+
+
ब्लग :

अनि म रवीन्द्र मिश्रसँग झस्किएँ

डा. दिपराज थापा डा. दिपराज थापा
२०७९ भदौ १९ गते १७:२९

रवीन्द्र मिश्रलाई मैले फलो गर्न सुरु गरेको झन्डै दुई दशक बितिसकेछ। पत्रकार हुँदा उनको प्रश्न सोधाइ असाध्यै मन पर्थ्यो। मेरो बुवाले दिनहुँ अहिले पनि बीबीसी सुन्नुहुन्छ। सबैभन्दा भरपर्दो अनि देश–विदेश सबैतिरको गतिविधि सुन्न पाइने भएकोले बुवाले बीबीसी पौने नौ भनेपछि खोलिहाल्नुहुन्थ्यो।

सुमन खरेल दाइको शान्त र ढिलो रूपमा प्रस्तुत भएको स्वर सुन्दा रवीन्द्र मिश्रको आवाज अलि कडा र छिटो भएको महसुस हुने गर्थ्यो। आज यसो सम्झिन्छु र झस्कन्छु- उनको राजनीतिक जीवन पनि सायद त्यस्तै छिटो मनपराउने स्वभावले उथलपुथल बनाएको त होइन ?

रवीन्द्र मिश्रले जब ‘व्यवस्था होइन अवस्था परिवर्तन गरौं, निःशुल्क र गुणस्तरीय शिक्षा स्वास्थ्य तथा सामाजिक सुरक्षाको जिम्मेवारी सरकारले लिन सक्नुपर्छ, भ्रष्टाचारीलाई जेल पठाउनुपर्छ’ भन्दै साझा पार्टीको स्थापना गरे, उनीमाथि म जस्तै धेरै नेपालीले साँच्चिकै विश्वास गरेका थिए। देशमा परिवर्तन आउला भनेर विश्वास पलाएको थियो। ममा पनि एउटा ठूलो आशा पलाएकै हो।

आफू पत्रकार हुँदा हेल्प नेपाल नेटवर्क भन्ने संस्था खोलेर नेपाललाई हरेक वर्ष लाखौंको सहयोग भित्र्याउन सक्ने क्षमता देखेँ। नेपालको समृद्धिको चाहना राख्छु र बिग्रिएको पुरानो नेपाली राजनीतिक अवस्था सुधार्न सक्छु भन्ने उनको अभिव्यक्ति मन पर्‍यो। यत्तिको मानिसले भनेको कुरा आश्चर्यजनक मान्नुपर्ने कुरा थिएन।

त्यही आशा, सहानुभूति भएकै कारण म रवीन्द्र मिश्रसँग जोडिन पुगेको हुँ र व्यक्तिगत रूपमा पनि धेरैचोटि राजनीतिक छलफल भयो। पार्टी फुट्नु या पार्टीभित्र कसको के गल्ती रह्यो भन्ने चासो मेरो विषय नै हैन। मेरो उद्देश्य त विशेषतः असहाय र न्यून वर्गका मानिसहरूको दैनिकी बदलियोस् र मानवअधिकार भित्र पर्ने शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको जिम्मेवारी राज्यले लिन सकोस् भन्ने मात्र हो।

हामी देशमा सबै बिग्रिएको मात्रै देख्छौं। त्यसो मात्रै होइन, केही त राम्रो पनि भएको छ।नेपालमा केही भएन, केही गरेन भनेर घाँटी सुकाई–सुकाई कराउने धेरै ठूलो जमात छन् जसले नेतालाई मात्र दोषी ठान्छन्। धेरै नेतामा देशको समृद्धि होस् भन्ने नै चाहना छ तर थोरै बिग्रिएकाहरूले धेरैलाई प्रदूषित बनाए भन्ने मेरो बुझाइ छ। आलु थोरै कुहिन थालेपछि पूरै बोरा नै ध्वस्त बनाए जस्तै।

हाम्रो अभिशाप गलत राजनीतिक संस्कार हो जुन बिग्रिएर गन्ध आउन थालिसकेको छ। देशको राजनीतिक संस्कृति नै यस्तो बनेको छ जहाँ थोरै राम्रा नेताले जति चिच्याए पनि आवाज बुलन्द हुँदैन।

पुराना पार्टीभित्र पनि रुपान्तरणका लागि संघर्ष गरिरहेका धेरै पात्र छन्। कांग्रेसका गगन थापालाई लिन सकिन्छ जसले पार्टीभित्र लोकतन्त्रको पक्षमा भन्दै निरन्तर आवाज दिइरहेका छन्। सबै बिग्रियो, खत्तम भयो भन्ने तर्कसँग पनि म सहमत छैन। हिजोको भन्दा आज नराम्रो नै छ भन्न नि मिल्दैन, तर बाह्रै महिना राजनीति गर्ने प्रणाली भने नेपालमा नकारात्मक रूपमा विकसित भएको देखिन्छ।

यद्यपि, धेरै नकारात्मक कुरा सोचेर मात्र पनि हुँदैन। गरेका धेरै राम्रा कार्य पनि होलान्, पछिल्लो समयमा चर्चामा रहेका स्थानीय तहका स्वतन्त्र उम्मेदवारहरूका कामबाट नागरिक खुसी देखिन्छन्। नेतृत्वले चाह्यो भने गर्न सक्छ भन्ने यो नै बलियो उदाहरण हो।

डा. बाबुराम भट्टराईले काठमाडौंमा फराकिलो बाटो बनाएर नयाँ संरचनाको सुरुवात गरे। यसलाई अहिले काठमाडौंका मेयर बालेन साहले निरन्तरता दिंदैछन्। देशमा राम्रो शासन व्यवस्था आओस् भनेर धेरैले माओवादी युद्धमा आहुति दिए। सबै राम्रा थिएनन् होला तर सबै नराम्रा पनि पक्कै थिएनन्।

त्यसैले को व्यक्ति कस्तो छ भन्नु भन्दा पनि देशमा स्थापना गरिएको प्रणाली कस्तो भन्ने बहस गर्नुपर्छ। अहिलेको राजनीतिक प्रणालीले न्यायालय, शिक्षालय, पत्रकारिता, कर्मचारी, संस्था, व्यापार, व्यवसाय चारैतिर राजनीति गर्न पाइने अखडा तयार गरेको छ। यसको परिणाम सिंगो देशको लागि अभिशाप बनेको छ। आफ्नो अस्तित्व जोगाउन र राजनीतिक शक्ति आर्जन गरिराख्न विशेषत: पुराना पार्टीहरूले यो संरचना भङ्ग गर्न नचाहेको जस्तो देखिन्छ। राम्ररी जरा गाडेर टिकेको यो संरचना हट्न दशकौं लाग्ने देखिन्छ।

कमजोर राजनीतिक संस्कार

अहिलेको आवश्यकता भनेको यो राजनैतिक संरचना परिवर्तन गर्दै शिक्षालय, कर्मचारी, न्यायालय, पत्रकारितामा राजनीतिक संगठन र तिनको प्रभाव पूर्णरूपमा हटाउन सक्नु हो। यो कुरा रवीन्द्र मिश्रले सुरुदेखि नै उठाएका हुन्। कल्याणकारी लोकतन्त्रको महत्वबारे म विश्वको सर्वोत्कृष्ट कल्याणकारी लोकतन्त्र भएको स्वीडेनबाट धेरै सिक्ने अवसर पाएको छु जति सिक्न नेपाली नेताले पाएका छैनन्।

त्यसैले भन्न सक्छु जबसम्म शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको ग्यारेन्टी सरकारले गर्न सक्दैन, त्यतिञ्जेलसम्म नेपाल समृद्ध भएको कल्पना गर्न गाह्रो छ। नेपालमा जबसम्म राम्रो अस्पताल र विद्यालय खोल्न, नि:शुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्य प्रदान गर्ने कुरामा राजनीतिज्ञहरूको प्रतिस्पर्धा हुँदैन, तबसम्म देशले समृद्धिको बाटो अँगाल्न सक्दैन।

यो मेरो निर्क्योल हो। यस्तै राम्रा वैकल्पिक योजनाका साथ हिंडिरहेका मिश्रको राम्रैसँग बढिरहेको सङ्लो राजनीतिक खोलामा ‘मार्ग परिवर्तन’ को बाढीले म पनि झसङ्ग बन्न पुगें।

राम्रा वैकल्पिक योजनाका साथ हिंडिरहेका मिश्रको राम्रैसँग बढिरहेको सङ्लो राजनीतिक खोलामा ‘मार्ग परिवर्तन’ को बाढीले म पनि झसङ्ग बन्न पुगें।

धेरै नेतृत्व र राजनीतिक कार्यकर्तालाई बोकेको प्लेन एकातिर उड्दै गर्दा अन्तै अवतरण गर्छु भनेर पाइलटले भने जस्तै भयो विचार र मार्ग परिवर्तन।

देश बनाउँछु भन्ने कुरामा मिश्र बेला–बेला इमानदारीको कुरा गर्ने गर्छन् र कसम खान्छन् कि यो देशलाई घात गर्ने छैन। पटक–पटक इमानदारीको कुरा गर्ने मिश्रले मार्ग परिवर्तन सँगसँगै धेरै कार्यकर्ता र नेतृत्वमा बस्ने नेतागणसँग भने आफ्नो इमानदारी गुमाए।

कैयौं टेलिभिजन शोहरूमा अवस्था परिवर्तन गर्छु र यही व्यवस्थाबाट जनतालाई कल्याणकारी लोकतान्त्रिक शासन दिलाएरै छोड्छु भन्दै हिंडेका थिए। म गणतन्त्रवादी पनि होइन, राजतन्त्रवादी पनि होइन भनेर कराइरहने मिश्र आज हृदयेन्द्रलाई राजा देख्न चाहन्छु भन्दै राजगद्दी पुज्न थालेका छन्।

पहिला पहिला महेन्द्रको मात्र गाथा गाउने उनी आजभोलि ज्ञानेन्द्र शाहप्रति सहानुभूति देखाउन थालेका छन्। हो, उनीसँग जुन वादी पनि भन्ने र बन्ने छुट छ। तर मार्ग परिवर्तन गर्ने बेलासम्म आस्थावान कार्यकर्ता, वर्षौंदेखि मिश्रप्रति पूर्णरूपमा पछि लागेका नेतृत्व वर्ग सबैलाई मात्र होइन, आम नागरिकलाई पनि उनले ढाँटे।

दरबार र राजसंस्थाप्रति कत्ति पनि सहानुभूति छैन भन्दै कार्यकर्ता, नेतृत्व सबैलाई एक्लाएक्लै भौंतारिनेसम्म गराए। आफू भने मार्ग परिवर्तन भन्दै अर्को बाटो रोज्नु र वैकल्पिक राजनीतिको कभरमा राजतन्त्रका लागि राजनीति गर्नु चाहिं राजनीतिक इमानदारी हो या होइन, पाठक वर्गले छुट्याउनुहोला।

हिन्दुबाट हिन्दु-बौद्ध राज्य: परिवर्तनमाथि परिवर्तन

विचारभन्दा माथि देश नारा त राम्रै सुनिन्छ यद्यपि परिवर्तन भइसकेको धर्मनिरपेक्षता नेपालमा फर्कन फेरि अर्को युद्ध लड्नुपर्ने देखिन्छ। असम्भव भन्न खोजेको होइन। यो राज्य सबै धर्मावलम्बीहरूको साझा भएको अवस्थामा हिन्दु या हिन्दु-बौद्ध राज्य गराउनु भनेको फेरि हिन्दु-बौद्धको मात्र राज्य बनाए जस्तै हो।

हिन्दु राज्य मात्र भए हुने भन्ने गरेका मिश्रले बौद्ध धर्मावलम्बीको लागि असह्य हुने बुझेर एकाएक हिन्दुमा बौद्ध पनि थपिदिनुभएछ। लोकतन्त्रमा विश्वास गर्ने जोकोहीलाई त्यस्ता देशहरूका जनताले धर्म मान्ने नमान्ने, कुन धर्म मान्ने भन्ने स्वतन्त्रता व्यक्तिको नितान्त व्यक्तिगत स्वतन्त्रता रहन्छ। राज्यले जनताको धर्ममा कुनै पनि हस्तक्षेप गर्नुहुन्न भन्ने नै सर्वव्यापी सिद्धान्त हो।

यद्यपि भएका धर्म, संस्कृति र ऐतिहासिक संरचनाको रक्षा गर्नु राज्यको मुख्य दायित्व रहन्छ जुन देशको संविधानमा स्पष्ट लेखिएको हुनु राम्रो हुन्छ। जस्तो कि स्वीडेन धर्मनिरपेक्षता भएको राष्ट्र हो तर झन्डै ५० प्रतिशतले धर्म नै मान्दैनन्।

सबैभन्दा ठूलो क्रिश्चियन धर्म ऐतिहासिक रूपमा स्थापना भएकै कारण यहाँ चर्च चलाउन सदस्यता फि लिन पाउने, चन्दा लिन मिल्ने बनाइएको छ। धेरै इस्लामीहरू भएको ठाउँमा मस्जिद बनाउन सरकार आफैंले सहयोग गर्ने गरेको छ भने जहाँ हिन्दुहरू धेरै छन्, त्यहाँ मन्दिर बनाउन सरकारले सहयोग गर्छ। त्यसको अर्थ क्रिश्चियनहरू घट्ने या उनीहरूको धर्म–संस्कृति लोप हुने खतरा कत्ति पनि देखिंदैन।

अतः आजको एक्काइसौं शताब्दीको लोकतान्त्रिक प्रणाली भएको राष्ट्रमा फेरि कुनै धर्मसम्मत राज्य स्थापना गर्छौं भन्न कत्ति पनि सुहाउँदैन। राजतन्त्रको कुरा गर्दा धेरै शक्तिशाली र पुरानो मानिने ब्रिटेनको राजसंस्थाको आस्था राख्नेहरू १९९६ मा ७५ प्रतिशतबाट घटेर सन् २०२१ मा ५८ प्रतिशतमा झरेको छ। त्यसो त स्वीडेनमा पनि राजतन्त्र रहिरहनुपर्छ भन्ने जम्मा ५३ प्रतिशत मात्र छन्। तसर्थ नेपालको हकमा विस्थापित भैसकेको राजा ल्याउने अभिभारा मिश्रजीको छ। रवीन्द्रजीलाई हार्दिक शुभकामना छ !

म भविष्यवाणी गर्न चाहन्नँ, तपाईंको मार्ग परिवर्तनले सफलता पाओस्। तपाईं साझावादी हुनुहुन्थ्यो राजावादी पर्नुभएछ। म राजसंस्था पुनर्स्थापना र धर्मसापेक्षतामा सहमत जनाउन नसके पनि देशको भाषा, संस्कृति र इतिहास जोगाउनुपर्छ भन्ने कुरामा पूर्ण सहमत छु। यद्यपि यो हिन्दु-बौद्ध राज्य र राजसंस्था पुनर्स्थापना भन्दा नितान्त फरक विषय हुन्।

न यता न उता भएर तपाईंका आफ्नै राजनीतिकर्मी र राजनीतिक सहकर्मीहरू भौंतारिनु परेको देख्दा नराम्रो महसुस भएको छ। धेरैले छट्पटाउनुपर्‍यो त धेरैले अरु पार्टीको शरण माग्नुपर्‍यो। यो राजनीतिको यात्रा सायद धेरै लामो हुने देखेर पौडिनु भन्दा मोटरेवल डुङ्गा भन्ठानेर नयाँ मार्ग पो चुन्नुभएछ।

धेरै वर्ष पार्टी चलाउन सबैलाई गुहार्नुपर्ने तपाईंको बाध्यता अब दरबार र हिन्दु राज्यको वरपर दौडिरहनेहरूले सहज बनाइदिऊन्।

(सिन्धुली, हालः स्वीडेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?