+
+

साथीकै फेसबुक आइडीबाट मध्यरातमा पैसा मागेपछि …

फेसबुक ह्याक गरेर ठगी आतंक

विकास रोकामगर विकास रोकामगर
२०७९ भदौ ६ गते १५:२८

६ भदौ, पोखरा । शनिबार राति करिब साढे ११ माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष राम गुरुङको म्यासेन्जरमा पत्रकार कृष्ण दवाडीको आइडीबाट मिटिङका लागि ‘जुम आइडी’को कोड भन्दै म्यासेज आयो ।

जुमका लागि भनिए पनि त्यसमा फेसबुकको कोड पठाएको म्यासेज व्यहोरामा उल्लेख थियो । संयोगवश वडाध्यक्ष राम गुरुङ मोबाइल नेटवर्क नटिप्ने ठाउँमा थिए ।

दवाडीले कोड मागेपछि उनले जवाफ फर्काए, ‘यहाँ मोबाइल नेटवर्क टिप्दैन । वाइफाइबाट नेट चलाउँदै हो । त्यही पनि भोलि जुम मिटिङका लागि मसँग समय छैन ।’

क्यान्सर पीडितका लागि सहयोग गर्ने उद्देश्यले जुम मिटिङ राखेको थाहा पाएपछि वडाध्यक्ष गुरुङले म्यासेन्जरबाटै फोन गरेर बुझ्न खोजे । दवाडी र गुरुङ एकै क्षेत्रका मात्र नभएर राम्रै चिनजान पनि थियो । त्यसैले कोही चिनेकै मान्छेलाई सहयोग गर्नुपर्ने हो कि भनेर वडाध्यक्ष गुरुङले कुरा बुझ्न फोन गरेका थिए । तर, फोन बिजी देखाइरह्यो ।

केहीबेरपछि दवाडीकै आइडीबाट इमरजेन्सी परेको भन्दै २५ हजार रुपैयाँ इसेवामा पठाइदिन आग्रह आयो । वडाध्यक्ष गुरुङले इसेवा नम्बर मागेर तत्काल पैसा पठाइदिए । तर, त्यतिले पुगेन फेरि एकछिन पछि अर्को म्यासेज आयो, ‘भोलि प्लेन टिकट काट्नुपर्ने भो । फेरि २५ हजार रुपैयाँ पठाइदिनू न । भोलि बिहानै फिर्ता गर्छु ।’

गुरुङले पैसा पठाउनै लागेका थिए । त्यति नैबेला सामाजिक सञ्जालमै पत्रकार दवाडीको फेसबुक ह्याक भएको खबर बाहिरियो । ‘कहिले पैसा नमाग्ने भाइले आधा रातमा मागेपछि मैले त जरुरी काम परेरै होला भनेर विश्वासले दिएँ । पछि पो थाहा पाएँ, म त ठगिएको पो रहेछु ।’

त्यसरात पत्रकार दवाडीको मात्रै फेसबुक ह्याक भएको थिएन । अर्का पत्रकार मोतिसागर अधिकारीको म्यासेन्जरबाट पनि मध्यरातमा थुप्रै व्यक्तिहरुलाई त्यस्तै म्यासेज गयो । धेरैले अधिकारीलाई फोन गरेर सोधेपछि उनले तत्कालै आफ्नो आइडी आफ्नो पहुँचमा ल्याए ।

०००

व्यवसायी पवनमान गुभाजु र दिनेश कार्की बिहानै सँगै मर्निङ वाकमा निस्किए । मर्निङ वाकबाट फर्र्किएको केही समयपछि नै गुभाजुकै आइडीबाट कार्कीलाई ‘गुड मर्निङ हजुर’ भन्दै म्यासेज आयो । पुरानै चिनजान भएकाले तँ, तँ चल्थ्यो । तर, हजुर चल्थेन ।

‘पीडितहरु नम्बर स्क्रिन सट लिएर आउनुहुन्छ । तर, उहाँहरुले उपलब्ध गराएका नम्बर वा सामाजिक सञ्जाल प्रयोगकर्तासमेत पीडित नै पर्नुहुन्छ, उनीहरुले प्रायः गरिब तथा मजदुर वर्गका व्यक्तिगत डाटा दुरुपयोग गरिरहेको पाइयो । जबकी उनीहरुलाई यसबारे थाहै हुँदैन ।’

कार्कीले म्यासेज पठाए, ‘मर्निङ ।’

त्यसपछि फेरि रिप्लाई आयो, ‘कहाँ हो ?’

कार्की छक्क परे । सँगै मर्निङ वाकबाट फर्किएको मान्छेले एक्कासि बनावटी कुरा गर्न थालेपछि अर्कैलाई म्यासेज गर्दा झुक्किएर आफ्नोमा आएको भन्ठानेर जवाफ पठाए, ‘म दिनेश हो के !’

लगत्तै उनीसँग पनि २५ हजार रुपैयाँ मागियो । उनले पनि कुरा बुझ्न म्यासेन्जरमै कल गरे । तर, व्यस्त देखायो । पैसा पठाउने तर्खरमै थिए । सामाजिक सञ्जालमा केही पत्रकारको फेसबुक ह्याक भएर ठगी आतंक मच्चिरहेको खबर देखे । पछि बुझ्दा नभन्दै गुभाजूको फेसबुक ह्याक भएकै रहेछ ।

‘सँगै हिँडेर आएको साथीकै आइडीबाट कहाँ हो, के हो ? हजुर भन्दै म्यासेज आउँछ । अलिअलि त शंका लागेर अर्कालाई पठाएको म्यासेज मलाई आएको होला भन्ठानें,’ कार्कीले भने, ‘पछि पो थाहा भयो, साँच्चिकै ह्याकै भएको रहेछ ।’ पछि बुझ्दा गुभाजुको नामबाट पैसा मागेका थुप्रैले इसेवामार्फत रकम पठाइसकेका रहेछन् ।

शनिबार र आइतबार दुई दिन पोखरामा फेसबुक ह्याक गरेर इसेवामार्फत पैसा माग्ने आतंककै रुपमा देखा पर्‍यो । जसमा विभिन्न मिडियामा काम गरिरहेका पत्रकार मुख्य निशानामा परे । सुरुमा जुम मिटिङका लागि आफूहरुलाई कोड पठाइएको र उक्त कोड पठाएलगत्तै फेसबुक ह्याक भएको उनीहरुले बताएका छन् ।

‘जुम मिटिङको ग्रुपमा जोड्ने भन्दै कोड आयो । त्यो कोड उनीहरुले मागेपछि दिइयो । नदिने पनि कसरी चिनेकै साथीभाइको म्यासेन्जरबाट मागिएको थियो,’ पीडित सञ्चारकर्मी मोतिसागर अधिकारीले भने, ‘सबैभन्दा पहिलो शिकार म भएको रहेछु ।’

अर्का पीडित पत्रकार कृष्ण दवाडीले पनि बिहानमात्रै आफ्नो आइडी ह्याक भएकोमात्रै नभई थुप्रैकोमा म्यासेज गरेर पैसा मागिएको समेत थाहा पाए । उनले आइतबार जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत दिइसकेका छन् ।

दवाडीको म्यासेजमार्फत माग गरिएको इसेवा आइडी पोखरा वडा नं. १८ बस्ने २१ वर्षीय सुजन भण्डारी रहेको खुल्यो । तर, पछि भण्डारीसमेत आफ्नो इसेवा आइडी ह्याक भएको र करिब एक लाख रुपैयाँ ठगी भइसकेको खुल्यो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार पछिल्लो समय पोखरामा पनि साइबर अपराधका घटना दैनिक बढ्दै गइरहेका छन् । सामाजिक सञ्जालको प्रयोग बढ्दै गएसँगै साइबर ठगीका घटना पनि बढ्न थालेका हुन् ।

प्रवक्ता तिवारीका अनुसार त्यसरी अर्काको फेसबुक ह्याक गरेर इसेवा वा बैंकिङ खातामा पैसा मागिने र जसको खाता प्रयोग भएको छ उनीहरु स्वयं पनि पीडित नै हुने भेटिएका छन् ।

‘पीडितहरु नम्बर स्क्रिन सट लिएर आउनुहुन्छ । तर, उहाँहरुले उपलब्ध गराएका नम्बर वा सामाजिक सञ्जाल प्रयोगकर्तासमेत पीडित नै पर्नुहुन्छ,’ उनले भने, ‘उनीहरुले प्रायः गरिब तथा मजदुर वर्गका व्यक्तिगत डाटा दुरुपयोग गरिरहेको पाइयो । जबकी उनीहरुलाई यसबारे थाहै हुँदैन ।’

फेसबुकमा अनावश्यक वा अपरिचितले पठाएका लिंक क्लिक गर्ने, उपहारजन्य प्रलोभनमा पर्ने र आफ्नो व्यक्तिगत डाटासमेत सार्वजनिक गर्दा ठगीमा पर्ने गरेको प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

इन्टरनेट प्रयोगसम्बन्धी तथ्यांक केलाउँदा पनि विश्वको तुलनामा नेपालमा प्रयोगकर्ता अनुपात धेरै रहेको तिवारीले जानकारी दिए । साइबरसम्बन्धी कमजोर ज्ञान र प्रयोगकर्ता धेरै भएको ठाउँमा उनीहरुले निशाना बनाउँदै आएको उनको भनाइ छ ।

अघिल्लो आर्थिक वर्षमा कास्कीमा साइबर अपराधसम्बन्धी ३ सय ८९ उजुरी परेका छन् । जसमध्ये ९२ जना चिनेजानेका नजिकबाट भएका अपराध हुन् भने बाँकी अपरिचितबाट भएका छन् ।

साइबर क्राइमसम्बन्धी परेको उजुरीमध्ये १ सय २४ वटा ठगी विषयमा छन् । ‘ठगीमा प्रायः बैंकिङ कसुरसम्बन्धी आउँछ । यो पनि साइबर क्राइमसँगै जोडिएर आउने गरेको छ,’ डिएसपी तिवारीले भने । उनका अनुसार गत आर्थिक वर्षमा १ वटा २६ वटा सामाजिक सञ्जाल ह्याकसम्बन्धी उजुरी परेका छन् ।

प्रहरी कार्यालयमा आएका उजुरीअनुसार सबैभन्दा बढी पीडित २५ देखि ३५ वर्ष उमेर समूहका छन् । अर्थात् जुन उमेर समूह शिक्षित र प्रविधिमा दख्खल राख्दछ, त्यही उमेर समूह नै ठगी गिरोहको निशानामा पर्ने गरेको कास्की प्रहरीको भनाइ छ । ‘दोस्रोमा १५ देखि २५ वर्ष उमेर समूहका सबैभन्दा बढी भिक्टिम छन्,’ उनले भने, ‘त्यसमा पनि पुरुषभन्दा धेरै महिला पीडित भएको देखिन्छ ।’

प्रवक्ता तिवारीले सामाजिक सञ्जाल चलाउँदा व्यक्तिगत विवरण धेरै नखुलाउने, पासवर्ड, आएका ओटिपी (वान टाइम पासवर्ड)लगायत विवरणहरु कसैलाई पनि बिना कारण नदिन र नखुलाउन आग्रह गरेका छन् । उनले साइबर ठगीबाट बच्न जनचेतनाकै आवश्यक रहेको सुनाए ।

‘अहिले कोरोना महामारीभन्दा पनि डरलाग्दो गरी यस प्रकारको ठगी मौलाएको छ । जनचेतना फैलाउनुपर्नेछ,’ प्रवक्ता तिवारीले भने, ‘अहिले हामीले पनि जनस्तरमा साइबर अपराधबारे धेरैभन्दा धेरै जनचेतना फैलाउने काम गरिरहेका छौं ।’

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?