+
+

प्रधानमन्त्री देउवा चुनावअघि अमेरिका भ्रमणमा नजाने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १७:४४

१३ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण नहुने निश्चित भएको छ । आगामी असोज पहिलो हप्ता हुन लागेको संयुक्त राष्ट्र संघ (यूएन) को ७७औं महासभामा समेत सहभागी हुने गरी परराष्ट्र मन्त्रालयले देउवाको अमेरिका भ्रमणको विगत लामो समयदेखि तयारी गरिरहेको थियो ।

तर, परराष्ट्रले आगामी २ असोजका लागि गरिरहेको भ्रमण तयारी तत्कालका लागि रोकिएको छ । यससँगै आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनअघि देउवाको अमेरिका भ्रमण नहुने निश्चित भएको हो ।

‘निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा अहिले प्रधानमन्त्रीज्यूले अमेरिका भ्रमणमा जाने रुची देखाएनुभएन,’ परराष्ट्र स्रोतले अनलाइनखबरसँग भन्यो, ‘औपचारिक हिसाबले निर्णय र घोषणा दुवै भएको छैन । तर, अब निर्वाचनअघि अमेरिका भ्रमण नहुने निश्चित भयो । उहाँले यस विषयमा गृहकाय अघि नबढाउन निर्देशन नै दिइसक्नुभयो ।’

नेपाल अमेरिका दौत्य सम्बन्ध स्थापनाको ७५औं वर्षगाँठको अवसर पारेर पछिल्लो समय दुई देशबीच बाक्लो भ्रमण आदान–प्रदान भइरहेको छ । सोही क्रममा प्रधानमन्त्री देउवाको गत असार अन्तिम साता नै अमेरिका भ्रमणमा जाने तयारी भएको थियो ।

तर, अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को विषयलाई लिएर चर्को विरोध भएपछि देउवाले मन्त्रिपरिषदबाटै त्यसलाई अघि नबढाउने निर्णय गरेका थिए । असार पहिलो साता देउवाले उक्त निर्णय गरेपछि सोही महिनाको अन्तिम साता हुने भनिएको उनको भ्रमण अघि बढेन ।

बालुवाटार र परराष्ट्र मन्त्रालय स्रोतहरूका अनुसार देउवाले एसपीपीलाई अघि नबढाउने भनेर मन्त्रिपरिषद्बाटै निर्णय गराएपछि अमेरिकाले समेत भ्रमणको विषयमा चासो दिन छाडेको थियो । तर, चर्चा चलिसकेको हुँदा जसरी पनि अमेरिका जाने मनस्थिति देउवाले बनाएका थिए ।

आगामी ४ असोजदेखि संयुक्त राष्ट्रसंघको महासभामा सदस्य राष्ट्रका उच्च तहका नेताहरूको सम्बोधन गर्ने कार्यक्रम रहेको हुँदा सोही अवसरमा औपचारिक भ्रमणसमेत गर्ने मनस्थितिमा देउवा थिए ।

परराष्ट्र मन्त्रालयले देउवाको भ्रमण र महासभा हुने सहभागीताको विषयमा पत्रकार सम्मेलनमा नै जानकारी दिएको थियो । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले ‘प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको र यूएन महासभामा उच्चस्तरीय भ्रमण हुने’ भनेर जानकारी गराएकी थिइन् ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले पनि देउवाको अमेरिका भ्रमणका विषयमा सकरात्मक अभिव्यक्ति दिएका थिए ।

तर, अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रत्यक्ष भेट्ने समयको उपलब्धता सुनिश्चित नभएपछि देउवाले चुनावको मुखमा भ्रमणमा नजाने मनिस्थितिमा पुगेको बालुवाटार निकट स्रोतको दावी छ ।

‘असारमा हुने भनिएको भ्रमणमा पनि राष्ट्रपतिसँगको भेट मिलिसकेको थिएन । त्यसैले यूएन महासभामा सहज हुन्छ कि भनेर प्रयास भइरहेको थियो,’ स्रोतले भन्यो, ‘तर, त्यसको सकरात्मक जवाफ नपाएपछि प्रधानमन्त्रीले नै निर्वाचनको मुखमा भ्रमणमा जानु उपयुक्त हुँदैन भनेर भन्नु भएको हो ।’

देउवाले औपचारिक भ्रमणसँगै यूएन महासभाका क्रममा हुनसक्ने साइडलाइन भेटवार्ताका लागि समेत प्रयास नगर्न निर्देशन दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?