+
+

भारतको ‘डान्सिङ डिप्लोमेसी’ र नेपाल

डा. महेश मास्के डा. महेश मास्के
२०७९ भदौ १० गते २०:१२
डा. महेश मास्के

संसार कस्तो भइसक्यो भने अब कुनै एक ठाउँमा भएको घटनाले संसारभर प्रभाव पार्छ । ताइवानमा न्यान्सी पेलोसी पुग्छिन् । त्यसपछि ताइवान र चीनबीचको टकराव सुरु हुन्छ । अमेरिका र चीनबीचको टकराव सुरु हुन्छ ।

लगत्तै हाम्रो परराष्ट्रमन्त्री चीन जाने कुरामा समस्या हुन्छ । उनलाई नजानका लागि दबाव दिने स्थिति बन्छ । एक चीन नीति भनिरहेका देशहरुले, एक चीन नीति भन्ने कि नभन्ने कुराहरु उठ्छन् ।

अहिलेको संसार घनिष्टरुपले जसरी एकीकृत हुँदै गइरहेको छ, त्यो कुरा पनि बुझ्न एकदम जरुरी छ जस्तो लाग्छ । एउटा देशको समस्या बुझ्नलाई पनि त्यही देशको मात्रै बुझेर हुँदैन । समग्र विश्व व्यवस्थाको कुरा बुझ्नुपर्छ । नेपाललाई बुझ्न पनि हाम्रा क्षेत्रीय देशहरुको परिस्थिति बुझ्नुपर्छ ।

अहिले ‘इन्डो प्यासेफिक स्ट्राटेजी’ सँगसँगै ‘क्वाड’ आएको छ । यसमा अमेरिका, जापान, अष्ट्रेलिया र भारत छन् । चिनियाँहरुले यसलाई ‘एशियन नेटो’ भनिसके । अर्को अष्ट्रेलिया, बेलायत र अमेरिका रहेको ‘औकुस’ पनि आएको छ ।

शक्ति राष्ट्रहरुको जुन टकराव हुनेवाला छ त्यो मुख्यरुपले अमेरिका र चीनबीचको हो । अमेरिका र चीनबीचको टक्करमा भारतले कस्तो अडान लिन्छ भन्ने कुरा रोचक छ ।

अष्ट्रेलिया र जापानले पक्कारुपले अमेरिकाको पक्षमा उभिएकै देखिन्छ । त्यसमा कुनै शंका राख्नुपर्ने कारण छैन । भारतको चाहिँ गजब छ । भारतले जुन किमिसले आफ्नो कूटनीति खेलिरहेको छ, उसले त्यसलाई ‘रणनीतिक स्वायत्तता’ भन्छ । रणनीतिक स्वायत्तत्ता हाम्रो छ, त्यो हामी गर्न सक्छौं भन्छ ।

उसले ‘डान्सिङ डिप्लोमेसी’ खेलिरहेको छ । उ नाचिरहेको छ । कहिले उता फर्किन्छ, कहिले यता फर्किन्छ । सबै गठबन्धनतिर पनि छिर्छ । तर, मुलरुपमा भारतको राष्ट्रिय स्वार्थलाई हेरिरहेको छ । अहिले स्थिति पनि यस्तो उत्पन्न भइरहेको छ कि ‘अल रोड गोज टु रोम’ भने जस्तै सबै भारततर्फ फर्किरहेका छन् । सबै भारतलाई रिझाउन तयार छन् । अमेरिका, रुस, चीन लगभग सबै शक्ति ।

उ अहिले भूराजनीतिको ‘केन्द्रीय पोजिसन’मा जस्तो भइरहेको छ । इन्डो प्यासिफिक भारतलाई नै लिएर बनाइयो । यसमा भारतको महत्वपूर्ण भूमिका हुन्छ भनेर उनीहरुले सिंगापुरमा ‘सांग्रिला डायलग’ आयोजना गरे । त्यसमा भारतको सहभागिता रह्यो । नरेन्द्र मोदीले भाषण दिँदै त्यसमा ‘आई’ थप्नुपर्छ भने । त्यो भनेको ‘इन्क्लुसिभनेस’ हो । यो उनीहरुले दुईटा कारणले भने । एउटा चीन । चीन पनि इन्डो प्यासिफिकमा आउँछ, हामीले उसलाई छुट्याउने काम गर्न हुन्न । चीनलाई कन्टेन गर्ने गरी जानु हुँदैन भन्ने मोदीको भनाइ थियो । दोस्रो, आशियान मुलुकलाई लक्षित गरेर पनि त्यस्तो भनिएको हो ।

आशियन देशले उठाइरहेको कुरालाई पनि भारतले टिपेर सुरुमा जसरी इन्डो प्यासेफिक स्टाटिजी भनेर आयो, त्यसमा सैन्य गठबन्धनको गन्धन आउँछ, त्यसैले उसले स्टाटिजी शब्द नै हटाइदिउ भन्यो । यसलाई ‘कोअपरेशन’मा लैजाउ भनेर अन्तर्राष्ट्रिय सम्मेलनहरु गरे ।

स्टाटिजी भन्ने शब्द हटायो भने चीन पनि आउँछ, रसियालाई पनि हामीले ल्याउन सकौंला । आर्थिक सहकार्य गर्न त चीन सधैं तयार छ । त्यसैले यसलाई इकोनोमिक कोअपरेशनका रुपमा लैजाउन भन्यो । आशियन मुलुकहरु पनि हामीलाई सैन्य गठबन्धन चाहिंदैन भन्छन् ।

त्यसैले यो इन्क्लुसिभ हुनुपर्छ भन्ने भारतको अडान अहिले पनि छ । अर्कोतिर उसले चीनलाई ‘ब्यालेन्स’ गर्नका लागि के के गर्नुपर्छ त्यो पनि गरिरहेको छ । ‘क्वाड’मा उ बसेको छ । अहिले आईटूयूटु भन्ने पनि छ । जसलाई पश्चिम एशियाको नेटो भन्छन् । अहिले भारतमा ‘नेटो प्लस’ जस्तो छ । अब उसलाई नेटोकै सदस्य बनाउनुपर्छ भन्ने कुरा पनि उठिरहेको छ ।

‘डान्सिङ डिप्लोमेसी’ खेलिरहेको भारत ब्रिक्समा पनि छ । भारत भोलि शक्तिशाली होला । भारतले देखिरहेको छ, जब जापान शक्तिशाली भयो, सबैभन्दा पहिले अमेरिकाले उसैसँग ‘ट्रेड वार’ ग¥यो । अलि अलि भारतसँग पनि भइसकेको अवस्था छ । त्यसैले भारतले के सोचिरहेको छ भने हामी भोलि ठूलो आर्थिक शक्ति हुन्छौं र हाम्रो त्यही नियती हुन्छ ।

ब्रिक्सले के देख्यो भने अमेरिकाको सबैभन्दा ठूलो शक्ति डलर हो । उसले जहाँ जहाँ व्यापार प्रतिबन्ध लगाउँछ, उसले डलरबाट प्रतिबन्ध लगाउँछ । त्यसैले भारत समेत रहेको ब्रिक्सले अर्को मुद्राको खोजी गरिरहेको छ । उनीहरुले कमसेकम ब्रिक्स देशहरुको मुद्रा एक आपसमा चल्ने बनाउँदै छन् । र, ब्रिक्स पाँच वटा देशमा मात्रै सिमित हुनेवाला छैन । निकट भविष्यमै त्यो १० देशको संगठन हुनेवाला छ । यसमा साउदी अरेबिया, अर्जेन्टिना जस्ता देशहरु पनि थपिन्छन् ।

एकातिर भारतले अमेरिकासँग थुप्रै गठबन्धन (सैन्य पनि) गरिरहेको छ । अर्कोतिर उसले यो पनि गरिरहेको छ । त्यसैले यो बुझ्न जरुरी छ । अहिले सबैले सबै किसिमको गठबन्धन बनाइरहेका छन् । रुस, चीन र भातको मात्रै पनि छुट्टै ‘रिक फोरम’ छ ।

नेपालले अब के गर्ने त ?

युक्रेनका बारेमा नेपालले खुलेर मतदान गर्दा नेपालले असंलग्नता छोेड्दै गएको भन्ने परेको थियो । रुसी आक्रणमको विरोध मात्रै गरेको भए हुन्थ्यो, वक्तव्य मात्रै दिएको भए हुन्थ्यो । दसंयुक्त राष्ट्र संघमा गएर मतदान गर्नुपर्ने आवश्यकता नेपाललाई थियो कि थिएन ? नेपालले सजिलै असंलग्न बसेर भन्न सकिने ठाउँ थियो । मतदान नगर्दैमा नेपाललाई त्यस्तो असर पर्ने कुरा पनि थिएन ।

यसमै पनि भारत जस्तो देश जो इन्डो प्यासेफिकको प्रमुख शक्ति हो, उ असंलग्न जस्तो बसिरहेको छ । नेपाललाई त्यस्तो गर्न हतारो किन भएको भन्ने कुरा उठेका थिए ।

त्यसपछि तत्कालै एमसीसीको कुरा आयो । एमसीसीको ठूलो बहसपछि एसपीपीको कुरा आयो । यी सबै कुरामा यो सरकार असंलग्न परराष्ट्र नीतिमा झन–झन संलग्न परराष्ट्र नीतितर्फ जान लागेको हो कि भन्ने आम जनमानसमा परेको पनि देखिन्थ्यो । त्यो परिप्रेक्षमा नेपालले कस्तो परराष्ट्र नीति लिने भन्ने कुरा ज्वलन्त भइसेको थियो ।

विश्व र क्षेत्रीय भूराजनीतिलाई हेर्दा हामीले असंलग्न अडान लिएनौं भने हामी धेरै ठूलो समस्यामा पर्छौं । अहिले युक्रेन भएजस्तै । यदि युक्रेन असंलग्न बसिदिएको भए । उसले रुस या नेटो कतैतिर पनि फर्किन्न । मलाई दुईटैतिरको सहयोग चाहिन्छ भनेको भए यत्रो युद्ध हुने, यत्रो मान्छे मर्ने हुने थिएन ।

यस्तो गल्ती गर्ने कुरा नेपालले गर्नुहुँदैन । नेपाल कुनै पनि सैन्य गठबन्धनमा जानु हुँदैन । चाहे त्यो भारतसँग जोडिएको होस्, चाहे त्यो चीनसँग जोडिएको होस् या अमेरिकासँग जोडिएको होस् । कुनै एउटामा हाम फाल्ने भएपछि हाम्रो हालत के हुन्छ ? कुनै गठबन्धनमा जाने भन्ने कुरामा हामीले पहिलेदेखि अपनाउँदै आएको असंलग्नताको अभ्यास हो, त्यसमा दह्रोसाथ उभिनुपर्छ ।

(पुष्पलाल ज्ञानशालाले शुक्रबार राजधानीमा आयोजना गरेको ‘शक्ति राष्ट्रबीचको टकराव र नेपाल’ विषयको विमर्शमा मास्केले राखेको विचारको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?