+
+
पुस्तक :

पटक–पटक लेख्दै मेट्दै गरिएको अराजक किताबको कथा

प्रवीण प्रवीण
२०७९ भदौ ४ गते १९:००

.

हंगेरीमा ‘जुला’ भन्ने एउटा सानो सहर थियो। अहिले त्यो सहर हलक्कै बढेको छ। निकै ठूलो भइसकेको छ। त्यहाँ एउटा १४/१५ वर्षे केटो, एउटा बूढो घरको बूढो बन्द ढोकामा एकोहोरिएको थियो। केहीबेरपछि त्यो ढोकाबाट एउटा बूढो मान्छे बाहिर निस्कियो। उसले १८औं शताब्दीमा कतै गुमनाम भएको हंगेरियन-पोशाक लगाएको थियो। त्यो केटोलाई त्यस लुगाको नाम थाहा थिएन।

ऊ त्यो बूढोलाई गल्लीको बाटो हुँदै पछ्याउन थाल्यो। त्यो बूढो एउटा ठूलो कंक्रिटको पुलमा पुग्यो। र त्यहीं उभियो। केटो एउटा रुखमा लुकेर त्यो बूढोलाई हेरिरहेको थियो। ऊ यसै गरेर, विगत केही वर्षदेखि बूढोको जासुसी गरिरहेको थियो। किन ? – उसलाई थाहा थिएन।

उसलाई लाग्थ्यो, त्यो बूढो मान्छे कुनै परी या दन्त्यकथाको पात्र हो। उसलाई आफ्नो सानो सहर पनि कुनै मिथिकल ठाउँ जस्तो लाग्थ्यो, जहाँका मान्छेहरू सामान्य भएर पनि सामान्य थिएनन्। कथाका पात्र जस्ता थिए, कुनै जर्नेल या कर्णेल जस्ता !

उसलाई केही पनि थाहा थिएन। उसलाई बस् यत्ति थाहा थियो, त्यो बूढो वर्षमा एकचोटि मात्र घरबाट बाहिर निस्किन्थ्यो। मार्च १५, यही तारिखको दिन। सधैं, त्यही लुगा लगाएर। र ऊ केही पनि गर्दैनथ्यो, आफ्नो घरबाट निस्किन्थ्यो। त्यो पुलमा पुग्थ्यो, एकछिन त्यहीं बस्थ्यो। एकोहोरिन्थ्यो। र फेरि आफ्नै घर फर्किन्थ्यो। र अर्को वर्षको मार्च १५ सम्म घरबाट बाहिर निस्किंदैनथ्यो।

उसलाई त्यो बूढोको बारेमा केही पनि थाहा थिएन। उसलाई कसैले उसको बारेमा केही भनिदिएको पनि थिएन। उसलाई बस् यत्ति थाहा थियो – मार्च १५ हरेक हंगेरियनको लागि एउटा महत्वपूर्ण दिन हो। सार्वजनिक विदाको दिन हो। किनकि यसै दिन सन् १८४८ मा, हंगेरियन रिभोलुसन सुरु भएको थियो।

.

त्यो केटो, १८ वर्षको उमेरमा त्यो सानो सहर र आफ्नो परिवारलाई छोडेर भाग्यो। आफू जन्मेको सहर र परिवारलाई छोडेपछि, ऊ मनमौजीको जिन्दगी बिताउन थाल्यो। त्यतिबेलासम्म उसको १८औं शताब्दीका रसियन लेखकहरू जस्तैः दोस्तोवस्की, टोल्स्टोय, चेखब, गोन्चारोब आदिसँग एकप्रकारको छुट्टै लगाव बसिसकेको थियो। ऊ, ती लेखकहरूको आफ्नो जिन्दगी र तिनीहरूको पात्रहरूसँग अब्सेस्ड थियो। यही कारणले पनि ऊ आफ्नो मध्यमवर्गीय जिन्दगीलाई झन् तल गिराएर एउटा उत्पीडित र दयनीय जिन्दगी बिताउन चाहन्थ्यो। समाजमा आफूलाई सबैभन्दा तल्लो दर्जामा उभ्याउन चाहन्थ्यो।

उसले सानातिना धेरै काम गर्यो। ऊ आफ्ना जागिरहरू बदलिरहन्थ्यो। किनकि तत्कालीन कम्युनिस्ट हंगेरीमा छोरा मान्छेहरू जो कोही पनि अनिवार्य निश्चित समयको लागि सैन्य सेवामा जानुपर्ने हुन्थ्यो। जुन बाध्यतालाई ऊ आफ्नो जिन्दगीबाट पन्छाउन चाहन्थ्यो। तर पछि गएर उसले त्यो बाध्यतालाई स्वीकार्नु सिवाय केही उपाय रहेन। समयक्रममा त्यो केटो पनि सेनामा गयो, जसलाई क्रूर सैन्य प्रशिक्षणले झन्डै मारेको थियो।

हंगेरीको तत्कालीन कम्युनिस्ट समयमा, जो कोहीले पनि काम गर्नुपर्ने अनिवार्य थियो। ऊ हंगेरीका थुप्रै ठाउँमा पुग्यो। उसको दुब्लो शरीरले माइनिङको काम गर्यो। ६ वटा गाउँहरूको ‘हाउस अफ कल्चरल डाइरेक्टर’को पनि काम गर्यो। उसले त्यहाँका स्कुलहरूमा प्राथमिक तहलाई पढायो पनि र त्यहाँका साना लाइब्रेरीहरूलाई म्यानेज पनि गर्यो। त्यतिबेला ऊ जम्मा १९ वर्षको थियो।

एकदिन उसको यो काम पनि बन्द भयो, जब कसैले ‘हाउस अफ कल्चर’को भवनमा आगो लगाइदियो। ऊ त्यस गाउँलाई छोडेर सहर पुग्यो, जहाँ उसले एउटा डेरी फार्ममा वाचम्यानको जागिर भेट्टायो। त्यो काम उसको जिन्दगीको सबैभन्दा राम्रो जागिर थियो। करिब त्यस्तै ३९० गाईहरूको बीच, उसले त्यहाँका गोठहरूमा एकप्रकारको छुट्टै शान्ति भेट्टायो। ती गाई र गोठलाई स्याहार्नुमा नै उसले आनन्द पायो।

र उसले त्यही समयदेखि नै आफ्नो दिमागमा एउटा किताब लेख्न थाल्यो। कुनै टेबलमा, जहाँ शब्दकोश र किताबहरू छन्, जहाँ सबथोक मिलेको छ, जहाँको झ्यालबाट सुन्दर दृश्य देखिन्छ, ऊ त्यस्तो ठाउँमा बसेर केही पनि लेख्न सक्दैनथ्यो। ऊ ट्रेनभित्र, ट्रेन स्टेसनहरूमा, र धेरैजसो हिंडिरहेको बेला लेख्थ्यो तर ऊ कापीमा लेख्दैनथ्यो, आफ्नो दिमागभित्रै लेख्थ्यो किनकि ऊ यस्तो लेखक थियो, जो कथालाई पहिले आफ्नो मगजभित्र उमारिसक्छ अनि मात्र अक्षरहरूमा उतार्छ। ऊ आफ्नो मस्तिष्कभित्रै १५/२० पेज लेखिसक्थ्यो अनि पछि त्यसलाई कागजहरूमा पोख्न थाल्थ्यो।

ऊ अर्थात् ‘लाज्लो क्रास्नहोर्काई’ – एक अजीब लेखक, जो अहिले हंगेरीको चिरपरिचित लेखक हो, जसलाई कहिल्यै लेखक बन्नु नै थिएन, जसलाई कहिल्यै केही पनि बन्नु थिएन।

सेतानट्याङ्गो

.

“हामी पर्खाइमा वर्तमानलाई गुमाउँदै जान्छौं- जसरी गन्तव्यको आशमा यात्रालाई भुलिदिन्छौं !”

मलाई लाग्छ, ‘सेतानट्याङ्गो’ एउटा पागलपनको किताब हो। ‘लाज्लो क्रास्नहोर्काई’लाई यो किताब लेख्नु नै थिएन। ऊ बस् आफ्नो मगजभित्रको ब्रह्माण्ड, जो आजसम्म अस्तित्वमा छैन, त्यसलाई सुरक्षित राख्न चाहन्थ्यो। र उसलाई थाहा भयो कि, उसको दुनियाँलाई शब्दहरूले मात्र सुरक्षित गर्न सक्छन्। उसले आफ्नो दुनियाँलाई संगीतमा पनि जिउँदो राख्न सक्थ्यो तर १८ वर्षको उमेरमा नै उसलाई थाहा भयो कि ऊ मान्छेहरूको अघि आफूभित्रको सांगीतिक कलालाई अभिव्यक्त गर्न असमर्थ छ। त्यसैले पछि उसले यो किताब लेख्यो। अनि आफूले यो किताब लेखिसकेपछि अरु कुनै पनि किताब नलेख्ने निर्णय गर्यो, जुन निर्णयमा ऊ आफू पछि गएर इमानदार हुन सकेन।

यसको पनि एउटा कारण थियो – जब ‘भियान्ना’मा ऊ आफ्नो किताब ‘सेतानट्याङ्गो’को दोस्रो च्याप्टरका केही हरफहरू पढिरहेको थियो, तब उसले त्यहाँ केही समस्या भेट्यो। उसलाई लाग्यो, किताबको लय कतै गायब भएको छ। ऊ अझै पनि किताबहरूमा एउटा रिदम हुनुपर्छ भन्ने कुरामा विश्वास गर्छ। उसले आफूले आफैंलाई यो गल्तीको लागि माफी दिन सकेन। त्यसैले उसले आफ्नो दोस्रो किताब लेख्यो – ‘द मेलान्कोली अफ रेजिस्टेन्स’ – जसमा उसले पहिलो किताबको गल्तीलाई दोस्रो किताबमा सुधार्न खोज्यो। तर पछि यो किताबमा पनि उसले सानोतिनो गल्ती भेट्यो। यसरी हरेकपल्ट एउटा पर्फेक्ट रिदिमको किताब लेख्ने कोसिसमा उसले स–साना गल्तीहरू गर्दै गयो र त्यसलाई सुधार्न अरु थप किताबहरू लेख्दै गयो।

लाग्छ, कुनैकुनै किताबको वजन यति गह्रौं हुन्छ कि त्यसलाई पढिसकेपछि तपाईंको मस्तिष्क एउटा भरियामा रुपान्तरण हुन्छ – जसको ‘डाक्रो’भित्र एउटा बडेमानको ढुङ्गा लेखकले छोडिदिएको छ। त्यही ठूलाठूला ढुङ्गाहरू बोकेको किताब हो – ‘सेतानट्याङ्गो’। एउटा यस्तो अद्भुत, अनौठो, विचित्रको किताब, जसका हरेक पाना पल्टाउँदा, अगाडिको भन्दा पछाडिको पाना गह्रुगो हुँदै जान्छ। कथाको वजन बढ्दै जान्छ। वास्तवमा यो किताब कुनै पात्रको कथा नभएर, हालत वा अवस्थाको कथा हो, जो आफ्नो वातावरणमा परेको पानीझैं उदास छ, उजाड छ, दु:खी छ र जहाँ हरेक पात्रको मनस्थितिमा प्रलय ताण्डव गरिरहेको छ।

यो एउटा यस्तो अराजक किताब हो, जहाँ लामा–लामा वाक्यहरू छन्, अनुच्छेदहरू छन्; जस्तो एउटा च्याप्टर नै एउटा सिङ्गो अनुच्छेद बनेको छ। यस उपन्यासमा १२ वटा च्याप्टरहरू छन् र हरेक च्याप्टर एउटा अनुच्छेद हो। पहिलो खण्डमाः च्याप्टर १ देखि ६ सम्म कथा रहस्यमय ढङ्गले अघि बढेको छ। जसमा कसैको पर्खाइ छ। एउटा आशा छ। हरेक पात्रहरूको आँखा छन्, नजरिया छन्, उनीहरूका कथा छन् र केही हुन्छ कि भन्ने एउटा जिज्ञासा छ। शंका छ। छैटौं च्याप्टरमा एउटा ठूलो घटना घट्छ र त्यस च्याप्टरमा एउटा सिङ्गो अनुच्छेद पहिलोचोटि टुक्रिन्छ। त्यो टुक्रिनुको पनि कारण छ, त्यसको पनि त्यहाँ छुट्टै अर्थ छ। त्यसपछि कथा उल्टो हिंड्न थाल्छ। दोस्रो खण्डमाः च्याप्टर ६ देखि च्याप्टर १२ सम्म पुगेर कथाले एउटा गोलो घेरा बनाउँछ।

यस उपन्यासभित्र कथा र पात्रहरू यसै निसासिरहेका छन् – जहाँ कथा घिस्रिदै एउटा बिन्दुमा पुग्छ र फेरि त्यही लयात्मक बाटो भएर फर्किन थाल्छ। यसको कथावाचन शैली बिल्कुलै नयाँ र रोचक छ। लेखकले कल्पना गरेको यस डाइस्टोपियन कथामा, ढलेको कम्युनिजमभित्र गुम्सिएको तत्कालीन हङ्गेरी देख्न सकिन्छ। अनि यसको क्लाइमेक्स, यसको अन्त्यले पाठकलाई कैयौं दिनसम्म सिलिङतिर हेरेर एकोहोरिने बनाइदिन्छ।

पश्चिमी दर्शनमा ६ अंक सैतान या दानवको अंक मानिने गरिन्छ। सायद यस कारण पनि किताबमा सीधा र उल्टो हिंडिरहेका ६/६ च्याप्टरहरू छन्। सेतान, अर्थात् राक्षस। ट्याङ्गो, अर्थात् एउटा नृत्य- जसमा एक कदम अगाडि सारेपछि अर्को कदम पछाडि सार्दै नाचिन्छ, कदम-कदम को नृत्य। यस किताबभित्रको ‘राक्षसको नाच’ औधी रोमाञ्चक र रहस्यमयी छ।

यस उपन्यासको कुरा गरिरहँदा, म यहाँभित्रको ‘इरिमिस’ भन्ने पात्रलाई खुब सम्झिरहेको छु। यो उपन्यासको कथा यही पात्रको वरिपरि घुमेको छ। ऊ को हो ? उसले कस्तो विचार बोकेको छ ? ऊ सही छ या गलत ? ऊ कुनै गुरु हो या लुटेरा हो ? भगवान हो कि दानव हो ? – यो कुरा कसैलाई थाहा छैन। कम्तीमा मलाई चाहिं थाहा छैन। ऊ रहस्यमयी छ, या ऊ आफैंमा एक रहस्य हो। रहस्य अर्थात् ‘इरिमिस’ अर्थात् यस उपन्यासको मेरो सबैभन्दा प्रिय पात्र।

अन्ततः ‘सुजान सोताङ’ले ‘क्रास्नहोर्काई’लाई “विनाशकारी कथाहरूको गुरु” भनेझैं, यो किताब – ‘सेतानट्याङ्गो’ आफैंभित्र आफ्नो नामझैं सैतान, राक्षस, दानवहरूको नृत्य नाचिरहेको छ।

‘लाज्लो क्रास्नहोर्काई’, सन् २०१५ मा ‘द म्यान बुकर इन्टरनेशनल प्राइज’ (जुन पछि गएर ‘द इन्टरनेशनल बुकर प्राइज’ भयो) बाट सम्मानित भएका छन्। सन् २०१५ सम्म यो पुरस्कार लेखकलाई दिइन्थ्यो। सन् २०१६ पछि ‘इन्टरनेशनल बुकर प्राइज’ नाममा यो पुरस्कार एकल किताबलाई प्रदान गर्न थालियो। 

.

“मेरो जिन्दगीको उद्देश्य भनेकै ‘लाज्लो क्रास्नहोर्काई’ले लेखेका सबै किताबहरूमा सिनेमा बनाउनु हो।” – बेला टार

हङ्गेरीमा अर्को एउटा सिनेम्याटिक पागल कम, कवि कम, डाइरेक्टर छ – जसले यो २८२ पेजको किताबलाई साढे सात घण्टा लामो फिल्ममा रुपान्तरण गरेको छ। उसको नाम ‘बेला टार’ हो, जुन नाम विश्व सिनेजगतमा कुनै अपरिचित नाम होइन। उसका फिल्मका दिक्कलाग्दा तर सुन्दर लामा सटहरूले संसारका सिनेमा प्रेमीहरूलाई मोहित बनाएको छ।

जाबो २८२ पृष्ठ भएको किताबको, साढे सात घण्टा लामो फिल्म !

तपाईंको मनमा जिज्ञासाको घण्टी बज्नु बिल्कुल सही छ। र यो जिज्ञासा मेटाउन, तपाईंले यो अलिक ‘वजनदार’ किताब पढ्नुपर्ने हुन्छ, अनि त्यसपछि अत्यधिक लामो सोही नामको फिल्म हेर्नुपर्ने हुन्छ – जुन फिल्म, तपाईंलाई फिल्म कम, एउटा उदास र दार्शनिक कविता बोकेर घिस्रिरहेको शङ्खेकीरा जस्तो लाग्छ।

यस फिल्मको पटकथा पनि ‘लाज्लो क्रास्नहोर्काई’ र ‘बेला टार’ मिलेर लेखेका हुन्।

प्राक्कथनजसलाई सुरुमै लेखिनुपर्थ्यो

त्यस दिन म ठमेलको गल्लीमा यसै भौंतारिरहेको थिएँ। ठमेलका किताब पसलहरूमा एकएक किताबका पानाहरू सुँघ्दै थिएँ। एउटा कुनामा मैले एउटा सानो अनि कालो किताब देखें। त्यसको कभर नै आकर्षक थियो। हातमा उठाइहालें। त्यो किताबको नाम थियो- ‘द लास्ट उल्फ’। र लेखकको नाम थियो- ‘लाज्लो क्रास्नहोर्काई’, जसको तारिफ गरेर मेरो एउटा साथी कहिल्यै थाक्दैनथ्यो, र जो अझै पनि तारिफ गर्न छोड्दैन, उसको तारिफ गरेर थाक्दैन।

मैले त्यतिबेला, त्यो साथीको अनुहार सम्झेरै त्यो किताब किनें अनि घर ल्याएँ।

यस्तो लाग्यो, त्यो किताबलाई ‘बेला टार’ले ठमेलको गल्लीमा बिर्सिगएको थियो। मलाई विश्वास छ, हालसालै ‘बेला टार’ काठमाडौंका रहस्यमयी गल्लीमा भड्किएको हुनुपर्छ। उसको हातमा ‘क्रास्नहोर्काई’को ‘द लास्ट उल्फ’ थियो, जसमा दुईवटा लघु उपन्यास छन्: ‘द लास्ट उल्फ’ र ‘हर्मन’। उसले त्यो किताबलाई ठमेलको कुनै पुरानो क्याफेमा बसेर एकसासमै पढेको थियो। या भनौं, ‘क्रास्नहोर्काई’ले ‘बेला टार’को सासलाई आफ्नो कथाको न्यारेसनमा दबाइदिएको थियो। न कतै पूर्णबिराम, न कतै अनुच्छेद परिवर्तन अनि कथा भएको उथलपुथलले ‘बेला टार’ पूर्ण निसासिएको थियो। अब यो कथालाई कसरी दृश्यमा ढाल्ने भन्ने सोचमा ‘बेला टार’ ठमेलका गल्लीहरूमा यताउता भड्किरह्यो। उसको हातमा भएको ‘द लास्ट उल्फ’ यतै कतै छुटेको हुनुपर्छ !

र सोही किताब त्यतिबेला मेरो हातमा आइपुगेको थियो। जसलाई पढिरहँदा, मलाई सास फेर्न पनि एकदम सकस भइरहेको थियो। त्यो किताब पढ्दै गर्दा यस्तो लाग्छ, लेखक आफ्नो कथाको पूर्णबिराम खोज्न कतै निस्किएको छ। र त्यो यात्रामा उसले आफ्नो कथालाई बिर्सिसकेको छ।

कस्तो अनौठो !

एक अजीब लेखक, जो हंगेरीमा बसेर अझै पनि यस्तै अनौठा किताबहरू लेखिरहेको छ। म उसको एउटा सानो पाठक, जो यहाँ बसेर उसलाई लेख्ने दुस्‌+प्रयास गरिरहेको छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?