+
+

लघुबीमाको लाइसेन्स दिन बीमा समितिले ल्यायो निर्देशिका

आवश्यक शर्त तोकी लाइसेन्सको सूचना प्रकाशित गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते २०:४१

६ भदौ, काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनी दर्ताको लागि नयाँ निर्देशिका जारी गरेको छ । सोमबार बसेको समिति सञ्चालक समितिको बैंठकबाट लघुबीमा संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका २०७९ पारित गरेको छ ।

३१ साउनमा बसेको समिति सञ्चालक समितिको बैठकले निर्देशिका स्वीकृत गरेको हो । बीमा समितिले लघुबीमा सम्बन्धी निर्देशिका ल्याएसँगै अब लघुबीमा कम्पनीलाई लाइसेन्स दिने बाटो खुलेको छ ।

समितिले लघु जीवन बीमा र लघु निर्जीवन बीमा व्यवसाय गर्न सोहीअनुसारको लाइसेन्स दिने गरी निर्देशिका तयार गरेको हो ।

निर्देशिकामा अन्य कम्पनी जस्तै पब्लिक कम्पनीले मात्रै बीमा समितिले तोकेको मापदण्ड पूरा गरेपछि लाइसेन्स पाउने उल्लेख छ ।

बीमा समितिले लघुबीमा कम्पनी दर्ता गर्नुपूर्व नै सहमति लिएर मात्रै दर्ता प्रक्रियामा जानसक्ने व्यवस्था निर्देशिकामार्फत गरेको छ । समितिले निर्देशिकामा आवश्यक चुक्ता पूँजी उल्लेख गरेका छैन ।

तर, चुक्ता पूँजीको न्युनतम ५१ प्रतिशत संस्थापकको सेयर हुनुपर्ने र न्युनतम ३० प्रतिशत चुक्ता पूँजी हुनुपर्ने निर्देशकामा उललेख छ ।

बीमा समितिले जारी गरेको निर्देशिका अनुसार गरिब, न्यून आय भएका जनतालाई लक्षित भई लघुबीमा सेवा प्रवाह गर्ने लक्ष्य लिएर आउनेले मात्रै लघुबीमाको लाइसेन्स पाउने व्यवस्था उल्लेख छ ।

लघुबीमा कम्पनी संस्थापना गर्न कालोसूचीमा नपरेको, कालोसूचीमा परेको भए हटेको तीन वर्ष पुगेको हुनुपर्ने उल्लेख छ । त्यस्तै, एक तिहाई संस्थापकहरु स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था नयाँ निर्देशिकामा गरिएको छ ।

प्रस्तावित लघुबीमा कम्पनीको कार्यालय उपत्यका बाहिर हुनुपर्ने र छनोट भएका प्रस्तावमध्ये समितिले कुनै खास प्रदेशमा मुख्य कार्यालय रहने गरी तोक्न सक्ने व्यवस्था निर्देशिकामा गरेको छ ।

निर्देशिकामा लघुबीमाको लाइसेन्स वितरण गर्न आवश्यक शर्त तोकी समितिले सूचना प्रकाशन गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?