+
+

रामचन्द्र पौडेल भन्छन् : जहाँबाट चुनाव हारें, त्यहीँबाट जितेर मात्र मर्न चाहन्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते १८:२०

३ भदौ, पोखरा । तनहुँ क्षेत्र नम्बर १ मा यसअघि चुनाव हारेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यसपटक पनि उम्मेदवारी दिने बताएका छन् । तनहुँमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले आफू उम्मेदवार हुँदा अरुको दाबी नहुने जिकिर गरेका छन् ।

यसअघि चुनाव हारेको क्षेत्रबाट चुनाव जितेरमात्र आफू मर्न चाहेको पौडेलले बताएका छन् । ‘मैले साथीहरुलाई भनेको छु, मैले जहाँबाट चुनाव हारें, त्यहीँबाट जितेरमात्र मर्न चाहन्छु,’ नेता पौडेलले भने । आफू चुनाव लड्ने भएपछि अरु पार्टीका नेताहरुको दाबी नलाग्ने पौडेलको भनाइ छ ।

२०७४ सालको चुनावमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)सँग पौडेल पराजित भएका थिए । तनहुँ क्षेत्र नम्बर १ मा कुल खसेको ६७ हजार ८ सय ३ मतमध्ये श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याएर विजयी भएका थिए । नेता पौडेलले २७ हजार ६ सय ९० मत ल्याउँदा ६ हजार ८ सय २ मतान्तरले श्रेष्ठ विजयी भएका थिए ।

नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन भएपछि श्रम मन्त्रीसमेत बनेका श्रेष्ठ यो चुनावमा पनि उठ्न चाहान्छन् । उनकै लागि माधवकुमार नेपालले तनहुँ क्षेत्र नम्बर १ मागेको चर्चासमेत थियो । तर, पौडेलले गठबन्धनको सूत्रधार नै आफू भएको र आफू उम्मेदवार हुन्छु भन्दा अरुको दाबी नपुग्ने बताएका छन् ।

‘उहाँले दाबी गरेपछि मेरो केही लाग्दैन भनेर मलाई अर्को व्यवस्था गरिदिनुस् केही भनेर माधवजी र मसँग उहाँको उम्मेदवार (कृष्णकुमार श्रेष्ठ)ले भनिसक्नुभएको छ,’ पौडेलले भने ।

तनहुँका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुलाई राखेर आफूले सल्लाह गरिसकेको पौडेलको भनाइ थियो । नेता पौडेलले सबै पार्टीसँग सल्लाह गरेर गठबन्धनबाट जित्ने गरी चुनाव लड्ने बताए ।

‘शीर्ष नेता नेता तनहुँका केन्द्रीय सदस्यहरुसँगसमेत छलफल गरेको छुँ, जिल्लाका साथीहरुसँग पनि छलफल भइरहेको छ,’ नेता पौडेलले अनलाइनखबरसँग भनें, ‘औपचारिक रुपमा निर्णय गरेर अगाडि बढ्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?