+
+

साउनमा विद्युतीय गाडीको आयात दोब्बर

चालु आर्थिक वर्षमा विद्युतीय चार पांग्रे सवारीको आयात दोब्बरले बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १६:३४

१४ भदौ, काठमाडौं । चालु आर्थिक वर्षमा विद्युतीय चार पांग्रे सवारीको आयात दोब्बरले बढेको छ । सरकारले महँगा मूल्यका विद्युतीय सवारीको भन्सार दर बढाए पनि आयात बढेको हो ।

एक महिनामै २११ वटा विद्युतीय सवारी आयात भएको छ । करिब ६२ करोड १६ लाख रुपैयाँ मूल्यको यस्तो आयातबाट सरकारले २१ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ५८ करोड ९४ लाख मूल्य बराबरको १०० किलोवाटसम्मका २०५ वटा विद्युतीय सवारी नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

त्यसैगरी १०० देखि २०० किलोवाटसम्मका ४ वटा र २०० देखि ३०० किलोवाटसम्मका २ वटा बिजुली गाडी नेपाल भित्रिएका छन् ।

यो वर्षको आयात गत वर्षको तुलनामा शतप्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा १०५ वटा मात्रै विद्युतीय सवारी आयात भएका थिए । गत वर्ष सय किलोवाटसम्मका १५०देखि २०० किलोवाटसम्मका ६१ वटा विद्युतीय गाडी सानउन महिनामा नेपाल आएका थिए ।

कर सुहलियतका कारण यो वर्ष सय किलोवाटसम्मका विद्युतीय सवारीको आयात ह्वात्तै बढेको छ । बजेटले सस्ता र कम क्षमताका विद्युतीय गाडीलाई करमा बढी सहुलियत दिएकाले सोही रेन्जका बिजुली गाडीको आयात बढेको व्यापारीहरु बताउँछन् ।

आर्थिक वर्ष २०७७/७८ को साउनमा त एउटा पनि विद्युतीय सवारी आयात भएका थिएनन् । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले बजेटमार्फत विद्युतीय सवारीमा ठूलो दरमा कर लगाएपछि सो वर्ष विद्युतीय सवारीको आयात नै निरुत्साहित भएको थियो ।

तर, त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७६/७७ को साउनमा विद्युतीय सवारीको आयात उत्साहजनक थियो । सो वर्ष ९१ वटा विद्युतीय सवारी आयात भएको थियो ।

गत आर्थिक वर्ष २०७८/७९ मा १ हजार ८०५ वटा विद्युतीय (इलेक्ट्रिक ) चारपांग्रे गाडी नेपालमा भित्रिएका थिए । गत आर्थिक वर्षमा १०० किलोवाटसम्मका ९९६ वटा सवारी नेपाल भित्रिएको थियो । १०० भन्दा ठूलो तर १५० किलोवाटसम्मका १३ वटा विद्युतीय चारपांग्रे सवारी आयात भएको थियो । १५० किलोवाटभन्दा माथि २०० किलोवाटसम्मका ७९२ वटा विद्युतीय कार जीप र भ्यान आयात भएको थियो । २ सय किलोवाटभन्दा धेरैका ४ वटा सवारी नेपाल भित्रिएका थिए । वर्षभरिमा ५ अर्ब २९ करोड रुपैयाँ मूल्य बराबरको विद्युतीय सवारी आयात भएको थियो ।

त्यसअघि आर्थिक वर्ष २०७७/७८ मा कुल २६१ वटा विद्युतीय कार/जीप भ्यान आयात भएको थियो ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार गत वर्षदेखि नै बजारमा विद्युतीय गाडीको उच्च दरमा माग बढे पनि पर्याप्त आपूर्ति हुन सकेको छैन ।

पर्याप्त अनुसार आपूर्ति हुन नसके पछि कतिपय ब्रान्डका ग्राहकलाई बुकिङपछि ६ महिनाभन्दा बढी पर्खिनुपर्ने बाध्यता छ । उत्पादक तथा वितरक कम्पनीहरुले मागअनुसार बिजुली गाडी आपूर्ति गर्न नसकिरहँदा सरकारले गरेको करको दर हेरफेरले विभिन्न ब्रान्डका महँगा गाडीलाई धक्का लागेको छ ।

सरकारले गत जेठमा आएको बजेटमार्फत सरकारले शून्यदेखि सय किलोवाटसम्मका सवारी साधनका लागि पुरानै दर अर्थात भन्सार शून्य र अन्तशुल्क १५ प्रतिशत कायमै राखेको छ । १०० किलोवाटदेखि २०० किलोवाटसम्मका सवारीमा सरकारले अन्तःशुल्क ३० प्रतिशत कायम गरेको छ । १०० देखि २०० किलोवाटसम्मका सवारीमा सरकारले भन्सार शुल्क पनि ३० प्रतिशत नै लगाएको छ ।

आर्थिक ऐन २०७९/८० अनुसार २०० देखि ३०० किलोवाटसम्मका विद्युतीय सवारीको भन्सार दर ४५ प्रतिशत लाग्छ । र, अन्तःशुल्क दर ४५ प्रतिशत नै कायम छ । यी दुवै जोड्दा ९० प्रतिशत कर लाग्न थालेको छ । ३०० किलोवाटभन्दा बढीका विद्युतीय सवारीलाई भन्सार शुल्क र अन्तशुल्क दर पनि ६०/६० प्रतिशत कायम गरेको छ

कर बढ्दा पनि बजारमा विद्युतीय सवारीको माग घटेको छैन । महामारीपछि विद्युतीय सवारीको उत्पादन खस्किएका बेला नेपालमा माग अस्वाभाविक रुपमा बढ्दा आपूर्ति पनि प्रभावित भएको हो ।

नाडाका अध्यक्ष ध्रुव थापा केही हदसम्मको कर सहुलियत, सहज बैंकिङ सुविधा, पेट्रोल डिजेलको मूल्यमा भइरहेको वृद्धि, वातावरणप्रतिको बढ्दो सचेतना र इलेक्ट्रिक सवारी प्रयोगको विश्वव्यापी ट्रेन्ड लगायतका कारण विद्युतीय सवारीमा आकर्षण बढेको बताउँछन् ।

विद्युतीय गाडी प्रवर्द्धनका लागि करमा छुटसँगै रातिको समयमा चार्ज गर्दा छुट दिने र विद्युतीय चार्जिङ स्टेसनको संख्या बढाउने जस्ता योजना पनि सँगसँगै ल्याएमा यस्तो आयात थप बढ्ने नाडाको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?