+
+

भारतसँग झस्किए चिया उत्पादक

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ साउन ३० गते १८:५९
फाइल तस्वीर

३० साउन, काठमाडौं । गत साता पूर्वी नेपालका चिया उत्पादकको एक समूह काठमाडौं आएर एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनाललाई भेटे ।

खनालको साथ लागेर उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, कृषि सचिव र चिया विकास बोर्डका अधिकारीहरुलाई भेटे ।

सरकारसँग चिया उत्पादक एउटै गुनासो थियो, ‘नेपालको चिया निर्यातमा भारतबाट रोक लाग्ने सम्भवना छ ।’

भेटमा सहभागी संघका पूर्वअध्यक्ष उदय चापागाईं भन्छन् ‘भारतले यस्तो अप्रिय निर्णय गर्नुअघि नेपालले आवश्यक समन्वय र पहल गर्नु जरुरी छ भन्ने कुरा सबै सरकारी निकायलाई भनेका छौं ।’

सन् २०१३ देखि नै विभिन्न बहानामा नेपालको चियालाई प्रतिबन्ध लगाउन भारतीय चिया व्यापारीले कसरत गर्दै आएको दुई देशबीचको ब्यापारका जानकारहरु बताउँछन् । त्यसो त नेपाल भारत वाणिज्य सन्धि र यसका कतिपय प्रावधानका कारण भारतले अहिलेसम्म यस्तो निर्णय गरिसकेको छैन । तर, यस पटक भने यो विषय पहिले भन्दा पेचिलो बनेको छ ।

चियाबारे भारतले गरेको के हो ?

भारतका लोकसभा सांसद विजयसाई रेड्डी नेतृत्वको समितिको १७१औं प्रतिवेदन १ असार (१५ जुन २०२२) भारतको राज्यसभा र लोकसभामा पेश भएको थियो । ‘भारतीय चिया उद्योगको असर विशेष गरी दार्जिलिङ क्षेत्र’ शीर्षकको प्रतिवेदनमा नेपालको सस्तो र कम गुणस्तरको चियाका कारण भारतको ख्याति प्राप्त दार्जिलिङ चियाको ब्रान्ड बिग्रिएको दाबी गरिएको थियो । भारतीय चियाको संरक्षण गर्न नेपाली चिया आयात प्रतिबन्ध लगाउन वा भन्सार दर ४० देखि एक सय प्रतिशतसम्म बनाउन उक्त प्रतिवेदनमा भारत सरकारलाई सुझाव दिइएको छ ।

भारत सरकारले यो प्रतिवेदन अनुसार निर्णय भने गरेको छैन । तर, सोही प्रतिवेदनबाट झस्किएका चिया उत्पादक यतिबेला भने सरकारलाई भारतसँग वाणिज्य वार्ता गर्न र नेपाली चियाको निर्यात रोकिन सक्ने खतरातर्फ सचेत गराइरहेका छन् ।

भारतमा नेपाली चिया बजार

नेपाल चिया उत्पादक संघका अनुसार नेपालबाट वार्षिक १ करोड ७० लाख किलो चिया भारत निर्यात हुन्छ । जसको मूल्य साढे चार अर्ब रुपैयाँ हाराहारी हुन आउँछ । जसमध्ये एक करोड किलो सीटीसी र ७० हजार किलो पहाडी चिया भएको संघका अध्यक्ष सुरेशकुमार अग्रवालले बताए ।

नेपाल सरकारले भारतीय चिया आयातमा ४० प्रतिशत भन्सार लगाएको छ । तर, सन् १९५० को वाणिज्य सन्धिका कारण नेपाली चिया निर्यातमा भारतले शुल्क लिन पाउँदैन ।

‘भारत अहिले कि आफ्नो चियालाई पनि शून्य भन्सार दिनुपर्ने वा नेपालबाट निर्यात हुने चियालाई पनि समान वा त्यो भन्दा धेरै भन्सार लगाउने प्रयत्न गरिरहेको छ’ अध्यक्ष अग्रवाल भन्छन् ।

भारतीय सांसदहरुको प्रतिवेदनमा उल्लेख तथ्यांक अनुसार पछिल्लो २ आर्थिक वर्षमा भारतमा आयात हुने चियामा नेपालको हिस्सा ५० प्रतिशत हाराहारी छ । आर्थिक वर्ष २०१९/२० मा नेपालबाट ७ करोड २९ लाख र आर्थिक वर्ष २०/२१ मा १० करोड ७४ लाख किलो चिया निर्यात भएको थियो । भारतले सो वर्ष क्रमशः १५ करोड ५४ लाख किलो र २७ करोड ७५ लाख किलो चिया आयात गरेको थियो । नेपालले भारतीय बजारमा सरदर प्रतिकिलो ५६० रुपैयाँमा चिया बिक्री गर्दै आएको छ ।

भारतसँग डर

नेपाल चिया उत्पादक संघका अनुसार सांसदहरुको सुझावबारे भारत सरकारले कुनै निर्णय गरेको छैन । तर, नेपाली उद्योगी र व्यवसायीहरु यसबारे निर्णय हुन सक्ने त्रासमा भने रहेको संघका अध्यक्ष अग्रवाल बताउँछन् ।

‘मुख्यतः भारतले नेपालबाट कम गुणस्तरको चिया भित्रिएको र त्यसले आफ्नो मुलुकको दार्जिलिङ र असाम चियाको ब्रान्डमा फरक परेको आरोप लगाएको छ,’ अध्यक्ष अग्रवालले भने, ‘हामीले यसबारे सरकारलाई जानकारी मात्रै गराएको हो ।’

अहिलेसम्म भारतमा चिया निर्यात सहज रहेको उनको भनाइ छ । वाणिज्य सन्धि पुनरावलोकनका क्रममा भारतले यो विषय उठाउन सक्ने डर चिया उद्योगीलाई छ ।

धागो र अदुवा जस्तै हुने डर

आर्थिक वर्ष २०७४/७५ मा नेपालबाट निर्यात हुने प्रमुख वस्तु अदुवाको निकासीमा भारतले रोक लगाएको थियो । चियामा पनि भारतले यही नीति लिन सक्ने त्रास चिया उद्योगी र व्यापारीमा हुन सक्ने पूर्व वाणिज्य तथा आपूर्ति सचिव चन्द्र घिमिरे बताउँछन् ।

आफ्नो मुलुकको उत्पादनलाई बजार सुनिश्चित गर्न नेपाली उत्पादनमाथि बाह्य मुलुकले प्रतिबन्धनको नीति लिँदै आएकाले कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने उनको भनाइ छ ।

‘विश्व व्यापार र नेपाल भारत व्यापार सन्धीले पनि नदिने यस्तो अधिकार प्रयोग बेला बेलामा हुन सक्छ तर यसलाई कुशल कूटनीतिमार्फत सरकारले समाधान गरिनुपर्छ,’ घिमिरेले भने, ‘नेपाली वस्तुको निर्यात रोक्नुमा ती मुलुकले कुनै न कुनै आरोप लगाएका हुन्छन् र ती आरोप चिर्नेगरी नेपाली पक्षले काम गर्नुपर्छ ।’

आर्थिक वर्ष २०७४/७५ मा टर्कीले पनि नेपाली धागोमा प्रतिबन्ध लगाएको थियो । इन्डोनेसिया र भारतबाट धागो ल्याएर टर्की पठाएको भन्दै लागेको आरोप चिर्न सबै उद्योगमा प्राविधिक पठाएर रिपोर्ट बनाएर सहसचिव स्तरको वार्तामा ब्रिफिङ गरेर टर्कीलाई विश्वस्त बनाएको घिमिरेले स्मरण गरे ।

त्यसपछि वार्षिक ५ अर्बको धागोको बजार फिर्ता भएको उनी बताउँछन् ।

यस्तै, भारतसँगको तारन्तार वाणिज्य कूटनीतिकै कारण अदुवाको प्रतिबन्ध नेपालका लागि मात्रै हटाउन भारत तयार भएको पनि उनले सम्झिए ।

प्रधानमन्त्रीको आश्वासन

चिया उद्योगीको कुरा सुनेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले समस्या आउन नदिने आश्वासन दिएका उद्योगी उदय चापागाईंले बताए । नेपाल चिया तथा कफी विकास बोर्डकाअनुसार नेपालको चिया आयात रोक्ने भारतीय तयारीबारे मुलुकका सबै निकाय भारतसँग छलफलमा जुटेको छ ।

वाणिज्य मन्त्रालयले आन्तरिक र कूटनीतिक छलफल गरिरहेको र भारतसँगको व्यापार बैठकमा यसबारे प्राथमिकताका साथ छलफलको तयारी भइरहेको बोर्डका कार्यकारी निर्देशक डा. बिष्णुप्रसाद भट्टराईले बताए ।

भारतबाट पनि औपचारिक कुनै निर्णय नभएका कारण नेपालले पनि अनौपचारिक कुटनीतिक छलफल गरेको उनले बताए । ‘नेपालले आफ्नो अनौपचारिक सबै संयन्त्र परिचालन गरेको छ, भारतबाट यस्तो निर्णय नहुनेमा हामी आशावादी छौं’ कार्यकारी निर्देशक भट्टराईले भने ।

बोर्डका अनुसार नेपालमा १६ हजार ९०५ हेक्टर क्षेत्रफलमा चिया खेती गरिन्छ । जसबाट वार्षिक २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन हुन्छ जसमध्ये २ अर्ब ७८ करोड मूल्य बढीको ११ हजार मेट्रिक टन चिया वार्षिक रुपमा निर्यात हुन्छ । नेपालको चिया उत्पादनमा १४ हजार कृषक प्रत्यक्ष सहभागी हुन्छन् ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?