+
+

भिटेन र प्रनेशको पक्षमा बोल्ने अभियन्ता अपूर्व प्रकरणमा मौन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १४:३७
कमेडियन अपूर्व क्षितिज सिंह । फाइल तस्वीर

काठमाडौं । नेवार समुदायको मानमर्दन हुने गरी व्यंग्य गरेको आरोपमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिइसकेको छ ।

केही दिनअघि युट्युबमा उनले पोस्ट गरेको कमेडी भिडियोले नेवाः आस्थामा प्रहार गरेको भन्दै अभियन्ताले प्रहरीमा उजुरी दिएका थिए । सिंहले नेवार समुदायको बोल्ने शैली, महिला, खानपान लगायतका विषयमा व्यंग्य गरेका थिए । यसको आलोचना भएपछि सिंहले माफी माग्दै भिडियो हटाइसकेका छन् ।

सिंह अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन् । यसअघि गायक भिटेन र स्ट्यान्ड-अप कमेडियन प्रनेश गौतमलाई पनि प्रहरीले यस्तै आरोपमा पक्राउ गरेको थियो । चौतर्फी विरोध र दबाबपछि यी दुईलाई प्रहरीले सर्तसहित रिहा गरेको थियो ।

प्रनेश र भिटेनलाई विद्युतीय कारोबार ऐन (साइबर अपराध)ऐनअनुसार प्रक्रिया अघि बढाइएको थियो । तर अपूर्वमाथिको कारवाही प्रक्रिया भने तीभन्दा भिन्न छ । अपूर्वविरुद्ध प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १६५ मा रहेको सामाजिक रीतिथितिमा खलल पार्न नहुने कसूरअन्तर्गत कानुनी प्रक्रियाि अघि बढाएको छ ।

यो कसूर प्रमाणि भए एक वर्ष कैद वा १० हजार रुपैयाँ जरिवानासम्म हुने प्रावधान छ । तर अपूर्वविरुद्धको मुद्दामा प्रहरीले माध्यमभन्दा पनि विषयवस्तु र त्यसको प्रस्तुतिलाई हेरेको छ । भिटेन र प्रनेश दुवैको मुद्दामा भने प्रहरीले माध्यमलाई हेरेको थियो ।

प्रनेश र भिटेन प्रकरणमा अभिव्यक्ति स्वतन्त्रताको हनन् भयो भन्दै अभियन्तादेखि सामाजिक सञ्जाल प्रयोगकर्तासम्म चर्को विरोधमा उत्रिएका थिए । तर करिब त्यस्तै अपूर्व प्रकरणमा भने अभियन्ता त के सामाजिक सञ्जालको टाइमलाइन करिब ‘मौन’ देखिन्छ ।

कमेडी च्याम्पियन हिमेश पन्त जातीय संवेदनशीलता जोडिएकाले मानिसहरु यो प्रकरणमा मौन रहेको हुन सक्ने बताउँछन् । तर सबैले अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्नुपर्ने उनको तर्क छ । माफी मागिसकेपछि पनि जेल पुर्‍याउनुलाई उनी गलत भएको बताउँछन् । ‘तर यसले स्ट्यान्ड-अप कमेडीलाई बदनाम चाहिं बनाउँदैन,’ उनी भन्छन् ।

सामाजिक सञ्जालमा पनि अपूर्वको विरोध गर्नेहरु नेवार समुदाय पृष्ठभूमिकै बढी देखिन्छन् । केहीले त अपूर्वले स्ट्यान्ड-अप कमेडीमाथि अपराध गरेकै दाबीसहितको स्टाटस पनि लेखेका छन् । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्, ‘सयौं वर्षदेखि परिष्कृत भई विश्वकै ध्यान खिच्न सफल सभ्यता र संस्कृति एक जना कमेडियनको वर्थलेस सेटले ठेस लगाउन सक्ने गरी कमजोर हुँदैन । पूरै समुदायको भावनामा ठेस पुग्यो भन्दै कानुनी उपचार खोजिरहन आवश्यक छैन ।’

धेरैले यो प्रकरणलाई अरु नलम्ब्याउन आग्रह गर्दै कमेडी गरेकै भरमा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नु लोकतन्त्रका लागि शोभनीय नहुने तर्क गरेका छन् । अपूर्वले पनि यो प्रकरणलाई यत्तिकैमा सक्न र थप अघि नबढाउन आग्रह गर्दै माफी मागिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?