+
+
ब्लग :

भाइरल कन्टेन्टको पछाडि भाग्दा कता जाँदैछ हाम्रो समाज ?

के सामाजिक सोच र मानसिक रोग निम्त्याउने खालका यस्ता हर्कतहरूलाई राज्यले नियमन गर्नुपर्दैन ? आफ्नै विश्वसनीयतामाथि प्रहार भैरहँदा यस्ता खाले नराम्रा ट्रेन्डलाई रोक्न नेपालको मिडियाहरू खोइ लागेको ? बेलैमा यो बारेमा सोचेर उचित कदम चाल्न सकिएन भने यो झन् ठूलो समस्याको रूपमा फैलिंदै जानेछ।

अकृजा पोखरेल अकृजा पोखरेल
२०७९ साउन २७ गते १२:१६

एउटा चल्तीको कथन छ, ‘नाम होस् या बद्नाम तर गुमनाम चाहिं नहोस्’। चर्चामा आउनको लागि मानिसले राम्रो काम गरेका छन् भने त त्यो सकारात्मक नै हो। तर चर्चामा आउने लोभले मानिसले आफ्नो बेइज्जत भएकोसम्म ख्याल गर्दैनन् आजकल। र, मानिसलाई चर्चामा ल्याउने माध्यम बनेका छन्, विभिन्न सामाजिक संजाल।

पछिल्लो तथ्यांक अनुसार नेपालमा सामाजिक संजाल चलाउनेको संख्या १ करोड ३० लाख भन्दा बढी छ। यो संख्या नेपालको कुल जनसंख्याको ४५.७ प्रतिशत हो। यही सामाजिक संजालहरूमा मानिसहरू आफू चर्चामा आउनको लागि अनेक हर्कत गरिरहेका भेटिन्छन्।

अझै कतिपय मानिसलाई यतिसम्म पनि थाहा हुँदैन कि, उनीहरू के गरिरहेका छन् ? र, किन चर्चामा आइरहेका छन् ? के उनीहरूको चर्चाले समाजलाई साँच्चै सकारात्मक बाटोतर्फ डोर्‍याएको छ ? अहँ पटक्कै छैन।

यतिबेला प्युठानका मीनबहादुर बुढामगर उर्फ भेलुबाजे टिकटक, युट्युब, फेसबुक जस्ता सामाजिक संजालहरूमाा खुब चर्चामा छन्। उनी जथाभावी बोल्छन्। उनले बोलेका फोहोरी र गालीगलौजपूर्ण कुराहरू सुन्नलायक पटक्कै हुँदैनन्। तर उनको कुरा सुन्ने र उनकै बोलीमा टिकटक बनाउने जमात हेर्ने हो भने उनलाई सामाजिक संजालमा पछ्याउनेहरूको जमात ठूलो छ। अर्थात् उनी सामाजिक संजालमा यतिबेला भाइरल छन्।

केही समय अगाडि एउटा त्यस्तै अजीव हर्कत र बोलीका कारण एकजना आफूलाई अघोरी भन्ने बाबा सामाजिक संजालमा खुब चर्चित थिए। उनको आश्रममा पुगेर युट्युबरहरूले खुब अन्तर्वार्ता लिने गर्थे। विजय कार्की नामका ती भाइरल अघोरी बाबा पनि यस्तै अन्टसन्ट बोल्थे।

दुनियाँलाई गाली गर्थे। अन्तर्वार्ता लिन जाने युट्युबर युवतीहरूलाई हातपात समेत गर्न पछि पर्थेनन्। दोस्रो श्रीमती ल्याएको कारण उनलाई प्रहरीले केही समय कस्टडीमा पनि राखेको थियो। बीचमा उनी केही समय सामाजिक संजालबाट बाहिरिए। पुनः उनी सामाजिक संजालमा सक्रिय हुन खोजिरहेका छन्।

स्थानीय निर्वाचनताका एकजना बाग्लुंग बुर्तिबाङतिरका भाइ चर्चामा आए। म्यादी भाइको रूपमा उनको चर्चा पनि कम्ती थिएन। म्यादी प्रहरीको ड्रेस लाएर युट्युव ब्लग बनाएका ती भाइले प्रहरीको इज्जतमाथि नै आँच आउने गरी आफ्नो धारणा राख्दै ब्लग बनाएपछि एकाएक चर्चित भएका थिए।

त्यही कारणले उनलाई प्रहरीले केही दिन कस्टडीमा पनि राख्यो। तर उनको चर्चा सेलाएन। नेपालकै सबैभन्दा बढी व्यापार गर्ने रेकर्ड बनाएको फिल्म र त्यसका स्टारहरूले समेत म्यादी भाइलाई फिल्मको प्रचारमा प्रयोग गर्न भ्याए।

हामीलाई प्रविधिले यति धेरै सजिलो बनाएको छ। प्रविधिको विकाससँगै हामी धेरै थोक गर्न सक्ने भइसकेका छौं। अझै विशेषगरी कम्युनिकेशनको सवालमा त झन् प्रविधिले ठूलो फड्को मारेको छ। यसले हामीलाई विश्व नै एउटा गाउँ हो र यहाँ तत्काल मानिसहरूसँग सम्बन्ध स्थापित गर्न सकिने अवस्थामा पुर्‍याएको छ।

पछिल्लो समय प्रविधिको विकाससँगै इन्टरनेट र सामाजिक संजालको प्रयोगले मानिसलाई खुब सजिलो बनाएको छ। फेसबुक, इन्स्टा, ट्विटर, युट्युब, टिकटक जस्ता सामाजिक संजालहरूले मानिसलाई धेरै कुरामा अब्बल बनाइरहेको छ।

तर मानिसको प्रवृत्ति यस्तो हुन्छ कि, यस्ता गज्जबको प्लेटफर्महरूलाई मानिसले गलत प्रयोग गरिरहेका छन्। सामाजिक सञ्जाल पछिल्लो समय सही तरिकाले मानिसहरूले प्रयोग गरिरहेका छन् भन्ने कुरामा शंका छ।

माथि उल्लेख गरेका किस्साहरू यहाँ मैले किन जोड्न खोजेकी छु भने सामाजिक संजाल प्रयोगकर्ताहरूले यस्तो विषयमा रुचि नदिने हो भने यस्ता गलत हर्कत गर्ने मानिसहरू रातारात भाइरल हुने थिएनन्।

त्यसैमाथि मिडियाको धाक दिएर मानिसहरूको कोठाभित्रैसम्म छिरेर सनसनीपूर्ण बनाउने नाममा अनेकन् अन्तर्वार्ता लिने युट्युबरहरू यसका लागि जिम्मेवार छन्। समाजलाई नकारात्मकतातर्फ धकेल्नका लागि सबैभन्दा ठूलो हात यस्तै युट्युबरहरूको छ। जुन कुरा आमसंचारको लागि ठूलो चुनौती बनेर उभिएको छ।

प्रयोगकर्ताहरूको न्यायाधीश प्रवृत्ति

पछिल्ला दिनहरूमा नेपालमा सामाजिक संजाल प्रयोगकर्ताहरू सामान्य घटना आउन नपाउँदै न्यायाधीश बन्ने र त्यसलाई तोडमोड गर्ने प्रवृत्ति हावी भएको छ। यस्तो प्रवृत्तिले मानिसहरूमा धेरै समस्या पनि उत्पन्न भइरहेका छन्।

के सामाजिक संजालमा आउने पीडितले न्याय र अपराधीले सजाय पाएका छन् त ? कि सामाजिक संजाल प्रयोगकर्ताहरूले बलेको आगो मात्र तापिरहेका छन् ? लहलहैमा कसैले आरोप लगाएकै भरमा तत्काल प्रतिक्रिया दिई अपराधी बनाइहाल्ने र सजाय सुनाइहाल्ने प्रवृत्तिले हामी कता जाँदैछौं भन्ने कुरा देखाउँछ।

सामाजिक संजालमा देखिने बलात्कार सम्बन्धी घटना, घरझगडाको कुरा, व्यक्तिगत सम्बन्धका कुरा र आत्महत्या जस्ता घटनामा मानिसहरूले सोचविचार नै नगरी धारणा बनाउँछन् र आफ्नो प्रतिक्रिया दिइहाल्छन्। यसरी प्रतिक्रिया दिइरहँदा कोहीमाथि लगाइएको आरोपहरू सत्य हो या होइन भन्ने कुरामा सामाजिक संजाल प्रयोगकर्ताहरूले खासै चासो दिइरहेको पाइँदैन। मानिसहरूले आफैं न्याय दिन्छन्, अपराधी करार गर्छन् र फाँसीसम्म चढाउन भ्याउँछन्।

कसको सम्बन्ध कोसँग चलिरहेको छ ? कुन स्टार आफ्नो कोस्टारसँग डेट गरिरहेका छन् ? कसले घरमा दोस्रो श्रीमान्, श्रीमती भित्र्यायो ? जस्ता अति नै व्यक्तिगत र निजी कुराहरूलाई मिडियाको नाम दिएर जबरजस्ती सामाजिक संजालमा ल्याइन्छ अनि भ्यूज बढाउने नाममा सनसनीपूर्ण शीर्षक राखेर प्रसारण गरिन्छ। के यति धेरै व्यक्तिगत चासोका साथ ती विषयहरूलाई ल्याउन जरुरी छ ? के त्यही बकम्फुसे विषयमा जान्ने भएर आफ्नो धारणा बनाइहाल्न जरुरी छ ? पक्कै पनि छैन।

अजिव खालको बोली भएको, फरक क्षमता भएका व्यक्तिहरूलाई ललाईफकाई मिडियाको नाम दिएर आफ्नो स्वार्थका लागि केही युट्युबेहरूले सामाजिक संजालमार्फत चर्चामा ल्याउने काम गर्छन्। एकाएक भाइरल बन्ने त्यस्ता व्यक्तिहरू के के न आफू स्टार भएको ठान्छन्।

एकपछि अर्को काण्ड घटाउँदै, अन्तर्वार्ता दिंदै हिंड्छन्। अन्टसन्ट बोलेर सामाजिक संजाल प्रयोगकर्ताहरूको ध्यान खिच्नका लागि उनीहरू प्रयोग हुन्छन्। तर अर्को भाइरल विषयले सामाजिक संजालमा प्रवेश पाउने वित्तिकै उनीहरू अलप हुन्छन्।

सामाजिक संजालमा देखिने बलात्कार सम्बन्धी घटना, घरझगडाको कुरा, व्यक्तिगत सम्बन्धका कुरा र आत्महत्या जस्ता घटनामा मानिसहरूले सोचविचार नै नगरी धारणा बनाउँछन् र आफ्नो प्रतिक्रिया दिइहाल्छन्। यसरी प्रतिक्रिया दिइरहँदा कोहीमाथि लगाइएको आरोपहरू सत्य हो या होइन भन्ने कुरामा सामाजिक संजाल प्रयोगकर्ताहरूले खासै चासो दिइरहेको पाइँदैन। मानिसहरूले आफैं न्याय दिन्छन्, अपराधी करार गर्छन् र फाँसीसम्म चढाउन भ्याउँछन्।

हिजोसम्म स्टार बनाइदिएका त्यस्ता मिडिया नामधारी युट्युबेहरू भाइरल कन्टेन्टकै पछि भाग्छन्। तर स्टार भनिएको व्यक्ति आफ्नो घर फर्किन बाध्य हुन्छ। त्यतिन्जेल उसको भ्रम अझै तोडिएको हुन्न, केही गर्न खोज्छ, आफूलाई भाइरल बनाउने युट्युबेहरूलाई फोन गर्छ, तर भाइरल कन्टेन्ट पाइसकेको युट्युबेहरूले उसको फोन उठाउँदैनन्।

फलस्वरूप आफ्नो पुरानै जीवनमा फर्किन भाइरल स्टार बाध्य हुन्छ। यतिका बेलासम्म ऊ साँच्चै मानसिक रूपमा विक्षिप्त बनिसकेको हुन्छ। आफ्नो घरमा आफ्नै जीवन बाँचिरहेको मानिसहरूलाई आफ्नो निजी स्वार्थको लागि सामाजिक संजाल प्रयोगकर्ताहरूले कतिसम्म दुरूपयोग गर्छन् र सोझो मानिसहरूको जीवन बर्बाद गर्छन् भन्ने कुरा पुष्टि हुने गरी मैले यहाँ उदाहरण पनि पेश गरेकी छु।

एउटा सानो बालक, जो ‘के छ हजुर ?’ भन्दै सामाजिक संजालमार्फत भाइरल भए। गीत गाए, नाचे। म्यूजिक भिडियो खेले त्यो पनि महानायक राजेश हमालसँग। विभिन्न टेलिभिजन शो अनि सिरियलहरूमा गए। सबैले उनलाई वाहवाही गरे। गुल्मीको सामान्य परिवारमा जन्मिएका सचिन परियारलाई नचिन्ने र नजान्ने को थिए होलान् ? तर उनको त्यो चमकधमक धेरै दिन टिकेन।

भाइरल कन्टेन्ट खोजिहिंड्ने युट्युबेहरूले अर्कै कन्टेन्ट पाए, सचिनलाई बिर्सिए। अहिले उनी गुल्मीको तम्घासमा सडकमा अन्जान मानिसहरूसँग पैसा माग्दै गरेको भेटिन्छन्। उनी चर्चित रहेको बेलामा उनलाई धेरैले प्रयोग गरे। भ्यूज कमाए। पैसा कमाए। तर अहँ अहिले उनी सडकमा मागिरहेको बेलामा उनलाई सहयोग गर्न कोही छैन। यो हो वास्तविकता।

त्यस्तै विभिन्न दर्दनाक अपराधका घटनाहरूलाई पनि अति सस्तो प्रतिक्रिया दिएर ओझेलमा पार्ने काम पनि सामाजिक संजालमा देखिन्छन्। बलात्कार, हत्या, आत्महत्या जस्ता कुरालाई प्रोत्साहन गर्ने गरी मानिसले आफ्नो धारणा बनाइरहेका हुन्छन्। जसले गर्दा समाजमा नकारात्मकता बढ्दै गएको छ। सही के हो ? गलत के हो ?

सच्चाइ कुराहरू बाहिर नआउँदै सामाजिक संजालका न्यायाधीशहरूले आफ्नो निर्णय सुनाइसकेका हुन्छन्। कतिलाई यसै आरोप लगाइरहेका हुन्छन् त कोही साँच्चैको अपराधीलाई चोख्याइरहेका हुन्छन्। सामाजिक संजालमा आजभोलि चलिरहेको यस्तो खाले ट्रेन्ड साँच्चै डरलाग्दो छ।

एकदमै तत्काल धारणा बनाइहाल्ने र आफ्नो धारणाले पीडितलाई कस्तो प्रभाव पारिरहेको छ भन्ने कुराको सामान्य चेत पनि नराखी न्यायाधीश बन्ने परिपाटीले कतिपय अवस्थामा पीडितलाई झन् बढी पीडित बनाइरहेको छ। कतिपय अवस्थामा सामाजिक संजालको धारणाले गर्दा पीडकले उल्टो उन्मुक्ति पनि पाइरहेका छन्।

भास्कर तेजश्री मेमोरियल फाउन्डेशनका दीपनारायण ठाकुरको सन् २०१७ मा प्रकाशित एक लेखअनुसार सामाजिक संजालमा आउने विभिन्न खाले खबर साँच्चैको भएको भनेर ८९ प्रतिशत सर्वसाधारणले विश्वास गर्छन्। र, त्यही अनुसार उनीहरूले धारणा बनाउँछन्।

युट्युबमा सनसनी बनाएर हालिएका समाचार जस्तै लाग्ने सामग्रीहरूलाई अधिकांश वृद्धवृद्धा र युवापुस्ताकै मानिसले पत्याउँछन्। यसले उनीहरूको मानसिक स्वास्थ्यमा पनि प्रत्यक्ष असर गरिरहेको छ।

के सामाजिक सोच र मानसिक रोग निम्त्याउने खालका यस्ता हर्कतहरूलाई राज्यले नियमन गर्नुपर्दैन ? आफ्नै विश्वसनीयतामाथि प्रहार भैरहँदा यस्ता खाले नराम्रा ट्रेन्डलाई रोक्न नेपालको मिडियाहरू खोइ लागेको ? बेलैमा यो बारेमा सोचेर उचित कदम चाल्न सकिएन भने यो झन् ठूलो समस्याको रूपमा फैलिंदै जानेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?