+
+

वीरेन्द्रनगरमा अनधिकृत संरचना हटाउन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १४:२१

१५ भदौ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि सरकारी तथा सार्वजनिक जग्गाको अवस्थाबारे खोजी गर्न थालिएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ ले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।

वडाध्यक्ष विनोदसिं विष्टले मङ्गलबार ३५ दिने सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गा, सडक अतिक्रमण र नक्सापास स्वीकृतिबिना निर्माण गरिएका संरचना हटाउन निर्देशन दिएका हुन् ।

सूचनामा सम्बन्धित व्यक्तिले अटेर गरी नहटाएमा वडा कार्यालयले नियमानुसार हटाउने उल्लेख छ । वडाध्यक्ष विष्टले नगर कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णयमा टेकेर आफूले सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थापनको कदम चालेको बताए ।

सडक क्षेत्र मिचेर नियमविपरीत निर्माण गरिएका र नक्सा पास नभएका अवैध भौतिक संरचनाहरू हटाइने छ । तीन नम्बर वडामा सडक अतिक्रमणको समस्या अली बढिनै देखिएकाले त्यसको व्यवस्थापन गर्न लागिएको अध्यक्ष विष्टले बताए ।

‘हाम्रो वडामा दुई मिटरसम्म सडक क्षेत्र र खोला च्यापेर भौतिक संरचना निर्माण गरेको पाइएको छ । त्यस्ता संरचना हटाउन निर्देशन दिएका छौं । अटेर गरे बल प्रयोग गरेर पनि हटाउँछौं’ उनले भने ।

नगर कार्यपालिकाको गत जेठ २३ गने बसेको बैठकले सार्वजनिक जग्गाको लगत लिइ सोको उचित संरक्षण र सार्वजनिक गर्ने निर्णय गरेको थियो । नगर प्रमुख मोहनमाया ढकालले निर्णय सार्वजनिक गर्दै नगरमा प्रयोग र खाली रहेका सार्वजनिक जग्गाको अवस्थाबारे अध्ययन गरी यकिन विवरण बाहिर ल्याइने बताएकी थिइन् ।

योजनाबद्ध सहर निर्माणको लक्ष्यसहित सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिएको नगरले पहिलो कार्यपालिका बैठकबाटै सडक अतिक्रमण हटाएर आवागमन सहज बनाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?