+
+

रुपन्देही-२ मा विष्णु पौडेलविरुद्ध सत्ता गठबन्धनबाट को उठ्ला ?

टोपराज शर्मा टोपराज शर्मा
२०७९ भदौ ९ गते १४:४३

९ भदौ, बुटवल । राष्ट्रिय राजनीतिमा समेत प्रभाव जमाउँदै आएको रुपन्देही-२ को निर्वाचनलाई सधैं चासोका साथ हेरिन्छ । यो क्षेत्र एमाले उपाध्यक्ष विष्णु पौडेलले लगातार जित्दै आएको क्षेत्र हो ।

२०५४ सालयताका सबै चुनाव जितेको एमालेविरुद्ध यसपटक सत्तारुढ ५ दलसहित ६ दलको गठबन्धन बन्दैछ ।

यो क्षेत्र सत्तारुढ गठबन्धनमध्ये कुन दलको भागमा पर्छ भन्ने टुंगो लागेको छैन । तर गठबन्धनका प्रमुख दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताले आफू उम्मेदवार बन्ने भन्दै टिकटका लागि लबिङसँगै चुनावी गृहकार्य गरिरहेका छन् ।

यो दौडमा एकीकृत समाजवादीका राजु गुरुङ सबैभन्दा अगाडि देखिएका छन् । गुरुङ पार्टीका प्रदेश कमिटी सचिव हुन् । आफू निकट कार्यकर्तामार्फत गुरुङले गठबन्धनको साझा उम्मेदवार भन्दै प्रचार थालेका छन् । गुरुङको यो हतारोप्रति नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार आकांक्षीहरुले भने असन्तुष्टि जनाएका छन् ।

नेपाली कांग्रेसबाट नेता युवराज गिरी प्रमुख दावेदार छन् ।

यस्तै निजी अस्पताल, चाउचाउ, सुर्ति, हाउजिङ लगायतका उद्योगका सञ्चालक चुन्नु पौडेल, एन्फाका उपाध्यक्ष समेत रहेका व्यवसायी पृष्ठभूमिकै कुमार केसी पनि आकांक्षी छन् ।

२०७४ को चुनावमा टिकट पाएका गिरी एमालेका विष्णु पौडेलसँग २२ हजार मतान्तरले पराजित भएका थिए । कांग्रेसभित्र इमान्दार, वैचारिक र प्रखर वक्ताको छवि बनाएका गिरी पार्टीभित्र संस्थापन पक्षका नेता हुन् । पौडेल पनि गृहमन्त्री खाण निकट हुन् भने केसी संस्थापन इतरका र गृहमन्त्री खाण विरोधीका रुपमा समेत चिनिन्छन् ।

यो क्षेत्र कांग्रेसको भागमा परेको अवस्थामा गृहमन्त्री खाणले इच्छाएको व्यक्तिले नै टिकट पाउने कांग्रेस कार्यकर्ताहरु बताउँछन् । त्यसो हुँदा गिरीले पाउने सम्भावना बलियो छ । रुपन्देही २ मा कांग्रेसको संस्थापन इतर बलियो भए पनि प्रतिनिधिसभा सदस्य लड्ने ‘ठूलो’ नेता नहुँदा गुल्मीबाट चन्द्र भण्डारीलाई ल्याएर उम्मेदवार बनाउने तयारी पनि थियो । तर खाण तगारो बन्ने देखेपछि भण्डारी ब्याक भएको चर्चा छ ।

प्रमुख दावेदार गिरी आर्थिक हिसाबले कमजोर भएकाले टिकट हत्याउन पार्टीभित्र आर्थिक चलखेल भएर अरुले नै पाउने हुन् कि भन्ने डर देख्छन् । ‘राजनीति बाहेक मेरो अरु पेशा केही छैन, पैसाका कारण बाहेक मैले टिकट नपाउने कारणै छैन’, गिरीले भने, ‘अघिल्लो चुनावमा ६ कठ्ठा जग्गा बेचेर लडेको हो, अहिले त जग्गा पनि छैन, यदि राजनीति नै गरेको म भन्दा सिनियरले टिकट पाएमा मेरो समर्थन नै रहनेछ, अन्यथा बिना पैसा नै लड्ने हो ।’

गिरीले रुपन्देही २ कांग्रेसले नै पाउनुपर्ने कार्यकर्ताको दबाव रहेको तर्क गरे । ‘थोरै मत भएको पार्टीले दाबी गर्दा धेरै भोट भएका दलका मतदाता बिच्किने सबै मत नपाई चुनाव हार्ने डर हुन्छ’, गिरीले भने, ‘त्यसैले रुपन्देही २ कांग्रेसले छाड्न मिल्दैन ।’

माओवादीबाट पहाडी आकांक्षी

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य विनोद पहाडी पनि उम्मेदवारका आकांक्षी हुन् । उनले पनि कार्यकर्ता भेटघाट र छलफललाई निरन्तरता दिएका छन् । एकीकृत समाजवादीका राजु गुरुङले एमालेले जितेका क्षेत्रमा आफ्नो दलको स्वभाविक दावी हुने भएकाले आफू उम्मेदवार बन्ने बताउँदै आएका छन् ।

नेकपा एमालेबाट भने उपाध्यक्ष विष्णु पौडेल नै उम्मेदवार हुने पक्का जस्तै छ । एमालेको बलियो संगठन, गठबन्धनभित्रको असन्तुष्टि र रुपन्देहीको विकासमा आफूले अघि सारेका विकास आयोजनाहरु हेरेर आफूले जित्नेमा पौडेल ढुक्क देखिएका छन् । पौडेलले २०६४, २०७० र २०७४ सालको निर्वाचन जितेर ‘ह्याट्रिक’ गरिसकेका छन् ।

०६४ मा माओवादीका भक्ति पाण्डे, ०७० मा डा. बाबुराम भट्टराई र ०७४ मा युवराज गिरीलाई उनले हराएका थिए । रुपन्देही-२ मा डा. निकोलस भुसालले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन् । तर उनको प्रभाव खासै नपर्ने दलहरुको दावी छ ।

क्षेत्र नं. २ मा बुटवल उपमहानगपालिकाका १ देखि १३ नम्बरसम्मका वडा, सैनामैना नगरपालिकाका १ देखि ४ नम्बर वडाहरू र तिलोत्तमाका १ देखि ६ नम्बर वडा पर्छन् । पौडेलको चुनाव क्षेत्रमा पर्ने २३ वडामध्ये यो स्थानीय चुनावमा एमालेले ६ वटा मात्र वडामा जितेको छ । कांग्रेसले ११ वडा जितेको छ ।

कांग्रेस निकट अग्रज पत्रकार महेन्द्र थापा स्थानीय निर्वाचनले संघ तथा प्रदेश चुनावको आकलन गर्न नसकिने बताउँछन् ।

प्रदेश सभामा गत निर्वाचनमा दुवै सिटमा एमालेका भोजप्रसाद श्रेष्ठ र लीला गिरी विजयी भएका थिए । गएको स्थानीय तहको चुनावको नतिजा अनुसार यहा एमाले भन्दा गठबन्धन ६ हजार बढी मतले अगाडि छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?