+
+

भलिबलका नवनिर्वाचित अध्यक्ष चन्दको पहिलो प्राथमिकता : कभर्डहल निर्माण  [अन्तर्वार्ता ]

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १९:११
जितेन्द्रबहादुर चन्द

२३ भदौ, काठमाडौं । बुधबार रातभर भएको निर्वाचनमा सहज जित हासिल गरी जितेन्द्रबहादुर चन्द नेपाल भलिबल संघको महासचिवबाट अध्यक्षमा बढुवा भएका छन् । १० वर्ष महासचिवको जिम्मेवारी पूरा गरी संघको सर्वोच्च नेतृत्वमा पुगेसँगै उनले कभर्डहल निर्माण आफ्नो पहिलो र मुख्य लक्ष्य हुने बताएका छन् ।

निवर्तमान कार्यसमितिका उपाध्यक्ष निरोज मास्के र महासचिव चन्द आआफ्नो प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा थिए । अध्यक्ष, ७ उपाध्यक्ष, महासचिव, ७ सचिव, कोषाध्यक्ष र ११ सदस्यका लागि भएको निर्वाचनमा चुनिएका अधिकांश चन्द प्यानलका छन् ।

चुनावको तीन दिनअघि उम्मेदवारी घोषणा गरेर मास्केसँग प्रतिस्पर्धामा होमिएका चन्दले खसेको १२८ मध्ये ७६ मत पाए । दुई वर्षअघि देखि नै अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेकी मास्केले ५० मत पाइन् ।

उपाध्यक्षमा वागमतीबाहेक अन्य प्रदेशमा निर्विरोध भएको थियो । कर्णाली प्रदेशमा उम्मेदवारी नै परेन । सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गरेका राष्ट्रिय टिमका पूर्वकप्तान भरत शाहले कर्णाली प्रदेशका लागि उपाध्यक्षमा उम्मेदवारी दिएपछि उनको दावी बदर भयो । महासचिवमा रोशन श्रेष्ठ लोकप्रिय मतका साथ विजयी भए ।

पूर्वाधार र संघको संरचनालाई प्रमुख प्राथमिकतामा राखेका चन्दले सबैलाई समेटेर राष्ट्रिय खेल भलिबलको विकासमा समर्पित हुने प्रतिवद्धता व्यक्त गरेका छन् । संघको अध्यक्षमा निर्वाचित भएपछि कार्यकालको सुरुवातबारे ५० वर्षीय पूर्व खेलाडी चन्दसँग अनलाइनखबरका लागि कुशल तिमल्सिनाले गरेको कुराकानीः

चुनावअघि तपाईंले धेरै एजेण्डाहरु पेश गर्नुभएको थियो । तपाईंको कार्यसमितिले तत्काल कार्यान्वयन गर्ने कामहरु के–के हुन् ?

मैले प्रतिवद्धतामा जनाएजस्तै मेरो पहिलो प्राथमिकता भनेको पूर्वाधार नै हो । हामीलाई विगतमा खड्किएको ठूलो कुरा भनेको हामीसँग अन्तर्राष्ट्रियस्तरको कभर्डहल नहुनु नै हो । मैले भलिबलका साथीहरुलाई पनि के भनेको छु भने नेपाल सरकारले भलिबलको पूर्वाधार निर्माणका लागि छुट्याएको रकम उपयोग गरी राष्ट्रिय खेलकुद परिषद (राखेप)सँग सहकार्य गरेर यही आर्थिक वर्षभित्र कभर्डहल निर्माणको थालनी गर्ने हो ।

त्यसबाहेक मैले आफ्नो प्रतिवद्धतापत्रमा उल्लेख गरेजस्तै उमेर समूहको टिम निर्माण गरी अन्तर्राष्ट्रिय सहभागिता गराउने, सिनियर टिमलाई बढीभन्दा बढी प्रतियोगितामा सहभागी गराउने, नेपाल भलिबल संघले अन्तर्राष्ट्रिय महासंघहरुसँग सहकार्य गरेर धेरैभन्दा धेरै प्रतियोगिता आयोजना गर्ने योजनाहरु पनि प्राथमिकतामै छन् ।

विद्यालय भलिबल संघलगायत संघ अन्तर्गतका विभिन्न कमिसनहरुलाई सक्रिय बनाएर उमेरसमूह र जुनियर प्रतियोगितामा ध्यान दिनेछौं ।

पछिल्ला वर्षमा अव्यवस्थित रुपमा धेरै प्रतियोगिता आयोजना भइरहेका छन् । प्रतियोगिताको वर्गीकरण नहुँदा खेलाडीको संरक्षणको चुनौती छ । खेलाडीको उत्थानका लागि के गर्नुहुन्छ ?

हाम्रा लागि यो ठूलो चुनौती हो । अहिले पनि प्रतियोगिता आयोजनाको प्रस्तावसहित संघमा पत्रहरु आइरहेका छन् । हामी खेलाडीको सुरक्षा र संरक्षणमा संवेदनशील छौं । हामी राष्ट्रिय प्रतियोगितालाई व्यवस्थापन गरेरमात्र नभई खेलाडीको सुविधा र सुरक्षाको ग्यारेन्टी भएपछि मात्र कार्यान्वयन प्रक्रियामा जान्छौं ।

हामी कसैले राष्ट्रिय प्रतियोगिता आयोजना गर्छु भन्छ भने हचुवाका भरमा स्वीकृति दिँदैनौं ।

त्यसै गरी क्लब लिग र फ्रेञ्चाइज प्रतियोगितालाई नियमित आयोजना गरी खेलाडीलाई आर्थिक रुपमा सवल बनाउने काम हुनेछ ।

जिम्मेवारी केन्द्रीकृत गरी सबै कामको श्रेय आफैंले लिनुहुन्छ भन्ने आरोप तपाईंमाथि लाग्दै आएको छ । आफू नेतृत्वमा पुगेपछि विकेन्द्रीकरणको प्रणालीमा कति विश्वास गर्नुहुन्छ ?

यो आरोपमात्र हो । यदि मेरो त्यस्तो व्यवहार वा स्वभाव भएको भए केन्द्रीय कार्यसमितिलगायत सबै प्रतिनिधिको यति सहयोग र साथ हुने थिएन । म व्यक्तिवादी भएको भए आज मेरो विजय हुने थिएन । व्यक्तिगत रुपमा मेरो स्वभाव सबैलाई मन पर्छ भन्ने छैन ।

म सत्यको पक्षमा काम गर्छु । गलत गर्दिन र राम्रो कुरा छ भने कार्यान्वयन होस भन्ने मेरो सधैंको चाहना हुनेछ ।

यसपल्ट निर्वाचनमा दुई प्यानलका रुपमा प्रतिस्पर्धामा हुनुहुन्थ्यो । निर्वाचनपछि भलिबलको एउटा तप्का संघको संरचनाबाट बाहिरिएको छ । उनीहरुलाई समेटेर जाने योजना छ कि छैन ?

चुनाव भनेको एउटा प्रजातान्त्रिक प्रक्रिया हो र यो प्राविधिक विषयमात्र हो । उहाँहरु अहिले टिममा छुट्नुभयो होला तर उहाँहरुको सुझाव र सल्लाह सधैं सिरोधार्य रहनेछ । म नेपालको भलिबलमा लागेका सबैलाई सँगै लैजान चाहन्छु ।

चुनावमा कोहि जित्यो वा कोहि हा¥यो भन्दा पनि हामी सबै भलिबल परिवार हौं । हाम्रो सौहार्द अभ्यास पनि सुरु भयो । बिहान मैले निर्वाचन जितेपछि निरोज म्याम (मास्के)ले मलाई बधाई दिँदै सहयोग गर्ने आश्वासन दिनुभएको छ । हामीबीच त्यस्तो वैमनश्यता केहि पनि छैन । खेलकुदमा त्यस्तो कुरा हुनु पनि हुँदैन ।

भलिबल संघको निर्वाचित कार्यसमिति :

अध्यक्षः जितेन्द्रबहादुर चन्द (निर्वाचित)

उपाध्यक्ष
प्रदेश १ः मदन खड्का (सर्वसम्मत)
मधेशः उपेन्द्रकुमार यादव (सर्वसम्मत)
वागमतीः गौतमप्रसाद लासिवा (निर्वाचित)
गण्डकीः यामबहादुर गुरुङ (सर्वसम्मत)
लुम्बिनीः भीम ओली (सर्वसम्मत)
कर्णालीः उम्मेदवारी परेन
सुदूरपश्चिमः हरकसिंह धामी (सर्वसम्मत)

महासचिवः रोशन श्रेष्ठ (निर्वाचित)

सचिव
प्रदेश १ः विनोद सुवेदी (निर्वाचित)
मधेशः मोहम्मद फिरोज (सर्वसम्मत)
वागमतीः सुनकेशरी माली (सर्वसम्मत)
गण्डकीः श्रीधर शर्मा (सर्वसम्मत)
लुम्बिनीः झकबहादुर मिदुन (निर्वाचित)
कर्णालीः सोमबहादुर श्रेष्ठ मंगल (सर्वसम्मत)
सुदूरपश्चिमः गणेशसिंह ठगुन्ना (सर्वसम्मत)

कोषाध्यक्षः श्यामकुमार श्रेष्ठ (निर्वाचित)

सदस्यहरु
राजबहादुर खड्का (निर्वाचित)
कुमार राई् (निर्वाचित)
दीपक लामा (निर्वाचित)
राजकुमार गुरुङ (निर्वाचित)
अन्जु श्रेष्ठ (निर्वाचित)
जुनु पुनमगर (निर्वाचित)
दिनेश श्रेष्ठ (निर्वाचित)
गंगा थापा श्रेष्ठ (निर्वाचित)
जितेन्द्र श्रेष्ठ (निर्वाचित)
चन्द्रबन्दना राई (निर्वाचित)
प्रविण श्रेष्ठ (निर्वाचित)

नेपाल भलिबल संघको संशोधित विधानअनुसार ४१ जनाको कार्यसमिति रहने व्यवस्था छ । तीमध्ये २८ जना निर्वाचन प्रक्रियाबाट आउनेछन् । उपाध्यक्ष पदमा कर्णालीबाट उम्मेदवारी नपरेपछि बुधबारको निर्वाचनबाट २६ जना निर्वाचित भएका छन् । बाँकी १३ मध्ये दुई उपाध्यक्षसहित १२ जना मनोनित हुनेछन् । एकजना निवर्तमान अध्यक्ष स्वतः कार्यसमितिमा रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?