+
+

एउटा जीवनले भोगेका १६ विभेदका कथा

पानी पिउने रोलक्रम आउँदा ती नानीले आफ्नो साथीलाई भनिन्, ‘यो पानी त सरले पिएको हो हामीले पिउनुहुन्न।’ उनीहरूले कानेखुसी गरेको मैले सुनें। एकदमै नरमाइलो लाग्यो। जे सिके त्यही गरे भन्ने अचेल गुनासो गर्दिनँ तर समाजको यस्तो कुरूपता सम्झिंदा मुटु दुख्छ।

पुछार घरे पुछार घरे
२०७९ साउन २९ गते १८:२१

लगभग वर्षमा एक दिन हो पूर्ण रूपमा घर लिपपोत गर्ने। यही चलनअनुसार दशैंताका लिपपोत गर्नका लागि घरभित्रका सबै सामान बाहिर ल्याउने क्रममा बाजेको मदुसमा केही किताब भेटिइरहन्थे। फलस्वरूप कक्षा ३ मा पढ्दा नै मैले मदुसमा भेटिएकामध्ये नेपालका शाहवंशीय राजाहरूको इतिहास, राजा वीरेन्द्र र रानी ऐश्वर्यको जीवनी, भ्रमण र भाषण र जेङ्गिज खानलगायत विश्व भूगोलका बारेमा रुचिसाथ पढेको हुँ। साथमा केही हिन्दी किताब पनि थिए, नाम याद भएन।

औपचारिक शिक्षाबाट वञ्चित बाजे फुर्सद पाउने बित्तिकै पावरवाला चस्मा लगाएर किताब पढ्ने गर्नुहुन्थ्यो। गाउँघरमा पढ्ने चलन नै नभएको प्रविधिशून्य बेला हो। उसो त एघार वर्षदेखि करिब उहाँको उमेरको ७० वर्ष गाउँको जिम्मलको हली गर्नुभयो। त्यस बीचमा आफैंले मिहिनेत गरेर अक्षर चिनेको र पढेको, चुरोटको बट्टामा चुत्रोको हाँगाले लेखेको, सुर्ती खरिद गर्न बुटवल तथा सुनवल पुगेको, लाहुरे हुन भनी जहाज चढेर नैतुना तथा गोरखपुर पुगेको तथा विभिन्न किस्सा र विगत बताउनुहुन्थ्यो।

१. धागोको विभेद

अरू थुप्रै पुस्तकमध्ये विशेषगरी धार्मिक पुस्तक पढ्न मन थियो। तर, नाडीमा धागो छ र छैन हेरेर गोरखपुरतिर पुस्तकसमेत किन्न नदिएको बताउनुहुन्थ्यो। नाडीमा धागो किन हेरिएको हो कारण भने बताउनुभएन।

अर्को, पढ्यो भने हिसाबकिताब खोज्न सक्छ भनेर ‘तिमीहरूले पढ्ने हैन, पढ्न हुन्न, पढेर पनि कौनसा जागिर पाउला र तिमीहरूका जातले’ भनी गाउँठाउँका साहु–महाजन तथा जिम्मलले आत्मबल गिराउँदै मनोवैज्ञानिक भ्रम छर्दै पढ्न नदिएको र विभिन्न बहानामा उनीहरूकै काममा हप्काई–तर्साई, ललाई–फकाई कजाउने गरेको विगत सुनाउनुहुन्थ्यो।

२. परिश्रमको विभेद

एउटा प्रमाण बताउनुहुन्थ्यो, वर्षभरि उभौली र उँधौली भन्दै आफ्नो नलगाएर साहुको खेती लगायो मङ्सिरमा धूलो, ढुटो र सिलो दिन्थे। आफूले लगाउन पनि नपाउने र उनीहरूले दिएको अन्नले वर्षभरि खान नपुग्ने। त्यसपछि उनै साहुकहाँ पाथी माग्न गयो फेरि त्यसैको तिर्ने, लागेको बाहेक, दिएवापत सघाउने गर्दागर्दै आफ्नो वर्ष सकिन्थ्यो।

आमाको पनि यसरी नै वर्ष सकिएको बताउनुहुन्थ्यो। बाजेको निधन भयो। आमा साथमै हुनुहुन्छ। एक पाथी अन्नका लागि लागेको तिर्नेसहित विभिन्न काम र समयमा सघाउन गएको अनुभव आमाले अझै पनि आँखा भिजाउँदै बताउनुहुन्छ।

३. कपडामा विभेद

बाजेले आफूलाई ठकुरीहरूको दाजुभाइ हुँ (सिकार खेल्दा कथित कामी जातको युवतीको हातको पानी पिएको भनी म्याग्दीको तातोपानीबाट लखेटिएर घान्द्रुक आएका हुन् भन्नुहुन्थ्यो उहाँका बाजे बराजु) भन्नुहुन्थ्यो। सेतो, अग्लो हुनुहुन्थ्यो। बैंसालु उमेरमा नयाँ ढाकाटोपी पनि लाउन पाइएन। एक, पैसा नहुने भयो। दोस्रो ‘नकिन काम गरिदिएवापत म दिन्छु’ भन्ने गर्थे जिम्मलहरूले।

यस्तो थियो कि उनीहरू जे भन्छन् शिरोपर गर्नुपर्थ्यो। पुरानो थोत्रो टोपी दिन्थे। त्यही पुरानो पनि ठाँटिएर सीधा लगाउन नपाउने र छड्के लगाउनुपर्ने। किनकि उनीहरूभन्दा जाती नदेखिनुपर्ने रे। अर्को रोचक मनोविज्ञान चैं मेला पर्वमा राम्री केटीलाई फकाउन मन लागे हातपात गर्ने साहुमहाजनले अरू ठाँटिए अझ कथित सानो जातिले केटी फकाउन सक्छ र आफ्नै घरपरिवारमा कुदृष्टि लगाउन सक्छ भन्ने पनि रहेछ। (याद गर्नुभयो भने गाउँठाउँका अधिकांश दलितले प्राय: टोपी छड्के लगाउँछन्।)

म बाजेका यस्तै अनेक किस्सा र अनुभव सुन्थें। अहिले चौतर्फी दलितहरू फोहोरी हुन्छन् भन्ने कुरा उठ्छ। एक, उनीहरू साँझ–बिहान धुलोमैलो नभनी काम गर्छन्। दोस्रो, विविध स्वार्थले स्वयम् उनीहरू सफासुग्घर देखिन दिंदैनन्। दया गरेर पुराना दिने, बासी खान दिने, सिनो उठाउने जिम्मा दिने, गाउँटोलबाट पर रहन, बस्न दिने गर्छन्।

४. नामको विभेद

कथित तल्लो जातिका मानिसहरूको नाम पनि गज्जबको राखिन्थ्यो। लट्टे, च्यान्टे, तिखे, अक्करे सुन्दा र बोलाउँदा पनि एकदम हेय लाग्ने, लामो कामी भनेर जिस्काउने र त्यही नाम स्थापित बन्ला जस्तो भएपछि बाजेले धनमान नाम आफैंले राख्नुभएको रहेछ। तर २०४९ को भूमिसुधार आयोगले नागरिकतामा धनमान हुँदाहुँदै पनि लालपुर्जामा धनरास बनाइदिएको छ। तिरो तिर्न बाजेलाई पछ्याउँदै जाँदा कर्मचारीले पनि नामको प्रसङ्ग निकालेको अलिअलि याद छ। किनकि अरू कथित दलितका नाउँको तुलनामा बाजेको नाम पृथक् नै हो।

५. सम्बोधनमा विभेद

समय अनुसार देवता वा भगवानका नाम वा सम्मानित नाम राख्न नदिइएको बताउँथे। जबरजस्ती बिगारेरै नाम राखिदिने गर्थे। एउटा झन् रोचक कुरा त कथित ठूला जातिकाले जति नै उमेरले पाको होस्, ठूलो होस् नाम काढेरै बोलाउने र ‘तँ’ सम्बोधन गर्ने र कथित सानो जातिकाले कथित ठूला जातिकालाई साइनो लगाएर हजुर, तपाईं भन्नुपर्ने थियो।

६. खाना खाजाको विभेद

बाहिर बसेर खानुपर्ने, खाना खाइसकेपछि आफूले धोएका भाँडा सुनपानीले चोख्याएर भित्र राख्ने गरेको कुरा बाजे र आमा बताउनुहुन्थ्यो। भित्रै पसेर घरको मर्मत गरिसकेपछि खाने बेला बाहिर बसेर खानुपर्दा आफूलाई मानव हैन जस्तो लाग्ने पनि बताउनुहुन्थ्यो। धेरै पछिसम्म मेलापातमा मेरो आमा दलितभित्रकै कथित सानो जातिको काममा जानु पर्दा खाजा पहिल्यै बनाएर लैजाने गर्नुहुन्थ्यो। त्यसैले आमालाई गाउँमा ‘अप्ठ्यारो कमिनी’ भन्थे।

आजसम्म पनि गाउँमा यो चलन जस्ताको त्यस्तै छ। कथित ठूला जातका व्यक्तिहरू कथित दलितको घरमा मेलापात वा काममा आउनु परे खाना वा खाजाका लागि नछोइने चिज पहिल्यै दिनुपर्ने। यतिसम्म कि जमिन मल्न आउने भेडा गोठालाहरूले पनि लागू गर्थे। विडम्बना २१औं शताब्दीको उत्तरार्धमा मैले पनि यो अनुभव गरेको छु। बत्ती बिग्रेपछि मलाई बोलाउँथे। गाउँघरको चलनै हो पारिश्रमिक नदिने, एक छाक खान दियो भयो। त्यो पनि बाहिर बसेर, अघि बत्ती बनाउँदा भने भित्रै कहाँ–कहाँ पुगिन्थ्यो।

यहाँ अलिकति गम्भीर हुने हो भने दलितहरू किन माथि उठेनन् त? भन्ने सवालको जवाफ पाइन्छ। एक, पाथीमा काम गर्थे। भनेको, वर्षभरि काम गरिदिने अन्त्यमा मङ्सिरमा सीमित अन्न गाउँका हरेक घर धुरीबाट उठाउने अर्थात् बाली प्रथा। दोस्रो, बाली प्रथाले नपुग्ने उनैको घरमा पाथी वा दाम पैसा माग्न गयो। तिरेर र सघाएर नसकिने। अनि कसरी उठ्न सक्छ त त्यो परिवार वा समुदाय?

७. कोसेली

धार्मिक पुस्तक पढेर आफैं पूजा लगाउने, अरूलाई नडाक्ने र के लेखेको छ राम्ररी पढ्न सक्ने हुन्छु भन्ने बाजेको इच्छा उमेरको ९८ वर्षसम्म पनि पुगेन। गाउँठाउँमा पूजाआजा हुँदा शास्त्र वा सत्यनारायण पूजामा पढ्नेले सत्य कति हो ‘यस्तो बेला आयो कामी दमाईले सुन्नहुन्न पर जाओ’ भनेर जग्गे नजिक पनि रहन नदिएको बताउनुहुन्थ्यो। यसैले पनि पढाइको महत्त्व बुझ्नुभएको बाजेले हामीलाई पढ्न खुब प्रेरित गर्नुभयो।

समाज र समयका कारण होला एक छोरीलाई उहाँले पनि पढ्न चैं दिनुभएन। आमाले पढ्न खुब जिकिर गरेको बताउनुहुन्थ्यो। म भने मावली बसेर अलिकति भनूँ छोप जति पढें। हामी पढ्नुमा आमाको ठूलो हात छ। आमाले नचाहेको भए म यसरी लेख्न सक्ने हुन्नथें। किनकि, खान र लाउन दिन्छु चाडबाडमा हेर्छु भनी कथित ठूला जातिले दलितका छोराछोरीलाई पढ्न नदिएर काममा कजाउने गरेको उदाहरण मेरै उमेरमा पनि कैयौं देखिए। यो चलनलाई विदेश हिंड्ने चलनले काट्यो तर विदेश हिंड्न पनि ऋण उनीहरूबाटै लिनुपर्ने।

सघाउने चलन फरक तरिकाले जोडियो। विदेश हिंड्नका लागि लिएको ऋण तिर्दा चर्को सावाँब्याज त छ अर्को ‘कोसेली’ दिने गरियो। एक लाख ऋण निकालेकाहरूले सावाँब्याजसहित लैनो भैंसी दिएको उदाहरण गाउँतिर थुप्रै छन्। सावाँब्याज, कोसेली तिर्नु परेपछि पढ्न नपाएका, सीपविहीनहरूले के कमाउलान् र कसरी उठ्लान्?

८. मोहीको कथा

फाटे–टालेका लगाएर रित्तो झोला बोकी स्कुल जाने र फर्केपछि एकछाकको लागि कथित ठूला जातकहाँ पुगेर काममा सघाउने चलन चलिरहेकै थियो। मोही मीठो हुँदासम्म आफू र छिमेकमा बाँडेर खाने अमिलो भएपछि एक भारी घाँस ल्याएर आऊ मोही लैजाऊ भन्थे। बाजेले एकाध ठाउँ मलाई पनि पठाउनुभयो। तर विद्रोह गरेर हामीले यस्तो काम अलिक कम गर्‍यौं। गाईगोठ भएकै परिवार थियौं तर बीचमा हरायो। पछि गोरस– दूध मोहीकै लागि मैले गाई किनें।

सानैमा बाहिरी पुस्तक पढ्ने लत बस्यो। आफूभन्दा सिनियर दाइहरूले अक्षर जोडेर लेखेको अङ्ग्रेजी लेखाइको सिको गर्थें। मैले सर–मिसलाई बाहिरी प्रश्न सोध्थें। बुवाको कामी थरबाट हामीले बिक लेख्यौं। मैले पूर्णबहादुर थापा सरलाई सोधेर अङ्ग्रेजीमा विश्वकर्मा लेख्थें, किताब तथा ढुङ्गाहरूमा। त्यतिबेला मात्र हैन अहिले सञ्जालमा पनि कामी नै लेख्नुपर्ने नत्र किन छात्रवृत्ति खाने जस्ता सवाल त उठिरहन्छन्।

असार बिदाका गृहकार्यमा अङ्ग्रेजी पूरै जोडेर लेख्थें ३ कक्षामै। तर हुने बिरुवाको चिल्लो पात भन्ने उखान मलाई फापेन। त्यो लेखाइले त म अहिले नामी डाक्टर हुनुपर्ने। नेपाली शब्दमा सीधा डिको तान्न अहिलेसम्म पनि जानिएन। जिन्दगीको लय र समाजको बाटो पनि सीधा कहिल्यै देखिनँ।

लक्ष्मीप्रसादको मुनामदनको अंश घोकियो, बाजेको अनुभव पनि सुनियो तर सानो र ठूलोको जातको भेउ पाइएन। सुनें कति, तिमीहरूले पनि पढ्ने? जाँड पिउँदिन भन्ने? व्रत बस्ने? पूजा लाउन त पण्डितको छोरा भए नि हुन्छ। यी यस्ता दैनिक व्यहोरिने सुनिने वाक्यहरू अनुसरण गरे पनि जात जोडिएको थाहा पाइएन।

९. पिकनिकमा विभेद

पूर्व व्यावसायिक शिक्षाले सीप सिकायो सिकाएन कुन्नि तर जात कुन हो, ठूलो कि सानो चैं सिकायो र चिनायो। त्यसका लागि ६ कक्षामा पुग्नुपर्‍यो। उसो त ३ कक्षामा मुनामदनका हरफ पढ्दा देवकोटाले सानो ठूलो छुट्याउँछन्। त्यो समय ठिक थियो तर अब ठिक छैन तर समाज उस्तै छ। सानो कक्षामा बहस बनेन होला त्यो लाइनले तर ६ कक्षा पढ्दा वनभोज खानका लागि जाँदा चैं हामीले दूध, घ्यू अर्थात् छोइने चिज लैजान नमिल्ने, चामल र दाउरा लिएर जाने, वनभोजको दिन हामी ढुङ्गा खोजेर चुल्हो बनाउने, दाउरा खोज्ने र सकिएपछि भाँडा माझ्नुपर्ने भागबन्डाले पो हामी सानो जातका र कथित ठूला जातकाले हामीले छोएको खान नहुने रहेछ भन्ने थाहा पाएँ।

गाउँ समाजमा जातले पाएको लगायत धेरै कुरा भनिने सुनिने कुरा र धारामा कसैको गाग्री भरिएर पोखिए पनि सार्न तान्न नमिल्ने र पर्खिनुपर्ने कुरा, बाटो हिंड्दा तलपट्टि परेर हिंडेन भनेर कसैले थुकेको कुरा बल्ल बुझें कि कथित वर्ण र जात व्यवस्थाले मलाई अछूत वा कथित तल्लो जातिमा गन्दो रहेछ। मानव सरह नसोच्दो रहेछ।

थाहा भएन भनिरहनु चैं एक, बाउबाजे र समाजबाट त्यही सिकियो। दोस्रो किन भनेर प्रश्न गरिएन, कारण खोजिएन सरासर अनुसरणबाहेक। बाउ–बाजेले सधैं सबै स्वीकारेर हिंडे। चुप हिंडे। आवाज उठाए त कतिखेर उठिबास हुने हो, लखेटिएर घरबार र परिवारविहीन हुनुपर्ने हो समय सजिलो थिएन।

१०. होटलमा विभेद

८ कक्षाको जिल्लास्तरीय परीक्षा दिन स्रोतकेन्द्रले तोकिएको विद्यालयमा गयौं। केही पत्तो नपाई लहलहैमा कक्षाकै साथीको आफन्तकहाँ म लगायत अरू साथी बस्यौं। स्रोतकेन्द्रस्तरीय परीक्षा केन्द्र मावि र बजार नजिक पैसा तिरेर होटलमा ढोकाछेउ बसेर खाएँ।

ढोकापट्टिको खाटमा सुतें। परीक्षा सकियो तर प्रश्न उब्जिएन कि म किन ढोकाछेउ बसेर खाएँ, होटलमा पैसा तिरेर पनि किन भाँडा माझिरहें र किन मेरो लागि एउटै थाल प्रयोग भइरह्यो? चलिरहेको चलन भनियो सायद। समाज, व्यवस्था र गरिबीले मानिसलाई निर्धो बनाउँदो रहेछ।

११. बासमा विभेद

विस्तारै गाउँमा युवा क्लबका विविध कार्यमा सक्रिय रहें। भलिबल खेल्न जाँदा बहुत मुस्किल हुने बास बस्नुपर्थ्यो। साथीहरू सरह गुरुङ भन्न नसुहाउने अनुहार, कामी भनौं बास नपाइएला कि भन्ने डर, धेरै पटक बाहुनका थर भनेर बास बसियो। कानेखुसी पनि सुनियो। घरवालाले भन्ने ‘बाहुनजस्तो त छैन।’

विभिन्न मेला, समारोह, तालिममा जाँदा पनि पहिल्यै छुट्टै खाने र बस्ने व्यवस्था हुन्थ्यो। हामी इतरका साथीहरू सर्लक्कै छुट्याइन्थ्यो। बानी परेर होला प्रतिकार गरिएन जसो जसो भने उसै उसै गरियो। प्रतिकारका लागि आवाज उठ्न यो विधि विपरीत छ भन्ने बोध हुनुपर्ने रहेछ। चलन होला भनेर चुपचाप स्वीकारियो, हिंडियो।

१२. पानीको विभेद

स्कुलमा काम गर्ने मौका मिल्यो। हात समातेर क ख लेख्न सिकाएको सानी नानीलाई एक दिन २ कक्षामा पढाउँदा कक्षामा पानी पिउन थालियो। तल कुवाबाट उघाएर जगमा लिइएको पानी केटाकेटीहरूले पहिला सरले पिउने भने। मैले पिएँ, त्यसपछि कक्षाका बच्चाहरू एक–एकले पिउने रोल बन्यो।

पानी पिउने रोलक्रम आउँदा ती नानीले आफ्नो साथीलाई भनिन् ‘यो पानी त सरले पिएको हो हामीले पिउनुहुन्न।’ उनीहरूले कानेखुसी गरेको मैले सुनें। एकदमै नरमाइलो लाग्यो। जे सिके त्यही गरे भन्ने अचेल गुनासो गर्दिनँ तर समाजको यस्तो कुरूपता सम्झिंदा मुटु दुख्छ।

१३. विनिको विभेद

८ कक्षा पढ्ने बेलामा जिल्लास्तरीय परीक्षा दिन गएकै स्रोत केन्द्रवाला विद्यालयमा स्वयम् म विद्यालयमा काम गर्न थालेपछि एक दिन स्रोत केन्द्रस्तरीय कार्यक्रममा ५ कक्षासम्मका विद्यार्थीलाई लिएर गइयो। कार्यक्रम समापन पछि समयाभावका कारण फर्किन सकिएन। बास बस्ने निधो गरेपछि स्रोत केन्द्रले निधो गरेको होटलतिर लाग्यौं।

साथी सर्कलका शिक्षकहरूसँग रमाइलो गर्दागर्दै खाना खाने बेला भयो। सबै सँगै खान थाल्यौं। त्यसै क्रममा कास्कीका एक विनिले भने ‘रूप कहिलेदेखि हामीसँगै बसेर खाने भयो ?’ राति शिक्षकहरू मिलेर जाँडपानी गरेका थिए। नसुने झैं गरेर खानुको विकल्प थिएन।

१४. खेलको विभेद

एक दिन हरितालिका तीजमा गाउँकै मेलामा उद्घोषक भएर काम गरिरहेको थिएँ। छेलो प्रतियोगितामा गाउँकै एक परियार थरका दाइले जितिरहेपछि निर्णायकले नतिजा भन्न लगाए मैले टिपाएको नाम उद्घोष गरें।

अर्का प्रतिस्पर्धी गुरुङ साथी आएर म बोलिरहेको माइक खोसेर कुट्ने प्रयास गरे। साथीहरूले जोगाए। हार–जित बेग्लै कुरा थियो तर त्यहाँ कथित तल्लो जातले जित्नु समस्या बनेको थियो।

१५. विदेशमा विभेद

साउदी पुगें। भलिबल खेल्ने साथीहरूसँग परिचय गरें। म नै पुगेर त्यो कम्पनीमा पहिलो पटक भलिबल प्रतियोगिता राखें। एक जना एकाउन्टेन्ट थिए। सबैले मान्ने गुन्ने, केही परे सोध्न उनैकहाँ जाने, उनको सल्लाह मान्ने। कथित ठूलो जात हुँ र म नेपालीमध्ये सबैभन्दा माथिल्लो पोष्टमा छु भन्ने घमन्ड भएका तर मैले चिनिनँ उनलाई।

भलिबल खेल्न जाने र प्रतियोगिता राख्ने बारे सल्लाह लिइनँ। उद्घाटनको दिन पनि मैले आसन ग्रहणका लागि बोलाइनँ। मेरो घमन्ड हैन उनलाई चिनेको थिइनँ। पछि उनले मसँग जातीय प्रतिस्पर्धा लिए। जात जनायो भनियो। पछि मलाई समस्या पर्दा पनि उनले पर्ख र हेरको नीति अपनाए। जीवनमा साथको अपेक्षा गरेकाबाट पर्ख र हेरको यस्तो नीति धेरै पटक भएको छ।

१६. भाषामा विभेद

म कतार पुगें। हमाद एयरपोर्टको ब्रेक रुममा साथीहरू जम्मा थियौं। पल्लो टेबलका एक साथीले झट्ट भने ‘हात पनि कस्तो दकासाको जस्तो।’ मैले केही दिनपछि बल्ल अर्थ बुझें— दमाईं कामी र सार्की रहेछ। एक दिन कोठाकै साथीले छोरीको फोटो मोबाइलमा देखेपछि भने ‘कमिनी जस्ती पनि देखिन्न त।’

‘नू’ काठमाडौंमा बस्छिन्। बाहुन हौं भनेर पाइएको कोठा। घरबेटीकै छोरालाई ट्युसन पढाउँदा उनकी दिदीसँग फेसबुकमा एड भएको र उनको नामको अन्तिममा विश्वकर्मा छ। पछि केही त हलचल पैदा भएकै हो। लकडाउन ताका अर्को कोठामा बस्दा घरबेटीका सानातिना काम गरिदिन्थिन्। तर, उनीहरूले नजानिंदो आफ्नो समुदायको उछितो काढेको बताउँथिन्।

कामी, दमाईले भाडा तिर्दैनन्, छोडेर जान्छन्, सफा हुँदैनन् भनेर पटकपटक भन्दा म पनि कामी हो भनिन्। उनले पनि त्यही प्रश्न खेपिन् ‘तिमी त कामीजस्तो देखिंदैनौ!’ काठमाडौंमा कोठा खोज्नु भनेको मानव हुनुको अस्तित्व नरहेको ठान्नु हो भन्छिन्। गत सालको ‘रूपा’ प्रकरणले त झन् काठमाडौंका स्थानीयहरू निर्दयी बनेको बताउँछिन्।

मैले यी अनुभूति लेख्दै गर्दा एक, म्युजिसियन गिटारिस्ट सञ्जीव बराइली र मेलिना राईले इन्गेजमेन्ट गरेको खबरले सामाजिक सञ्जाल तताएको छ। राई साथीहरू अझ आफूलाई प्रगतिशील भनिने साथीहरूबाट तुच्छ शब्दका गाली बोली पढिरहेको छु। केही हप्ता अगाडि पिर गीतलाई लिएर पनि साथीहरूले प्रकाश सपूतलाई गाली गरे। सञ्जालमा सजिलै लेख्छन् ‘जात जनायो!’, ‘औकातमा आयो!’ मतलब विज्ञान र प्रविधिले पनि खोल्न सकेन हाम्रो सोचको ढोका। आरोप–प्रत्यारोपको लडाइँ चलिरह्यो।

दोस्रो, वैशाख महिना चुनावी माहोलले देशको कुराकानी तातेको छ। सञ्जालको विकास छ। भनावैरी र कित्ताकाट त आजको दैनिकी भइहाल्यो। गडेर रहेको जात व्यवस्था सञ्जालमा छरपस्ट देखिन्छ।

विवाहको महिना समजातीय प्रेम र विवाहका चर्चाहरूले सञ्जाल र समाज रङ्गीन छ। तर, अन्तरजातीय कुरा आए खनिन्छन् र कित्ता छुट्याउँछन्। आजित मिजारको शव शिक्षण अस्पतालमा अलपत्र रहँदा होस् या नवराज बिकसहित ६/६ जनाको नरसंहार हुँदासमेत मानवताको पक्षमा बोल्नुभन्दा पनि यो समयका युवाहरू पनि जातीय कित्तामा उभिन्छन्।

 रातारात तिम्रो पार्टीको पर्चा कसरी आउँछ?

जहाँ परीक्षा सिद्धिने बेलासम्म किताब आउँदैन।

– प्रदीप रोदन

करिब एक महिनामा चुवाको घोषणा, तयारी, दलबलसहित आ–आफ्नो पकडसहित तैनाथ रहन्छन् युवा। केन्द्रमा एक नेताले आफ्नो व्यक्तिगत लाभका लागि पार्टी नै अलग गर्न चाहे रातारात गाउँगाउँमा पार्टी अलग हुन्छन्। संगठन, मोर्चा र इकाईहरू खोलिन्छन्। यस पटकको चुनावमा यो अवस्था देखियो। २०६५ सालको निर्वाचन, मुलुक गणतन्त्रमा प्रवेशपछि २०७४ र २०७९ को निर्वाचनमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरूले अनेक सपनाका जाल बुनेर घोषणापत्र सार्वजनिक गरे।

महिला हिंसा र जातीय छुवाछूतलगायतका अनेकौं सामाजिक विसंगति अन्त्य गर्न महेन्द्रले २०२० को नयाँ मुलुकी ऐन जारी गरी नयाँ युगको प्रारम्भ गरेका थिए। तर कानुनमा छुवाछूत अपराध हो दण्ड गरिनेछ, भनिएको छ। सँगै देशका ठूला सहर पार्टी प्यालेस ठूला सभाहरू एकाधजस्तो नदेखिने जातीय छुवाछूत र विभेद अहिले पनि गाउँघर कुनाकाप्चामा यथास्थानमा जिउँदो छ। प्रमाण त नवराज बिकसहित ६ जनाको नरसंहार छँदैछ।

प्रविधिले फड्को मार्‍यो। हिजोभन्दा मानिसहरू पढाइ लेखाइमा अघि छन् तर पनि स्थानीय स्तर वा देशका कुनाकुनामा रहेको विभेद छुवाछूत हटाउन स्थानीयस्तरमा नै कसैको सोच र शक्ति देखिएन। स्थानय स्तरमै चासो बढेन वा जातीय विभेदको मुद्दा लिएर अघि बढे हार निश्चित छ भनी स्वीकारेका हुन्।

यो स्थानीयको जर्जर पीडा हो तर स्थानीयहरू नै मौन देखियो अनदेखा गरे। भीरमाथि भ्यूटावरको सपना देखाइयो त्यो भ्यूटावरबाट के हेर्ने हो कुन्नि तर एउटा घरको पिंढीबाट अर्को पिंढी हेर्न अझै पनि मुस्किल छ। स्थानीयस्तरले नबुझेको यो पीडा केन्द्रले के बुझ्ला र? युवा उठ्नुपर्छ, आउनुपर्छ स्वागत पनि छ।

तर ‘नू’ले कोठा पाउन मुस्किल सहर काठमाडौंमा अनेक आश्वासन देखाए युवाको तर्फबाट स्वतन्त्र उम्मेदवारले तर टड्कारो रूपमा जकडिएको कोठा पाउन मुस्किल समस्यालाई ती युवा मेयरले पनि अनदेखा गरे। यसको मतलब यही हो कि जातीय मुद्दा लिएन सरकार होस् या स्थानीय विभेद छ तर पनि चलिरहन्छ, मैले माने पनि घरमा बुवाआमाले मान्दैनन् उनीहरू पछि विस्तारै हट्छ भन्यो पन्छियोको अवस्था छ।

केही पार्टी, केही संस्था, केही व्यक्ति नलागेका पनि हैनन्। पार्टी र भ्रातृ संगठनका नारा पनि आफ्नो पार्टी सडकमा रहुन्जेल चिच्याउने हुन्, सत्ता पाएपछि गुपचुप रहने हुन्। देशी–विदेशी संस्थाहरू पनि समयावधि पूरा गर्ने, ‘यो हट्ने वाला हैन’ भन्ने मनोविज्ञान पालेर हिंड्ने। झोला बोकेर डिउटी पूरा गर्ने र भत्ता पचाउने मात्रै भएको छ। व्यक्तिविशेष गरी सामाजिक सञ्जालका र समाज सुधारका अभियन्ताहरू पनि मौसमी छन् धेरै मौसमी त लेखकहरू छन्।

अभियन्ता, सामाजिक सञ्जाल र व्यक्ति लेखकहरू विरोधमा लेख्नु केवल फेसन ट्रेण्ड भएका छन्। दिनभर अभियान चलाउने, फुर्सदमा देश विदेशबाट कुर्लने र एकाध छापामा लेख्नेहरू पनि बाहिर हुँदा बोलेजस्तो गर्ने र आफ्नो कोठामा छिरेपछि पुरानै संरचनामा फर्किने हुन्।

दलित एकता आवश्यक

शत्रु को हो पहिचान हुनुपर्छ। लडाइँको मैदानमा उत्रिने तर शत्रुको पहिचान नभएपछि लडाइँ जितिन्न। केवल लडिरहनुपर्छ। लडिरहँदा कहिले ठूला शक्तिसँग झुक्नुपर्छ त कहिले साना शक्तिहरूमाथि धावा बोल्नुपर्छ। आफ्नो जीत, गन्तव्य र शक्तिको पहिचान हुँदैन। नेपालमा यो कुरा ठ्याक्कै आफूलाई दलित अधिकारकर्मी भन्नेहरूसँग मिल्छ। हरेक पक्ष उनीहरूका शत्रु हुन्।

जनस्तरमा हल्ला मच्चाउँछन्, उचाल्छन् र अर्को खजाना मिल्ने बित्तिकै अघिल्लो मुद्दा बिर्सिन्छन्। एकै पटक हजार मुद्दामा हात हाल्दा केवल बोल्न सकिएला मुद्दाका सूची लामा बन्लान् तर निकास निक्लिंदैन। कहिलेकाहीं जित्नका लागि शत्रुसँगै मिलेर हिंड्नुपर्छ। वारपार भएर त केवल लडिरहने हो। पूर्ण शक्तिसहित पारि तर्ने वा त आधाउधि मिलेर दुवैले सखाप पार्ने हो तर नेपालमा यो देखिन्न। केवल तँ खराब होस् र म सही हो भन्यो दोष थुपार्‍यो आफू आफैंमा श्रेष्ठ कहलियो समस्या जहाँको त्यहीं छ।

दलित बीचकै एकता पनि आफ्नो समुदायलाई कमजोर बनाउने एउटा कारण हो। दलितको तीन खोमा एक, धर्म परिवर्तन गरे मुक्ति मिलिहाल्छ भन्नेको भीड, दोस्रो, यहीं र यही धर्ममा जन्मियौं हुर्कियौं यसैभित्रको कुरीति सच्याएर अघि बढ्नुपर्छ भन्ने भीड। तेस्रो, विल्कुल नास्तिक हुनु दलितको हित हो भन्ने भीड। यी कारणले ६० लाख दलितमा एकता हुनसकिरहेको छैन।

निष्कर्ष

अबको युग समय र सन्दर्भअनुसार अबको सोच बिल्कुल नयाँ हुनुपर्छ। यो पुरानो विरोधको ढर्राको पनि काम छैन। एकाध बाहेक दलित समुदाय र वर्गमै यसपालिको स्थानीय चुनावमा दलितहरूको सक्रियता देखिएन। यसरी हुन्न, हुँदै हुन्न। गणतन्त्रले दिएको सुन्दर उपहारस्वरूप स्थानीयस्तरबाटै युवाहरू स्वतन्त्रबाटै सही उठ्नु र जाग्नुपर्छ। जसरी चुनावमा गाउँगाउँमा रातारात पर्चा पुग्छ, यसरी नै स्थानीय वा स्थानीय दलितहरू स्वयम् जागेर जसरी राणाकालले सती प्रथाको उन्मूलन गर्‍यो यसरी नै जातीय छुवाछूतको पनि अन्त्य हुनै पर्छ।

विडम्बना कानुनमा अपराध मानिएको ६० वर्ष अर्थात् आधाभन्दा बढी शताब्दी बितिसक्दा पनि जातीय छुवाछूत र विभेद १९१० को मुलुकी ऐन नै पालना गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?