनियोजनको रणनीति परिवर्तन गर्न सक्ने क्षमता नै एनएमबि क्यापिटलको व्यवस्थापकीय कार्य दक्षता भएको एनएमबि क्यापिटलको दाबी छ । यो व्यवस्थापकीय क्षमता नै म्युचुअल फन्डको विशेषता हो । जुनकुराको पुष्टि एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड– १ को सफलताले देखाएको छ ।

एनएमबि क्यापिटलका अनुसार ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२’ दोस्रो वर्षबाट लाभांश वितरण गर्ने प्रक्षेपण गरेको छ । दोस्रो वर्ष पश्चात १० वर्षसम्म हरेक वर्ष नियमित रुपले १० प्रतिशतको लाभांश दिने प्रक्षेपण गरेको छ । ‘न्याभ’ वृद्धिबाट पूँजी वृद्धि प्रतिफल प्राप्त हुने प्रक्षेपण गरेको छ । यस योजना इक्विटी उन्मुख योजना भएकोले इक्विटीको अधिक्तम लाभ लिन पुनः लगानी गर्ने रणनिति बनाएको छ । जसले गर्दा लगानीकर्ताहरुले यस योजनाबाट कम्पाउन्डिङ प्रतिफलको भरपुर फाइदा लिन पाउनेछन् । त्यसैले पनि हरेक वर्ष १० प्रतिशत मात्र लाभांश बाड्ने र बाँकी फाइदाहरु पुनः लगानी गर्ने रणनीति रहेको कम्पनीको भनाइ छ ।

हाल सञ्चालनमा रहेका योजनाहरु भिन्न बजार परिस्थितिमा योजनावद्ध रुपले कार्यान्वयन गर्न ल्याइएका योजना भएको एनएमबिको भनाइ छ । एनएमबि हाइब्रिड फन्ड एल–१, नेप्से परिसूचक २०१६ सालको उच्च बिन्दुमा रहँदा ल्याइएको योजना हो ।

एनएमबि क्यापिटलका अनुसार अनुसन्धान र आकलन अनुसार त्यस बेला बजार उच्च रहेको र त्यस्तो परिस्थितिमा इक्विटी योजना भन्दा हाइब्रिड योजना जसले इक्विटी र स्थिर आय उपकरणहरुमा निश्चित अनुपातमा लगानी गरी इक्विटी लगानीबाट प्राप्त हुनसक्ने न्यूनतम प्रतिफलको जोखिमलाई व्यवस्थापन गर्न सक्छ भन्ने उद्देश्यले ल्याइएको योजना हो ।

यस्तै एनएमबि ५० – एनएमबि म्युचुअल फन्ड अन्तर्गतको तेस्रो म्युचुअल फन्ड योजना हो । यस योजनाको प्राथमिक उद्देश्य नै उच्चतम प्रतिफल हासिल गर्ने हो । एनएमबि-५० को अधिकांश लगानी इक्विटीमा रहने र न्यूनतम लगानी स्थीर आय उपकरणमा गरी जोखिम व्यवस्थापन गर्दछ । यस योजनाले नेपाल स्टक एक्सचेञ्जमा उत्कृष्ट प्रदर्शन गर्ने ५० वा सो भन्दा कम सेयरहरु आफ्नो पोर्टफोलियोमा समावेश गर्दछ । योजनाले सेयर बजारमा अवमूल्यन भएका र पूँजी लाभको सम्भावना प्रदर्शित गर्ने कम्पनीहरुमा लगानी गरी उच्च प्रतिफल हासिल गर्ने उद्देश्य राख्दछ । यस योजना र रणनीति अनुरुप नै एनएमबि ५० ले राम्रो प्रदर्शन गर्दै आइरहेको एनएमबि क्यापिटलको भनाइ छ ।

एनएमबि क्यापिटलका अनुसार घट्दो बजारमा सही कम्पनीको सेयरमा सही मूल्यमा लगानी गरी मूलधनमा परिणत गर्न सकियो भने म्युचुअल फन्डमा छरिएर रहेका लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्ने छ । घट्दो बजारका कारण म्युचुअल फन्डहरुले दिन सक्ने प्रतिफलमा संकुचन आएता पनि हाल सञ्चालनमा रहेका धेरै म्युचुअल फन्ड योजनाहरुले प्रतिफल दिन सक्ने अवस्थामा पनि रहेको क्यापिटलको भनाइ छ । म्युचुअल फन्डहरुको उद्देश्य नै इकाइधनीहरुको पूँजी सही तरिकाले लगानी गरी पूँजीको संरक्षण गर्नु रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?