+
+

नेपाली फिल्ममा कस्ट्युम डिजाइनिङ : कथाअनुसार स्टाइल कसरी पछ्याउने ?

युबी थापा युबी थापा
२०७९ भदौ ५ गते १३:४६
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धीरज मगर

पहिरन भनेको व्यक्ति वा समूहको सौन्दर्य तथा प्रसाधनको एक विशिष्ट शैली हो, जसले वर्ग, लिंग, पेसा, जाति, राष्ट्रियता, गतिविधि वा युगलाई झल्काउँछ । संक्षेपमा भन्नुपर्दा वेशभूषाले मानिसको सांस्कृतिक दृश्यलाई प्रतिनिधित्व गर्छ ।

चाहे त्यो फिचर फिल्म होस् या टीभी सिरियल, यो विविधताले महत्वपूर्ण भूमिका खेल्छ । फिल्मका पात्रको मागअनुसार डिजाइन गरिएका गुणस्तरीय पोशाकले फिल्मको सौन्दर्य बढ्छ । कस्ट्युम डिजाइन एक जिम्मेवार पेसा हो, जसले फिल्म, उत्पादन वा टेलिभिजन कार्यक्रमको लागि पहिरन डिजाइन गर्छ ।

नेपाली फिल्मको इतिहास छिमेकी मुलुक भारतीय उद्योगको भन्दा छोटो छ । जे होस्, यो विकसित भइरहेको छ । धेरै चीज गर्न बाँकी छ ।

कस्ट्युम डिजाइनरको भूमिका पात्रहरुको पोशाक वा वेशभूषा सिर्जना गर्नु हो र दृश्यलाई बनावट र रंगको संयोजनमा राख्नु हो । कस्ट्युम डिजाइनरले निर्देशक, ध्वनि डिजाइनर र अन्य रचनात्मक मानिससँग सहकार्य गर्दछ ।

कस्ट्युम डिजाइनरले हेयर स्टाइलिस, विग मास्टर वा मेकअप कलाकारसँग पनि सहकार्य गर्न सक्छ । डिजाइनरले सामान्यतयाः चरित्रको व्यक्तित्वलाई बढाउन र रंगमार्फत कथाको प्लटलाई विकसित गराउन र उनीहरुको सामाजिक स्थितिलाई परिवर्तन गर्न खोज्छन् ।

निर्देशकको दृष्टिकोण र वेशभूषाको अर्थ बुझेर कलाकारले अभिनय गर्ने जिम्मेवारी उनीहरुकै हो । साथै कस्ट्युम डिजाइनरमा पोशाक डिजाइनको इतिहास र समकालीन फेसन स्थिति बुझेर पोशाकमार्फत पात्रको सही चित्रण गर्ने क्षमता पनि हुन्छ ।

जब निर्माण र डिजाइनका तत्वहरु एकसाथ आउँछन्, तब फिल्म क्लासिक बन्छन् । जसमा महत्वपूर्ण योगदान कस्ट्युम डिजाइनरको हुन आउँछ । कस्ट्युम आकर्षक हुनसक्छ वा सिंगो संसारलाई पनि यसले अटाउन सक्छ । यसले अन्ततः हामीलाई चरित्र के हो र तिनीहरुको वरिपरिको संसार कस्तो छ भन्ने बारेमा विचार दिन्छ ।

फिल्ममा लगाइने हरेक कपडालाई पहिरन भनिन्छ । निर्देशकले कथा भन्ने एक महत्वपूर्ण माध्यममध्ये एक हो कस्ट्युम । यसबाहेक पहिरनले दर्शकलाई चरित्रको विवरण पेश गर्न सक्छ । यसले अभिनेताहरुलाई पर्दामा नयाँ र विश्वसनीय व्यक्तिमा रुपान्तरण गर्न भूमिका खेल्छ ।

कस्ट्युम डिजाइनको प्रक्रिया

फेसन डिजाइनर युबी थापा

कस्ट्युम डिजाइनरले पटकथाअनुसार चरित्रको प्रवेश र उसको दैनिक जीवनयापन ख्याल गरेर कस्ट्युम बनाउँछ । कलाकारको लागि कस्ट्युम र सामानको जोहो गर्नुअघि उनीहरुले चरित्रको पृष्ठभूमि बुझ्नुपर्छ ।

त्यसपछि उनीहरुले पहिरन उत्पादन तालिका बनाउँछन् र फिल्मको बजेट नियन्त्रणका लागि जिम्मेवार व्यक्तिहरुसँग मिलेर साप्ताहिक खर्च तयार पार्छन् । त्यसपछि उनीहरुले निर्देशक र टिमले दिएको मितिभित्र काम सक्ने गरी कस्ट्युमको शैली र डिजाइनमा अनुसन्धान गर्छन् ।

कस्ट्युम डिजाइनरलाई पात्रको लुक्स डिजाइन गर्ने ठूलो जिम्मेवारी दिइएको छ । यसले कथाप्रति दर्शकीय मनोवैज्ञानिक अनुभवलाई प्रभाव पार्छ र सोहीअनुसार पात्रलाई सही अवधि र शैलीमा जीवन्त तुल्याउँछ ।

निर्देशकको दृष्टिकोण र वेशभूषाको अर्थ बुझेर कलाकारले अभिनय गर्ने जिम्मेवारी उनीहरुकै हो । साथै कस्ट्युम डिजाइनरमा पोशाक डिजाइनको इतिहास र समकालीन फेसन स्थिति बुझेर पोशाकमार्फत पात्रको सही चित्रण गर्ने क्षमता पनि हुन्छ ।

यसबाहेक कस्ट्युम डिजाइनरहरु प्रोजेक्टमा कथावाचन, व्यवस्थापकीय कार्य र सञ्चार सम्पर्क स्थापित गर्न सक्षम हुन्छन् ।

नेपाली फिल्ममा कस्टयुम डिजाइन

नेपाली फिल्मको इतिहास लामो छैन । नेपाली भाषाको पहिलो फिल्म डीबी परियार निर्देशित ‘सत्य हरिश्चन्द्र’ थियो, जुन १९५१ मा रिलिज भएको थियो । तर यो फिल्म भारतको कोलकातामा निर्माण भएकाले यसलाई नेपाली फिल्म नभनेर नेपाली भाषाको पहिलो फिल्म मान्न सकिन्छ । नेपालमा भने सन् १९६४ मा पहिलोपटक आमा फिल्म निर्माण भएको थियो, जसलाई हीरासिंह खत्रीले निर्देशन गरेका थिए ।

फिल्म उद्योग सुरु हुँदा कस्ट्युम डिजाइनर स्टुडियो पोशाक विभागहरु अस्तित्वमा थिएनन् । त्यतिबेला कलाकारले नै अभिनयका लागि वेशभूषा प्रदान गर्थे ।

सन् ९० को दशकयता स्थानीय सूचीकार (ट्रेलर्स)ले फिल्मका लागि कस्ट्युम बनाउँथे । आवश्यक पोशाकहरु या त भाडामा लिइन्थ्यो वा कलाकारले आफैं व्यवस्थापन गर्थे । तर सन् २००० यता नेपाली फिल्मले कस्ट्युम डिजाइनिङमा फड्को मार्‍यो ।

पछिल्लो समय नेपाली फिल्मले यो विधामा धेरै प्रगति गरेको छ । निर्देशक र दर्शक दुवैले यस क्षेत्रमा परिवर्तन देखेका छन् । केही ब्याक टु ब्याक हिट फिल्मले स्टारडम र कलाकारको फ्यान फलोइङ बढाउन मात्र होइन, नेपालको अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पनि पुर्‍याएका छन् ।

पछिल्लो समय नेपाली फेसन परिवर्तनको पछाडिको प्रमुख कारण नेपाली फिल्म हो । किशोरकिशोरी र युवायुवतीहरु फेसन ट्रेन्डलाई अन्धाधुन्ध पछ्याउँछन् । उनीहरु आफ्ना मनपर्ने कलाकारले सेट गरेको प्रचलनलाई पछ्याउँछन् ।

भविष्य कस्तो छ ? 

Fashion Designer Clothes Fashion Tailor Scissors

नेपाली फिल्म उद्योगमा कस्ट्युम डिजाइन भविष्यमा अझै व्यावसायिक हुनेमा शंका छैन । विस्तारै राम्रो फिल्म कस्तो हुनुपर्छ र बन्नुपर्छ भन्नेमा दर्शक सचेत हुँदै गएका छन् । सोहीअनुसार फिल्म निर्माताले व्यावसायिक कस्ट्युम डिजाइनलाई उच्च प्राथमिकता दिन थालेका छन् ।

तर हरेक चीज कुनै मूल्यसँगै आउँछ । नेपाली फिल्म क्षेत्रमा कस्ट्युम डिजाइनिङको विकासको लागि ठूलो लगानी आवश्यक छ । कलाकारमा राम्रो देखिने चाहना हुनु स्वभाविक हो र यसमा निर्माताले पनि लगानी गरेर सघाउनु आवश्यक छ ।

लगानीपछि यो क्षेत्रको विकासका लागि दक्ष जनशक्ति चाहिन्छ । तर नेपालमा फेसन डिजाइनिङ संस्थाको संख्या बढ्दै गएकाले भविष्यका लागि सरोकारवाला निकै आशावादी छन् ।

(लेखक फेसन डिजाइनर हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?