+
+

थलीवासीले फेरि गरे सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते ९:१८

५ भदौ, काठमाडौं । चाबहिल–साँखु सडक खण्डको थलीमा बाटो मर्मतको माग गर्दै स्थानीयले आज बिहानैदेखि बाटो बन्द गराएका छन् ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण सास्ती खेप्दै आएका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै आज बिहान ८ बजेदेखि सडक अवरुद्ध पारेका हुन् । उनीहरुले सडकमा बाँसका भाटा तेर्स्याएका छन् ।

स्थानीय निश्चल नेपालका अनुसार स्थानीय व्यवसायीहरुले एम्बुलेन्स र स्कुलका बसबाहेक अरु सबै सवारी साधनलाई आउ–जाउ गर्न रोक लगाएका छन् ।

थली खण्डको करिब ८ सय मिटर बाटो पिच हुन बाँकी छ । २०७७ सालदेखि नै त्यहाँका स्थानीयले बाटो पिच गर्न माग गर्दै संघर्षका कार्यक्रम गर्दै आएका छन् । तर उनीहरुको माग सम्बोधन भएको छैन ।

यसअघि २०७८ चैत १० मा पनि उनीहरुले बाटो अवरुद्ध पारेका थिए । सो क्षेत्रबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित एमाले नेता रामेश्वर फुयाँललाई घेरा हालेर बाटो पिच गर्न दबाब दिएका थिए । उनले भोलि नै ठेकदारलाई बाटो पिच गर्न लगाउने भनेपछि स्थानीय पछि हटेका थिए । तर अहिलेसम्म बाटो पिच नभएपछि स्थानीयले पुनः बाटो बन्द गराएका हुन् ।

बाटोमा उनीहरुले राखेको एक सूचनामा थलीवासीहरुको स्वास्थ्य, दैनिक जीवन, आवत–जावत, व्यापारमा नराम्रो असर भइरहेको र राज्य, स्थानीय सरकारको हेलचेक्रयाइँ र फटाइविरुद्ध सडक बन्द गराएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?