+
+

भलिबल निर्वाचन : अध्यक्षका प्रत्यासी चन्दको चासो– पूर्वाधार विकास र राष्ट्रिय टिम तयारी

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ भदौ १९ गते २०:०६

१९ भदौ, काठमाडौं । लामो समयको आन्तरिक तयारीपछि वर्तमान महासचिव जितेन्द्रबहादुर चन्दले नेपाल भलिबल संघको चुनावी साधारणसभाको तीन दिनअघि केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

बुधबार हुने निर्वाचनमा चन्द र वर्तमान कार्यसमितिकी उपाध्यक्ष निरोज मास्केबीच प्यानलसहित प्रतिस्पर्धा हुने भएको छ । दुई वर्ष अघिदेखि नै अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेकी मास्केले अघिल्लो महिना त्यसलाई औपचारिकता दिएकी थिइन् ।

आइतबार राजधानीमा वर्तमान अध्यक्ष मनोरञ्जनरमण शर्मासहित १७ जना कार्यसमितिका पदाधिकारी र सदस्यको उपस्थितिमा चन्दले उम्मेदवार बन्ने घोषणा गरे । कार्यक्रममा मताधिकारप्राप्त राष्ट्रिय पुरुष टिमका कप्तान इम राना, रेफ्री कमिसनका प्रमुख गौतमप्रसाद लासिवा, न्यू डायमण्ड स्पोर्टस क्लबका अध्यक्ष सुनकेसरी मालीलगायतको उपस्थिति थियो ।

अध्यक्षका उम्मेदवार चन्दले पदाधिकारीमा मात्र प्यानल बनाउने घोषणा गरेका छन् । आइतबारकै कार्यक्रममा वर्तमान कार्यसमितिका सदस्य रोशन श्रेष्ठले चन्दको प्यानलबाट महासचिवमा उम्मेदवार हुने घोषणा गरेका छन् । उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा उम्मेदवार चयन गर्न चन्द समूह छलफलमै छ । ‘सदस्यमा धेरै आकांक्षी भएको हुनाले व्यक्तिगत प्रतिस्पर्धा गर्न दिँदा उचित मानेका छौं,’ चन्दले भने ।

२०६८ चैत मसान्तमा भएको चुनावी साधारणसभाबाट एकैपल्ट नेपाल भलिबल संघको महासचिव चयन भएका चन्दले यो पदमा दुई कार्यकाल विताए । २०४५ सालयता २ दशक सक्रिय खेलाडी जीवनहुँदै उनी संघको राजनीतिमा प्रवेश गरेका हुन् । उनी अघिल्लो वर्षमात्र सेन्ट्रल एसियन भलिबल संघको कोषाध्यक्षमा मनोनित भएका थिए ।

१० वर्षमा संस्थालाई चलायमान र संस्थागत गर्न गरेका प्रयासलाई निरन्तरता दिँदै केही नयाँ योजनासहित नेतृत्वको दावी गरेको चन्दको भनाइ छ । उनले कार्यक्रममा १४ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । प्रतिवद्धतापत्रमा मूलतः पूर्वाधार र राष्ट्रिय टिमको स्तरोन्नत्तिलाई उनले प्रमुख प्राथमिकतामा राखेका छन् ।

भलिबलको घरेलु संरचना (संघ, प्रदेश, जिल्ला, स्थानीय तह, क्लब र एकेडेमी)लाई व्यवस्थित र अभिप्रेरित गर्ने, प्रदेशस्तरमै खेलाडी छनोट र संरक्षण गर्ने, पाँच वर्षभित्र ४ देखि ५ हजार सिट क्षमताको अन्तर्राष्ट्रिय कर्भडहल निर्माण गर्ने, राष्ट्रियस्तरका प्रतियोगिताहरुको मापदण्ड निर्धारण गर्ने, विद्यालय भलिबल कमिसन, रेफ्री कमिसन तथा बीच भलिबल कमिसनलाई सक्रिय बनाउने, सरकारी र गैरसरकारी तवरबाट धेरैभन्दा धेरै प्रतियोगिता आयोजना गरी खेलाडीलाई आत्मनिर्भर बनाउन प्रयासगरिनेलगायतका कार्यक्रम चन्दको प्रतिवद्धतामा समावेश भएको छ ।

चन्दले अन्तर्राष्ट्रिय खेलाडीहरुलाई करिअरपछि उचित पुरस्कार र रोजगारको व्यवस्थाका लागि पहल गर्ने भनेका छन् । संघको कार्यालय व्यवस्थित बनाउने र संघको गतिविधिलाई प्रविधिमैत्री बनाउने, भलिबलमा विश्व, एसियाली र सेन्ट्रल एसियाली निकायहरुसँग सम्बन्ध विस्तार गर्ने पनि चन्दको प्रतिवद्धतामा समावेश छ ।

सुदूरपश्चिमको बैतडी जिल्लाका ५० वर्षीय चन्दले दुई कार्यकालको ज्ञान र अनुभवलाई कार्यान्वयन गर्न भलिबलका अधिकांश मतदाताको आग्रहबाटै नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेको बताएका छन् । अधिकतम मत ल्याएर चुनाव जित्नेमा उनी ढुक्क देखिन्छन् । यद्यपी आफ्नो पक्षमा भएको मत संख्या भने खुलाउन चाहेनन् ।

‘५ वर्षमा कभर्डहल नबने जिम्मेवारी लिन्छु’

सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको ५ वर्षभन्दा बढी भइसकेको छ । तर, विडम्बना भलिबलमा अहिलेसम्म एउटा पनि अन्तर्राष्ट्रिय मापदण्डको कभर्डहल छैन । कभर्डहल निर्माणका लागि सरकारले आर्थिक वर्ष २०७७/७८ मा ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो । अर्को वर्ष बजेट बढाएर १ करोड पुर्‍याए पनि जग्गा पहिचान नै हुन नसक्दा दुईवटा आर्थिक वर्षमा बजेट फ्रिज भएको छ ।

१० वर्ष महासचिवको भूमिकामा हुँदा कभर्डहलको आवश्यकता महशुस भएन ? भन्ने अनलाइनखबरको प्रश्नमा चन्दले भने, ‘मेरो पहिलो कार्यकालमा भलिबल संघलाई व्यवस्थित बनाउन लागियो । त्यतिबेला कभर्डहलको आवश्यकताबारे सोचिएन ।’

चन्दले अनलाइनखबरसँग थप भने, ‘२०७४ मा राष्ट्रिय खेल घोषणा भएपछि हामीले २०७६ मा सेन्ट्रल जोन पुरुष भलिबल आयोजना गर्न ठाउँ नपाएर धेरै दुःख पायौं । त्यसपछि कभर्डहल अपरिहार्य छ भन्ने सबैलाई लाग्यो ।’

सेन्ट्रल एसियाका ६ टोलीको सहभागितामा आयोजित सेन्ट्रल जोन भलिबल त्रिभुवन आर्मी क्लबको कभर्डहलमा सञ्चालन गरिएको थियो । त्यतिबेला त्रिपुरेश्वरको कभर्डहल पुनर्निर्माणको क्रममा थियो ।

जितेन्द्रबहादुर चन्द ।

चन्दका अनुसार बजेट छुट्याइएको पहिलो वर्ष कोरोना महामारीका कारण कामै गर्न सकिएन । दोस्रो वर्ष तारकेश्वर नगरपालिकामा जग्गा पहिचान भए पनि केन्द्रमा सत्ता समिकरण फेरबदल हुँदा नगरपालिकाभित्रै दुई पक्षबीच भलिबललाई जग्गा दिने नदिने विवाद भयो । अहिले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको आग्रहमा मूलपानी क्रिकेट मैदानकै छेउमा भलिबल कभर्डहल बन्न सक्ने सम्भावनाको अध्ययन भएको छ । आफूले जितेमा यसै वर्षदेखि कभर्डहल निमार्ण प्रक्रिया सुरु गरिने चन्दको प्रतिवद्धता छ ।

निर्माण प्रक्रिया सुरु भएपछि भलिबलका विश्व, एसियाली र सेन्ट्रल एसियाली महासंघलाई सहयोगका लागि पहल गर्ने उनको योजना छ । ‘नगद सहयोग गर्न नसके पनि प्राविधिक र निर्माण सामाग्रीका रुपमा हामीले सहयोग पाउने सम्भावना धेरै हुन्छ,’ उनले भने ।

हाल भलिबलको वार्षिक बजेट ५ देखि ७ करोडको छ । तर, वर्षभरिमा बजेट कार्यान्वयन मुस्किलले १ करोड हुने गरेको छ । अध्यक्षमा निर्वाचित भएमा बजेटको पूर्ण कार्यान्वयन गर्ने प्रतिवद्धता चन्दले गरेका छन् । ‘हामीले वार्षिक रुपमा करोडौंको बजेट बनाए पनि सरकारबाट पाउने भने वार्षिक १२ देखि १५ लाख हो । त्यो पनि कार्यक्रम हेरेर । यस वर्षदेखि कार्यक्रम अनुसार बजेट रोक्दैनौं भन्ने आश्वासन पाएका छौं,’ उनले थपे, ‘आर्थिक विषयमा म हचुवामा बोल्न सक्दिन तर, बजेटको पूर्ण कार्यान्वयनमा मेरो जोड रहनेछ ।’

राष्ट्रिय टिम तयारी र नियमित अन्तर्राष्ट्रिय सहभागिता

सन् १९९० को दशकमा नेपालको भलिबल टिम भारत, पाकिस्तान वा श्रीलंकाकै स्तरमा रहे पनि नतिजा निस्कन नसकेकोतर्फ इंगित गरी नेतृत्वका प्रत्यासी चन्दले राष्ट्रिय टिमको तयारी आफ्नो कार्यकालको प्रमुख प्राथमिकताका रुपमा पेश गरेका छन् । ‘सन् ८० को दशकमा जर्मनीमा व्यवसायिक भलिबल खेल्ने दुर्जकुमार राईको टिमले अन्तर्राष्ट्रिय खेलमा नतिजा निकाल्न नसक्नुको पछाडि राष्ट्रिय टिमको तयारीलाई प्राथमिकतामा नराख्नु नै मुख्य कारण थियो,’ उनले थपे, ‘२०१८ को एसियाली खेलकुदमा ४ महिनाको विशेष तयारीले हामीलाई १५औं वरीयतामा आउन मद्दत गर्‍यो ।’

प्रतियोगिता र अवस्था हेरेर महिला र पुरुष राष्ट्रिय टोलीलाई नियमित प्रतियोगितामा सहभागी गराउने उनले बताए । भन्छन्, ‘जहाँ जुन टोलीको सम्भावना रहन्छ त्यही आधारमा टिम तयारीलाई प्राथमिकता दिइनेछ ।’

उम्मेदवार चन्दले राष्ट्रिय टोलीको ब्याकअप बलियो बनाउन दुईवटा प्रणालीलाई विकास गरी खेलाडी उत्पादनमा जोड दिनेछन् ।

पहिलो– जिल्ला र प्रदेशमार्फत खेलाडी पहिचान र संरक्षण हुनेछ ।

दोस्रो– लगभग मृत अवस्थामा रहेको विद्यालय भलिबल कमिसनलाई पुनर्स्थापित गरी विद्यालयबाट खेलाडी उत्पादन र संरक्षण हुनेछ ।

‘महिला र पुरुषको उमेरसमूहको टिम निर्माण गर्न ढिला भइसकेको छ । यो काम तत्कालै लागू गर्ने सोचेका छौं,’ चन्दले भने ।

२२ गते निर्वाचन, १३३ मतदाता

कार्यसमितिको पदावधि सकिएको २ वर्ष ३ महिनापछि बुधबार काठमाडौंमा भलिबल संघको नयाँ कार्यसमिति निर्वाचन हुनेछ । कोरोना महामारी र नयाँ खेलकुद ऐनको अन्योलताका कारण संघको निर्वाचन हुन सकेको थिएन ।

नेपाल भलिबल संघको ३९ सदस्यीय कार्यसमितिमध्ये निर्वाचनबाट २५ जना निर्वाचित हुनेछन् । बाँकी १३ जना मनोनित र १ जना निवर्तमान अध्यक्षको हैसियतमा स्वतः कार्यसमितिमा रहनेछन् ।

भलिबल संघमा १३६ मतदाता रहे पनि नयाँ ऐन जारी भएसँगै राष्ट्रिय खेलकुद परिषदको कर्मचारीको रुपमा संघमा रहेका तीन जनाले राजीनामा दिएपछि यसपल्टको निर्वाचनमा १३३ जनाले मतदान गर्नेछन् ।

हरेक जिल्ला संघबाट १–१ जनाका दरले ७७ जना, सात प्रदेशबाट २–२ जनाका दरले १४ जना, कार्यसमितिका ३९ मध्ये ३६ जना (तीन जनाले राजीनामा दिएको), ३ क्लब (न्युडायमण्ड स्पोर्टस, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र) रेफ्री कमिसनबाट १ जना, राष्ट्रिय टिमका कप्तान २ (महिला र पुरुष)जनाले मताधिकार प्रयोग गर्नेछन् ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?