+
+

नेकपा एकीकृत समाजवादीको काठमाडौं अध्यक्षमा श्रेष्ठ

रासस रासस
२०७९ भदौ ४ गते २०:०१

४ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) काठमाडौँ जिल्ला कमिटीको अध्यक्षमा एलपी श्रेष्ठ चयन भएका छन् । शनिबार आयोजित पूर्ण बैठकले अध्यक्ष श्रेष्ठको नेतृत्वमा दुई सय ७१ सदस्यीय कमिटी चयन गरेको हो ।

बैठकको उद्घाटन गर्दै पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले देशैभर साझा उम्मेदवार उठाउने बताए । गठबन्धनको सहयोगबाट स्थानीय तहको निर्वाचनमा सबै पार्टी लाभान्वित भएको बताउँदै उनले मुलुकको समृद्धिका साथै राजनीतिक स्थिरताका लागि गठबन्धनको खाँचो औँल्याए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले न्यायपूर्ण समाज तथा समानता र सहअस्तित्वको समाज कायम गर्ने समाजवादको उद्देश्य रहेको बताए । मुलुकमा युवा वेरोजगारी अन्त्य गर्न सीपयुक्त जनशक्तिको विकास गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले त्यसले जनताको सामाजिक तथा आर्थिक रुपान्तरण गर्ने विश्वास व्यक्त गरे ।

मुलुकमा भित्रिएको विप्रेषणलाई राष्ट्रिय पूँजी निर्माणमा उपयोग गरी देशलाई औद्योगिकरण गर्न आवश्यक रहेको उनले बताए ।

उनले समान विचार भएका पार्टीसँग एकताको सम्भावना रहेको भए पनि नेकपा (एमाले) सँग तत्काल एकता नहुने पनि बताए । अध्यक्ष नेपालले देशभर जनतालाई राजनीतिक रुपमा सङ्गठित गर्न अहिले सात सय ५३ पालिकामा पार्टीको सङ्गठन विस्तार भइरहेको जानकारी दिँदै जनताको चेतना भर्न र उनीहरुलाई जागृत गर्न कम्युनिष्ट पार्टीको भूमिका उल्लेखनीय रहेको विचार व्यक्त गरे ।

उक्त कार्यक्रममा जिल्ला कमिटीका निवर्तमान अध्यक्ष कुसुमकुमार कार्कीले स्थानीय तहको निर्वाचनको समीक्षा : आगामी निर्वाचनको कार्ययोजना प्रस्तुत गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कमिटीलाई सशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचन लक्षित कार्ययोजना तयार गरी प्रचारप्रसारमा कमिटी क्रियाशील हुने बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?