+
+

‘अल्लारे’को खेल भनिने स्नुकरप्रति फेरिँदै छ दृष्टिकोण

पोखरामा स्नुकरको राष्ट्रिय प्रतियोगिता, प्रमुख सहरका १२८ जना सहभागी हुने

विकास रोकामगर विकास रोकामगर
२०७९ साउन २९ गते १७:०८
पोखरामा हुने स्नुकरको राष्ट्रिय प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेनल ।

२९ साउन, पोखरा । नेपाल विलियार्ड तथा स्नुकर संघ गठन भएपछि २०५२ सालमा औपचारिक रुपमा स्नुकरले नेपालमा प्रवेश पाए पनि खेलकै रुपमा चिनाउन लामो समय लाग्यो ।

कारण थियो स्नुकरप्रति आममानसको बुझाइ । हुन पनि हो, जहाँ स्नुकर हुन्थ्यो त्यहाँ युवाहरुको झुन्ड हुन्थ्यो । युवाहरु नसाको तालमा झुम्दै स्नुकर खेल्थे । होहल्ला र झैंभगडाले स्नुकर खेलिने ठाउँहरु बदनाम थिए । कतिपय ठाउँमा त प्रशासनले नै स्नुकर हटाइदिएको थियो । त्यसैले स्नुकरप्रति नकरात्मक धारण बनेको थियो ।

‘सुरुसुरुमा स्नुकर खेल्ने ठाउँ बिग्रेका केटाहरुको जक्सन नै हुन्थ्यो, होहल्ला र झैंझगडा पनि धेरै हुन्थ्यो,’ नेपाल विलियार्ड स्नुकर तथा पुल संघ कास्की अध्यक्ष सागरकुमार शाहीको अनुभव छ, ‘त्यही भएर पनि यो खेलप्रति सधैं नकारात्मक दृष्टिकोणमात्रै बन्यो ।’

संघका वरिष्ठ उपाध्यक्ष राजु गुरुङको अनुभव पनि उस्तै छ । सुरुआती चरणमा टोल विकास समूह, आमा समूह, प्रहरी प्रशासनले नै स्नुकरलाई खेल भनेरै नस्वीकारेको उनी सुनाउँछन् । ‘यो पनि खेल नै हो, यसमा पनि बल होइन बुद्धि नै लगाउने हो,’ उनले भने, ‘राम्रोसँग नबुझिदिँदा हेर्ने नजर नै गलत हुन गयो ।’

तर, अहिले भने विस्तारै यो खेलप्रति आम जनमानसको दृष्टिकोण सुधारिँदै गएको छ । ‘अहिले त धेरै सुधार भइसक्यो । आमा समूह, प्रहरी प्रशासनबाट यो खेललाई सभ्य, मर्यादित र अनुशासित बनाउन सहयोग हुँदै आएको छ,’ गुरुङ भन्छन्, ‘तर, यो परिवर्तनका लागि पनि धेरै दुख गर्नुपर्‍यो ।’

विलियार्ड तथा स्नुकर संघले कमीकमजोरीलाई कमी गर्दै स्नुकरलाई मर्यादित र अनुशासित बनाउन थुप्रै प्रयास गरेको अध्यक्ष शाहीको दाबी छ । ‘यो खेलप्रतिको गलत नजर हटाउन हामीले स्कुल, कलेज ड्रेस लगाएका विद्यार्थीलाई प्रतिबन्ध गरेका छौं, खेल्नै चाहे उनीहरुको बिदाको समय मिलाउन भनेका छौैं,’ उनले भने, ‘यसले आर्थिक रुपमा हामीलाई घाटा त भएको छ । तर, खेलप्रतिको दृष्टिकोण सुधारियो ।’

कुनैबेला ‘अल्लारेहरुको खेल’ पहिचान बनाएको स्नुकरले सामाजिक रुपमा आफ्नो पहिचानमा सुधार्दै ल्याए पनि सरकारी तवरबाट भने बेवास्ता गरिएको संघको आरोप छ । केही वर्षअघिसम्मका राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिँदै आएको स्नुकर आठौं संस्करणदेखि हटाइएको छ ।

छैटौैं र सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएको स्नुकरलाई आठौं संस्करणमा हटाइएको थियो, नवौं संस्करणमा पनि स्नुकर समावेश गरिएको छैन ।

स्नुकरलाई राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश नगरिएकोमा खेलाडी रुष्ट छन् । ‘सातौंसम्म हामीले आफ्नोे खेल देखाउन पाइरहेका थियौं । तर, आठौंदेखि हटाइयो । अहिले (नवौं संस्करण) पनि राखिएको छैन,’ स्नुकरका राष्ट्रिय खेलाडी महेन्द्र नेपाली दुखेसो पोख्छन्, ‘स्नुकरमै लागेर पनि स्कोप भएन ।’

स्कुकर खेल्न नेपालको प्रतिनिधित्व गर्दै देशका विभिन्न खेलाडी थुप्रै देशमा पदक जितेर आए पनि ती आफूहरुलाई खेलाडीकै रुपमा नलिइएको आरोप उनीहरुको छ । ‘नवौैंमा समावेश गर्न पटकपटक आग्रह पनि गरिरहेका छौं, ध्यानाकर्षण पनि गराउन चाहन्छौं,’ अर्का राष्ट्रिय खेलाडी मनिष प्रधान भन्छन् ।

पोखरामा पहिलो खुला राष्ट्रिय स्नुकर प्रतियोगिता

सरकारी तवरबाट  बेवास्ता गरिएको र राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश नगराए पनि यसका प्रतियोगिता आयोजना गर्न स्नुकर क्लब आफैं अघि सरेका छन् ।

पोखराकै देवीज् स्नुकर क्लबले भदौ १२ देखि १९ गतेसम्म पोखरामा खुला राष्ट्रिय स्नुकर प्रतियोगिता गर्ने घोषणा गरेको छ । प्रतियोगितामा पोखराका ४८ र बाहिरका ८० गरी देशका प्रमुख सहरका १२८ जना सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले एक लाख ५१ हजार १११, द्वितीय हुनेले ७१ हजार १११, सेमिफाइनलिस्ट (२ जना)ले प्रति खेलाडी १५ हजार १११ र हायस्ट ब्रेकर हुनेले २१ हजार १११ रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका प्रतियोगिता संयोजक शंकर गुरुङले जानकारी दिए ।

अर्थ संयोजक प्रदीप रसाइलीका अनुसार प्रतियोगिता १८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । जसमध्ये खेलाडीले दर्ता शुल्कवापत ३ हजार रुपैयाँ तिर्नुपर्ने छ ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?