+
+

यस्तो हुनेछ एलिजाबेथ द्वितीयको अन्त्येष्टि प्रक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १२:५४

२४ भदौ, काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भयो, जो बेलायतमा सबैभन्दा लामो समय गद्दीमा थिइन् । सन् १९५२ मा गद्दी सम्हालेकी उनले ७० वर्षसम्म शासन गरिन् ।

बाल्मोरलमा परिवारको सदस्यहरुको बीचमा उनको निधन भएको हो । अब उनको अन्त्येष्टि प्रक्रिया सुरु हुनेछ । बीबीसीका अनुसार यो झण्डै दुई साता लामो हुनेछ ।

उनको शवलाई बाल्मोरलबाट लन्डन ल्याइने छ र बकिङ्घम दरबारमा राखिने छ । त्यहाँबाट राजपरिवारका सदस्य र सैन्य अधिकारीसहित शव यात्रा गरेर वेस्टमिन्स्टर हलमा ल्याइनेछ ।

एलिजाबेथ द्वितीयको शव चार दिन वेस्टमिन्स्टर हलमै राखिने छ । त्यसका लागि साजसज्जायुक्त मञ्च निर्माण गरिनेछ । त्यहाँ निशान छापको झन्डा ओढाइन्छ भने राजदण्डलाई पनि शवसँगै राखिने छ । सर्वसाधारणलाई श्रद्धाञ्जली अर्पण गर्न दिइने छ, जसमा लाखौं सहभागी हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

सन् २००२ मा रानी एलिजावेथ द्धितीयकी आमाको शव पनि यहीँ राखिएको थियो र २ लाख भन्दा बढी सर्वसाधारणले श्रद्धाञ्जली दिएका थिए ।

महारानीको समाधि समारोह भने वेस्टमिन्स्टर एबी (चर्च) मा गरिने छ, जहाँ उनको विवाह र राज्यारोहण समारोह पनि भएको थियो ।

समाधिको मिति दरबारले घोषणा गरेको छैन । तर निधन भएको १० देखि १२ दिनभित्र हुने अनुमान छ । समाधिका दिन जलसेनाको विशेष वाहनमा महारानीको शवलाई वेस्टमिन्स्टर हलबाट एबीमा लगिने छ ।

समाधि समारोहमा नयाँ राजासहित राजपरिवारका सदस्य सामेल हुने छन् भने प्रधानमन्त्री लिज ट्रसले शोक मन्तव्य दिन सक्ने सञ्चार माध्यमहरुले जनाएका छन् ।

शवलाई पदयात्रामार्फत वेस्टमिन्स्टर एबीबाट वेलिङ्टन आर्क लगिनेछ र शवलाई शववाहनमा राखिने छ । शववाहनले विन्डसर क्यासलको सेन्ट जर्ज च्यापेल (चर्च)मा शव लैजान्छ भने त्यहाँ अन्तिम प्रार्थना सभा हुनेछ । त्यहाँ रोयल भल्टमा समाधिस्थ गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?