+
+

‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर : जब प्रेम सत्ताको अड्चन बन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १३:०१

काठमाडौं । ‘प्रेमगीत ३’ को हिन्दी संस्करणको ट्रेलर रिलिज भएको छ । जी म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक २ मिनेट लामो ट्रेलरमा लडाइँ र प्रेमका दुई आयामलाई चित्रण गरिएको छ ।

कुल मिलाएर ‘प्रेमगीत’को तेस्रो श्रृंखला राजयोग र प्रेमयोगबीचको द्वन्द्व हो । राजयोगमा जन्मिएको प्रेम नामक पात्रको जीवनमा गीत नामक युवतीको प्रवेश भएपछि आउने उतारचढाव फिल्मको केन्द्रीय द्वन्द्व हो ।

एक पात्र ट्रेलरमा भन्छ– प्रेमको भाग्यमा मलाई राजयोग नै चाहिन्छ । तर प्रेम नामक चरित्रको रुचि सत्ताभन्दा बढी प्रेम हो । राजगद्दी सम्हाल्ने पहिलो हकधार नै युवतीको प्रेममा डुबेपछि अब सत्ता कसले चलाउला ? सत्ता संकटबाट कसरी काल्पनिक सात गाउँलाई उद्धार गरिएला ?

युवतीसँगको प्रेमलाई सत्ताको ‘अड्चन’को रुपमा अघि आएपछि फिल्मले नयाँ मोड लिन्छ । अर्कोतर्फ, फिल्ममा मुख्य चरित्र अमन छ जसको दृष्टि सत्तातर्फ सोझिएको छ । ट्रेलरले यी दुई सोचबीचको लडाइँलाई चित्रण गरेको छ ।

बाहुबली र केजीएफजस्ता ब्लकबस्टर फिल्ममा स्वर दिएका कलाकारको स्वरांकन सुन्दा हामीलाई ‘प्रेमगीत ३’ मा त्यो नोस्टाल्जिया महसुस हुन्छ । टिजरमा भन्दा ट्रेलरमा केही नयाँ चरित्रले प्रवेश पाएका छन् भने यसमा द्वन्द्व र रोमान्सलाई सन्तुलन मिलाइएको छ । किनभने, ‘प्रेमगीत’का अघिल्ला दुई श्रृंखलाको केन्द्रमा सत्ताको विषयवस्तु छैन । तेस्रो श्रृंखलामा सत्ताको होड र षड्यन्त्रले प्रवेश पाएको छ ।

ट्रेलर रिलिजपछि अनलाइनखबरसँग कुरा गर्दै निर्देशक सन्तोष सेनले आफूहरुको लागि ‘प्रेमगीत’को चौथो श्रृंखला निर्माण गर्नु चुनौतीपूर्ण रहेको बताए । ‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई असोज १४ गते नेपालमा रिलिजको तयारी गरिएको त छ, तर यसबारे निश्चित भइसकेको छैन ।

‘प्रेमगीत ३’ मा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, सुनिल थापा, शिव श्रेष्ठ लगायतको प्रमुख भूमिका छ । फिल्मको हिन्दी संस्करणलाई नेपाल र भारतको संयुक्त प्रोजेक्ट बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?